|

विवादित जेरुसेलमको अल अक्सा मस्जिद क्षेत्रमा प्यालेस्टाइन र इजरायलबीच लगातार झडप भइरहेको छ। झडप क्रममा गएराति पनि दर्जनौं मानिसहरू घाइते भएका छन्।

प्यालेस्टिनी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै पुरानो शहरको दमस्कस गेटमा आगो लगाइदिएका छन्। इजरायली प्रहरीले प्रदर्शनकारीमाथि स्टेन ग्रिनेड र पानीको फोहोरा प्रहार गरेको छ।

प्यालेस्टाइनी रेड क्रिसेन्टका अनुसार पछिल्लो हिंसामा कम्तिमा ८० जना घाइते भएका र गम्भीर अवस्थामा पुगेका १४ जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ। आफ्ना एक जवानलाई चोट लागेको इजरायली प्रहरीले जनाएको छ।

अल अक्सामा गत शुक्रबार रातिदेखि हिंसा भड्किएको थियो। सो रात २०० भन्दा धेरै प्यालेस्टाइनी र कम्तिमा पनि १७ जना इजरायली प्रहरी घाइते भएका थिए।

शनिबार हजारौं मुसलमानहरू अल अक्सा मस्जिदको दमस्कस गेटमा लायलात–अल–कदर अर्थात रमजानको सबैभन्दा पवित्र रातमा प्रार्थना गर्न जुटेका थिए। इजरायली प्रहरीले भने मस्जिदतर्फ जाँदै गरेका दर्जनौं बसलाई बाटोमै रोकिएको दियो। 

इजरायली प्रहरीले मस्जिदमा प्यालेस्टाइनीहरूलाई नमाज गर्न नदिन दुःख दिइरहेको र त्यहाँ हरेक दिन झडप भइरहेको स्थानीय पत्रकारहरूले जानकारी दिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशमा कानूनी व्यवस्था कायम राखिराख्न जिम्मेवारीपूर्वक काम गरिरहेको दाबी गरेका छन्। 

प्यालेस्टाइनी नेता महमूद अब्बासले मुसलमानहरूलाई मस्जिदमा नमान पढ्न नदिन गरेको अवरोधलाई अपराध संज्ञा दिएका छन्। 

अमेरिका, यूरोपेली संघ, रुस र संयुक्त राष्ट्रसंघले शनिबार पनि हिंसा दोहोरिएपछि गहिरो चिन्ता व्यक्त गरेका छन्। 

तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इजरायलको रवैयाप्रति निन्दा प्रकट गरेका छन्। पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले पनि हिंसाको निन्दा गरेका छन्।

साउदी अरब र युएई लगायत अरब देशका अधिकारीहरूले पनि इजरायलको विरोध गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.