|

गोरखा : गण्डकीमा नयाँ सरकार गठनका लागि प्रयार गरिरहेका प्रतिपक्ष दलले आफ्ना सांसदहरूलाई सुविधासम्पन्न रिसोर्टमा राखेका छन्।

सांसदहरुले सत्तापक्षसँग समन्वय गरेर फ्लोर क्रस गर्न सक्ने डरले कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदलाई दोस्रो पटक दिउसो देखि पोखराको लेकसाईटमा रहेको कुटी रिसोर्टमा राख्ने भएका हुन्।

यो रिसोर्टको वेवसाइटमा उल्लेख भएअनुसार दैनिक एउटा कोठाको न्यूनतम् १० हजार देखि २० हजार रुपैयाँसम्म पर्छ। गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध पेश भएको अविश्वासको प्रस्तावको पक्षमा भोलि छलफल गरेर मतदान हुने कार्यक्रम छ।

अविश्वासको पक्षमा मत क्रस नहोस् भन्ने उद्देश्यले प्रतिपक्षले सत्तापक्षसँग सम्पर्कमा आउन नदिन सबै सांसद एकै ठाउँमा बस्ने तयारी गरेका हुन्। तर, आपसी रणनीति बारे छलफलका लागि रिसोर्टमा बस्ने निर्णय गरेको कांग्रेसका एक सांसदले दाबी गरे। अविश्वासको प्रस्ताव पेश गरेका कांग्रेस र माओवादीले यसअघि पनि वैशाख १३ गतेदेखि १६ गतेसम्म आफ्ना सांसदहरुलाई सोही रिसोर्टमा राखेको थियो।

सो समयमा जसपाका सांसद भने कुटी नजिकैको अर्को होटलमा बसेका थिए। जसपाका संसदीय दलका नेता हरिशरण आचार्य भने अहिले कोरोना पुष्टि भएर आइसोलेसनमा छन्। जनमोर्चा भने यसअघि पनि प्रतिपक्षसँगै बसेको थिएन। तीन सांसद रहेको राजमोले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर पनि गरेको छैन।

गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका तीन, जसपाका दुई र एक स्वतन्त्र सांसद छन्। नयाँ सरकार गठन गर्न अर्थात अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छन्।

गत वैशाख २ गते कांग्रेसका १४, माओवादीका ११ र जसपाका तीनजना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका  थिए। आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने थाहा पाएपछि मुख्यमन्त्री गुरुङले रातारात चालु अधिवेशन अन्त्य गरेका थिए।

विपक्षले माग गरेपछि वैशाख १३ गतेदेखि बिशेष अधिवेशन सुरु भएको थियो। वैशाख १५ मै अविश्वास प्रस्तावमाथि मत विभाजन हुने कार्यसूची थियो। तर, राजमो सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुखले संसद अर्को सूचना नआउँदासम्म स्थगित गरेका थिए। वैशाख २३ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गते ११ बजे बैठक बोलाउने सहमति गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.