|

काठमाडाैं : कप्तान अञ्जन विष्टको उत्कृष्ट प्रदर्शनमा ललितपुर सिटीले एनएसएल लिगमा दोस्रो जित निकाल्दै प्लेअफमा स्थान बनाएको छ।

खराब प्रदर्शन गरेको भन्दै मुख्य प्रशिक्षक प्रदीप हुमगाईंलाई बर्खास्त गरेको ललितपुर अन्तत: महत्वपूर्ण खेलमा विराटनगर सिटीमाथि ४-० को जित निकाल्न सफल भयो। 

शनिबार दशरथ रंगशालामा भएको खेलमा कप्तान विष्टले दुई गोल गर्दा विमल राना र नुर्लान जाहिदको नाममा समान एक-एक गोल रह्यो। तनावपूर्ण बनेको खेलमा विराटनगर १० खेलाडीमा सीमित भएको थियो। प्रतियोगितामा विराटनगरको लगातार दोस्रो हार हो।

सुरुवातबाटै प्रतिस्पर्धात्मक बनेको खेलको ३६ औं मिनेटमा विष्टले ललितपुरलाई अग्रता दिलाए। ६३ औं मिनेटमा सब्सटिच्युट खेलाडी विमलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए।

दुई गोलको अग्रता बनाएपछि रेफ्रीको निर्णयमा असन्तुष्ट प्रकट गर्दै विराटनगरका खेलाडीहरूले केही समय मैदान छाडेका थिए। तर, केही समयपछि खेलाडी मैदान फर्किएका थिए।

८१ औं मिनेटमा कप्तान अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अवस्थामा पुर्‍याए। त्यसकै केही समयमा नै विराटनगर १० खेलाडीमा समेटियो । रन्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि विराटनगर निरीह देखियो।

खेलको इन्जुरी समयको छैटौं मिनेटमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४-० को प्रभावशाली जित दिलाउँदै प्लेअफमा पुर्‍याउन सफल रहे। खेलमा ललितपुरका कप्तान अन्जन प्लेयर अफ दि म्याच चुनिए।

उनले २५ हजार प्राप्त गरे। जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ। ललितपुर लिगको तेस्रो स्थानमा उक्लन सफल रह्यो। विराटनगरले ६ खेलमा ७ अंक जोडे पनि अघिल्लो चरणमा स्थान बनाउन असफल रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.