|

पर्वत : कोरोना संक्रमितको उपचारको लागि अक्सिजनको माग बढ्दै गएको बेला जिल्ला प्रहरी कार्यालय कास्कीले उदाहरणीय कामको थालनी गरेको छ।

मागअनुसार अक्सिजनको आपूर्ति कम भइरहेको बेला बजारका विभिन्न पसल, उद्योग, व्यक्तिसँग अक्सिजनका सिलिण्डर जम्मा पारेर अक्सिजन उत्पादक कम्पनीहरूलाई वितरण गर्ने काम प्रहरीले गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले खाली सिलिण्डर संकलन गर्दै उत्पादक कम्पनीलाई बुझाउने गरेको जानकारी दिए।

‘कोरोना सङ्क्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई अक्सिजन सिलिन्डरहरूको अभाव नहोस् भन्ने उद्देश्यले हामीले मेटल कम्पनी, वर्कसप, ईञ्जिनियरिङ्ग वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ्ग तथा अन्य कम्पनीसँग रहेका सिलिण्डहरु अनुरोध गरेर माग्दै जम्मा गर्दै आएका छौँ।’ उनले भने, ‘जोबाट ती सिलिन्डरहरू हामीले लिएका छौँ त्यसको रेकर्ड राखेर पछि उहाँहरूलाई नै फिर्ता गर्ने हो।’

डिएसपी हमालले पोखरामा कम्तिमा दुईसय भन्दा बढीको सङ्ख्या त्यस्ता सिलिण्डरहरू रहेको हुन सक्ने अनुमान गरेर तथ्यांक सङ्कलनसहित सिलिण्डर जम्मा पार्ने काम भइरहेको बताए।

उनका अनुसार शनिबार अपराह्नसम्म एकसय ८७ थान अक्सिजन ग्याँस सिलिन्डरहरू जम्मा पारेर पोखरा औद्योगिक क्षेत्रमा रहेका पोखरा अक्सिजन प्रा.लि. र कालीगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको छ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सिलिण्डरहरू उठाउने काम चलिरहेको र खाली सिलिण्डर पाउँनेवित्तिकै अक्सिजन उत्पादक कम्पनीमा पठाइने तथा त्यहाँबाट आवश्यकता र मागका आधारमा कोरोना सङ्क्रमितहरू रहेको अस्पतालमा सहकार्य गराउने काम भइरहेको बताए।

प्रहरीले बजारबाट उठाइरहेका सिलिण्डरहरू प्रहरीको अनुरोधमा आएका कारण त्यसलाई जफत भन्न नमिल्ने र अन्य कोहीसँग भएमा पनि आफूहरूलाई उपलब्ध गराएर अरूको जीवन बचाउन सहयोग गर्नुपर्ने बेला आएको एसपी श्रेष्ठको भनाइ छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.