|

रुकुम (पूर्व) : थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडाैं रिफर गरिए पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ३ बजे रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचारत उनलाई यहाँ उपचार हुन नसकेपछि काठमाडाैं लगिएको थियो।

भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय पुरुषको अवस्था जटिल बन्दै गएपछि हेलिकोप्टरमार्फत काठमाडाैंको ग्रान्डी अस्पतालमा पुर्‍याएर भेन्टिलेटरमा भर्ना गरिएको थियो। तर भर्ना हुनासाथ उनको मृत्यु भएको रुकुमपूर्व अस्पतालका डाक्टर पूर्णबहादुर पुन मगरले जानकारी दिए।

स्वास्थ्य अवस्था गम्भीर देखिएपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवं पूर्व मन्त्री गणेशमान पुन मगरको पहलमा हेलिकोप्टरमार्फत उनलाई उद्धार गरिएको थियो। दुई महिनाअघि विदेशबाट आएका उनमा ज्वरोका लक्षण देखिएपछि वैशाख २३ गते एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। 

पुरुषमा टाउको, छाती दुख्ने र श्वास प्रश्वासमा समस्या देखिएको डाक्टर पुनले बताए। जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। 

हाल जिल्लामा ३६ जना सक्रिय संक्रमित संख्या रहेकोमा चार जना रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचार भइरहेका छन्। बाँकी संक्रमितको अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.