|

सल्यान : कोरोना भाइरस संक्रमण संख्यामा वृद्धिसँगै  मृत्युदर पनि बढ्दै छ। जसका कारण सल्यानमा शव व्यवस्थानमा चुनाैती थपिएको छ। 

जिल्लामा एउटा पनि शववहान नहुँदा सक्रमणबाट मृत्यु भएकाको लास बोक्ने साधनसमेत अभाव भएको छ। शारदा नगरपालिकाले उपलब्ध गराएको टिपरमा हालेर शव व्यवस्थापन भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। शववहान नभएपछि विकल्पको रुपमा शारदा नगरपालिकाको टिपरका माध्यमबाट शव व्यवस्थापन हुँदै आएको छ।

अन्य पालिकाले आफ्नो नागरिकको मृत्यु भएपछि शवको बन्दोबस्त नगर्दा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए। समयमै शव व्यवस्थापन नहुँदा शवबाट दुर्गन्ध आएर अन्य बिरामीहरूलाई पनि समस्या भएको उनको भनाइ छ। 

मृतकको शव छिटो छरितो व्यवस्थापन भइदिए सहज हुने पुनले बताए। उनले भने, ‘शव गाड्न स्थानीयले अवरोध गर्छन् कि भन्ने समस्या पनि छ। भोलिका दिन यसले झनै विकराल रूप नलेला भन्न सकिँदैन, त्यस बखत हामीलाई समस्या हुने देखेका छौं।’

कोरोना संक्रमणबाट मृत्यु भएकाको व्यवस्थापन जिम्मा नेपाली सेनाले पाएको छ। तर नेपाली सेनासँग सँग न शववहान छ न त अरु कुनै साधन। अहिले जसोतसो शव ओसार्न टिपरको प्रयोग गरिएको छ।

शववहान नहुँदा टिपरलाई शववहान बनाएर शव व्यवस्थापन गर्दै आइरहेको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए। शव बोक्ने साधन नहुँदा सिंगो जिल्ला र शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनालाई कठिनाइ भएको उनले बताए। शव बोक्ने गाडी व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहलसमेत गरिएको उनले बताए। 

सल्यानमा  हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने ४ सयभन्दा बढी संक्रमित छन्। मृत्युदर बढेपछि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले शव व्यवस्थापनका लागि स्थानीय तहहरुले नै जिम्मा लिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.