|

बर्दिया : कोरोना संक्रमण दर तीव्र फैलिँदै गएपछि बर्दियाका स्थानीय सरकार महामारीे रोकथाम तथा नियन्त्रणमा जुटेका छन्। आठवटा स्थानीय तहले संक्रमण समुदाय स्तरमा फैलन नदिन विभिन्न योजना बनाएर काम गरिरहेका छन्।

संक्रमितलाई छिटो अस्पताल पु¥याउने, गम्भीर प्रकृतिका बिरामीलाई बाँकेसँग समन्वय गरेर शय्या मिलाउने लगायतका कामसँगै अस्थायी कोभिड अस्पताल पनि गरिरहेका छन्।

ठाकुरबाबा नगरपालिकाले संक्रमितलाई अस्पतालसम्म लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। यस्तै‚ एम्बुलेन्स अभाव भए उपप्रमुख कृष्णा कुष्मा थारुले आपूले प्रयोग गर्दै आएको गाडी प्रयोग गर्ने घोषणा समेत गरेकी छन्। नगरपालिकाले नेउलापुर स्वास्थ्य चौकी भवनमा सञ्चालित अस्थायी कोभिड अस्पतालमा स्थान अभाव भएकाले वडा नम्बर २ को वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रको भवनमा स्थानान्तरण गरी अक्सिजनसहितको २० शय्या अस्पताल शनिबारदेखि सञ्चालनमा ल्याएको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए। उक्त अस्पतालमा एक मेडिकल अधिकृतसहित सातजना स्वास्थ्यकर्मी र दुई सहयोगी कर्मचारी रहेका छन्।

मधुवन नगरपालिकाले संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गर्ने जनाएको छ। यस्तै‚ अक्सिजनसहितको १५ शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए। होम अइसोलेसनका बसेका संक्रमितलाई कुनै समस्या भए सेवा दिन स्वास्थ्यकर्मीहरु तयारी राखेको क्षेत्रीले बताए।

उता बारबर्दिया नगरपालिकाले संक्रमितको उपचारका लागि आरसी थारु मेमोरियल अस्पताल सञ्चालनमा ल्याएको छ। दुईजना एमबिबिएस डाक्टरसहित अस्पतालले संक्रमितलाई सेवा पुर्‍याइरहेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए। विपन्न परिवारलाई निःशुल्क औषधि र एम्बुलेन्स सेवा व्यवस्था गरिएको जनाएको छ।

राजापुर नगरपालिकाले अक्सिजनसहितको २७ शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको नगरप्रमुख शिवप्रसाद थारुले बताए। जटिल अवस्थाका बिरामीलाई अस्पताल लान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले जानकारी दिए।

गुलरिया नगरपालिकाले पनि संक्रमितको उपचारका लागि २७ शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। बाँसगढी नगरपालिकाले पनि कोभिड अस्पताल सञ्चालन गरेको छ।

बढैयाताल गाउँपालिकाले २० शय्याको अक्सिजन सहितको आइसोलेसन तयारी अवस्थामा राखेको छ। आइसोलेसन वार्डमा लक्षणसहितका बिरामीको उपचार गरिने र जटिल अवस्थाका बिरामीलाई नेपालगञ्ज रेफर गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए। अक्सिजन सिलिण्डरको अभाव भएको उनको भनाइ छ। गाउँपालिकाले २४ जना स्वास्थ्यकर्मीको टोली बनाएर सेवा प्रवाह गरिरहेको छ।

गेरुवा गाउँपालिकाले १० शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए। होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरुलाई पनि विशेष निगरानीमा राखिरहेको उनको भनाइ छ।

बर्दियामा शनिबारसम्म ३ हजार ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महामारी सुरु भएयता ४१ जना संक्रमितको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेसबाबु श्रेष्ठले जानकारी दिए। बर्दियाका १ हजार ८६९ जना कोरोनामुक्त भएका छन्। ७० जनाभन्दा बढी संक्रमितको नेपालगञ्जमा उपचार भैरहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.