|

धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन धनकुटा नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको तेस्रो दिन भएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले गत बुधबार सूचना जारी गरी सोही दिन रातको १२ बजेदेखि आगामी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए।

धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू भएको छ।

धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा कोरोना संक्रमण बढीरहेको र पछिल्ला दिनहरूमा धनकुटामा पनि संक्रमणको दर बढिरहेकाले निषेध आदेश जारी गरिएको दाहालले बताए।

उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक स्थल, बजार, उद्योग, कलकारखाना बन्द गर्न निर्देशन दिइएको छ। सूचनामा सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, भीडभाड गर्ने कार्यक्रम नगर्न, नगराउन पनि निर्देशन दिइएको छ।

उक्त निर्देशनको पालना नभएमा कानुनबमोजिम कारबाही हुने पनि उल्लेख छ। प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार निषेधाज्ञाको अवधिमा अत्यावश्यक सवारीसाधन मात्र सञ्चालन गर्न पाइनेछ। तर, अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्रीहरूको पसल भने बिहान ६ देखि ९ बजेसम्म र साझ ४ देखि ६ बजेसम्म खुल्ला रहनेछ। सर्वसाधरणहरुले दाल, चामल किन्न र स्वास्थ्य सेवा लिन एक्ला एक्लै जानुपर्ने बताइएको छ।

निषेध आदेशको समय अवधिभर धनकुटा नगरपालिका क्षेत्रबाट सार्वजानिक तथा भाडाका सवारी, निजी सवारी साधनहरू समेत सञ्चालन नहुने तथा कोशी राजमार्गमा अन्य ठाउँबाट आएका सवारीसाधन सञ्चालन हुने भए पनि धनकुटा नगरपालिका क्षेत्रमा यात्रु चढाउन र ओराल्न नपाइने दाहालको भनाइ छ।

निषेध आदेशको अवधिभर धनकुटा नगरपालिकामा रहेका सम्पूर्ण कार्यालयका अत्यावश्यक सेवा सीमित कर्मचारी मात्रै बसेर सञ्चालन भइरहेका छन्।

यससँगै स्थानीय प्रशासनले जारी गरेपछि धनकुटा सुनसान बनेको छ। धनकुटाको निकै चहलपहल हुने चुवाबोट, मदनचोक, भीमसेनथान, भीमनारायणचोक लगायत विभिन्न बजार सुनसान बनेका छन्। कोरोनाको सम्भावित जोखिमबाट बच्न सरकारले विद्यालय, क्याम्पस, कार्यालयहरू र सार्वजनिक स्थलहरु बन्द गरेपछि बजारमा बसोबास गर्दै आएका मानिसहरुले धनकुटा बजार छोडेर गाउँ फर्किएका छन्। बजार क्षेत्रमा रहेका मासिनहरू पनि घरमै बसेका कारण धनकुटा सुनसान भएको हो।

यसअघि धनकुटा नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको थियो। धनकुटा अस्पतालको पिसिआर परीक्षण ल्याबमा परीक्षण गरिएअनुसार धनकुटामा हालसम्म ७२ जना सक्रिय संक्रमित रहेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.