'एमालेका साथीहरूले के गर्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो'

|

गोरखा : प्रधानमन्त्री ओलीले भोलि (वैशाख २७) मा संसदमा संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मत लिँदै छन्।

तर, ओलीविरुद्ध पार्टीभित्र संघर्ष गरिरहेका माधव कुमार नेपाल समूहले भने के गर्छ भन्नेमा अझै अन्योल नै छ। आज संसद सचिवालयमा सामूहिक राजीनामा बोकेर गएका उनी त्यसबाट भने हाललाई भने पछि हट्ने संकेत दिएका छन्। 

उता कांग्रेस र माओवादी लामो समयदेखि जसपालाई साथमा लिएर नयाँ सरकारका बनाउन कसरत गरिरहेका छन्। उनीहरूले पटक पटक प्रधानमन्त्री ओली बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी पनि गरे। तर, जसपाको विवाद र पार्टीगत निर्णय नआउँदा काँग्रेस र माओवादीले अविश्वासको प्रस्ताव पेश गर्ने आँट गर्न सकेनन्।

प्रधानमन्त्री ओलीले कुनै नयाँ चाल नचाले भोलि नयाँ सरकार बन्ने या नबन्ने छिनोफानो हुने निश्चित छ। नयाँ सरकारका लागि माओवादीले कस्तो तयारी गरिरहेको छ? वर्तमान राजनीतिक परिस्थितिलाई माओवादीले कसरी हेरेको छ? र कस्तो रणनीति बनाउँदै छ?

यिनै विषयमा केन्द्रित रहेर थाहाखबरकर्मी अश्विन दानीले  नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ

भोलि तपाईंहरूको तयारी के छ?  

हाम्रो र नेपाली कांग्रेसलगायत पार्टीले विश्वासको मत नदिने निर्णय गरेका छौँ।

यो सरकार अहिलेसम्म प्रतिगमनकारी, निरंकुशतावादी राष्ट्रिय स्वाधीनतामा सौदाबाजी, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा अत्यन्तै छिपछिपेपन भयो,  कोरोना महामारी नियन्त्रणमा देखाएको नालायकीपन र अक्षमता र अध्यादेशबाट शासन गर्ने यो सरकारलाई समर्थन गर्न सकिँदैन।

त्यो सबै कोणबाट हेर्दा प्रधानमन्त्रीले ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन्, भोलि यो सरकार आफ्नो जिम्मेवारीबाट मुक्त हुन्छ भन्ने विश्वास छ। त्यस पछाडि बहुमतको नयाँ सरकार बन्छ, भन्ने पनि हामी विश्वस्त छौँ।

जसपाको निर्णयले स्थिति के हुन्छ? 

के हुन्छ भन्ने त्यतिखेर देखिने कुरा हो। अहिले हामीलाई के विश्वास छ भने प्रतिनिधिसभाले विश्वासको मत त दिनै सक्दैन। प्रतिनिधिसभाबाट केपी ओलीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन। त्यसपछाडि पनि बहुमतको सरकार बन्ने स्थिति हुन्छ भन्ने हाम्रो विश्वास छैन।

अहिलेको सरकारले विश्वास मत लिन सकेन, अनि तपाईंहरूले बहुमत पुर्‍याउनुभएन भने नि?

त्यतिखेर संविधानले दिएको प्रावधानअनुसार अगाडि बढ्छ। तर, अहिले त्यो ठाउँमा पुगेकै छैन। अहिले त उहाँले विश्वासको मत लिने समय हो। विश्वासको मत प्राप्त हुँदैन भन्ने नै हामीलाई लागेको छ। त्यसपछि बहुमत सरकार गठन गर्नेतर्फ जान्छौं।

एमालेको कारण राजनीतिक किचलो भएको पनि देखिन्छ, ओलीले विश्वासको मत लिन सक्दैनन् कि भन्ने पनि छ नि?

एमालेको एउटा पक्षका साथीहरूले के निर्णय गरे त्यो उहाँहरूकै निर्णय हो। त्यसमा हामीले हस्तक्षेप गर्न वा हामीले उहाँहरूलाई केही भन्ने कुरा आएन। हामीले राष्ट्रिय आवश्यकताको कुरा सार्वजनिक रुपमा र आमरुपमा अपिल गर्ने मात्र कुरा हो। उहाँहरूको निर्णय के हुन्छ त्यो उहाँहरूले नै गर्ने कुरा हो। तर, हामीलाई के विश्वास छ भने समग्रमा यो सरकार पदमुक्त हुन्छ र बहुमतको नयाँ सरकार बन्छ।

प्रधानमन्त्रीले पुन:संसद विघटन गर्नसक्ने अवस्था आउला?

हरेक पटक गैरसंवैधानिक काम गर्ने, फेरि आन्दोलन गर्ने फेरि अदालत जानुपर्ने स्थितिमा प्रधानमन्त्रीको चरित्रका कारण नपुर्‍यालान् भनेर जनताले नागरिक समाजलले, बौद्धिकहरूले भन्या हुन्। किनभने उहाँले जे पनि गर्न सक्नुहुन्छ। अदालतले त्यो गर्न दिँदैन। अदालतले संविधानका व्याख्यालाई प्रस्ट पारिदिएको छ। कि बहुमतको सरकार कि नयाँ सरकार बन्ने काम नहुँदासम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन। संविधान र संविधानको प्रावधानलाई अदालतले गरेको व्याख्याअनुसार अहिले तत्काल संसद विघटन गर्न सक्ने कुनै अधिकार छैन।

त्यसो भए नयाँ सरकार कहिलेसम्म बन्ला त?

भोलि विश्वासको मत लिनुभयो र विश्वासको मत प्राप्त गर्न नसकी सरकार पदमुक्त भएपछि तुरुन्तै बहुमतको सरकार बनाउने दाबी गरेर हामी अगाडि बढिसकेपछि तत्काल एक दुई दिनभित्रमा नै बन्न सक्छ।

यो सरकार पदमुक्त भइसकेपछि बहुमत सांसदले छलफल गरेर बनाउने कुरा हो। त्यो हामीले कांग्रेसका संसदीय नेतालाई बनाउने भनेका छौँ।

सरकारले हालसालै ल्याएको अध्यादेश माओवादीले अस्वीकार पनि गरेको छ। यसलाई कसरी हेर्नुभएको छ?

प्रधानमन्त्री केपी ओलीको चिन्तन शैली पूरै निरंकुश, अलोकतान्त्रिक छ। निरंकुश भएकै कारण उहाँले अहिलेसम्म प्राप्त जनताको राजनीतिक परिवर्तनलाई उल्टाएर प्रतिगमनको दिशातर्फ कदम चालिरहनुभएको छ।

त्यसै अन्तर्गत हामीले अध्यादेश प्रकरण होस् या लुम्बिनी प्रदेशमा भएको सरकारको गठन होस्, यससलाई अवैधानिक रूपमा लिएका छाैं। लुम्बिनी प्रदेश सरकार वैधानिक नै होइन। अवैधानिक र बलजफ्ती सरकार चलाउने काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.