न्यूजील्याण्डद्वारा चीनविरुद्ध अघि बढ्न अस्वीकार

|

विश्वकै सबैभन्दा सफल खुफिया गठबन्धन फाइभ आइजमा चीन मामिलालाई लिएर दरार उत्पन्न भएको छ। 

यो गठबन्धन सन् १९४१ मा गठन गरिएको थियो। गठबन्धनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्ड गरी पाँच देश आवद्ध छन्। पाँच देशबीच खुफिया सूचनाहरू साझेदारी गर्नु यो गठबन्धनको उद्देश्य रहिआएको छ।

शीतयुद्ध हुँदा सोभियत संघमाथि निगरानी गर्नु यो गठबन्धनको प्रमुख उद्देश्य थियो।

यसलाई आजसम्मकै सफल र ठूलो खुफिया गठबन्धन मानिन्छ। 

दरारका कारण

चीनको शिनजियाङ् प्रान्तमा वीगुर मुसलमानमाथि उत्पीडन र दक्षिण चीन सागरसँगै हङकङ तथा ताइवानमा चीनको कडा व्यवहारलाई गठबन्धनका चार सदस्यले विरोध गरिरहेका छन्।

​तर, गठबन्धनमा रहेको न्यूजील्याण्डले भने चीन विरुद्ध लाग्न अस्वीकार गरिदिएको छ। 

​मानवअधिकार रक्षाका क्षेत्रमा आफूले गरेका कामप्रति गर्व गर्ने गरेको न्यूजील्याण्डले वीगुर मुसलमानमाथि दमन गरिरहेको भनिएको चीनको निन्दा गर्न भने अस्वीकार गरिदिएको हो।​

न्यूजील्याण्डको सबैभन्दा ठूलो निर्यात बजार चीन नै हो। त्यहाँ उत्पादन भएका ३० प्रतिशतभन्दा बढी उत्पादन चीनतर्फ निर्यात हुने गरेको छ। दुग्धजन्य उत्पादनको सबैभन्दा ठूलो खरिदकर्ता चीन नै हो।

खुफिया सूचना साझेदारी गर्ने फाइभ आइज गठबन्धनमा रहँदा न्यूजील्याण्डले के लाभ पायो भन्ने हालसम्म एकीन छैन। यसको अर्थ हो(गठबन्धनमा रहेपछि उसले खासै केही पाएको छैन।

अष्ट्रेलिया भने चीनविरोधी मोर्चामै

अष्ट्रेलियाको केन्द्र सरकारले भिक्टोरिया राज्यमा चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड परियोजना रोकिदिएको छ।

पछिल्लो एक वर्षयता चीनले पनि अष्ट्रेलियामाथि अनेकन व्यापार प्रतिबन्ध लगाइदिएको छ। अर्कातर्फ न्यूजील्याण्ड र चीनबीच व्यापार सम्बन्ध अहिले सबैभन्दा उच्च बिन्दुमा पुगेको छ।

दुई देशबीच चलिरहेको व्यापार युद्धको खराब झट्का अष्ट्रेलियाले नै खेपिरहेको छ। त्यहाँबाट चीनतर्फ मदिरा निर्यातमा ९६ प्रतिशतसम्म गिरावट आइसकेको छ।

सन् २०२१ को पहिलो त्रैमासमा अष्ट्रेलियाबाट चीनतर्फ जम्माजम्मी १२ लाख अष्ट्रेलियन डलर बराबरको सामान निर्यात भएको छ। जबकि, सन् २०२० को सोही अवधिमा ३२ करोड ५ लाख डलरको सामान चीनले किनेको थियो। 

अघिल्लो वर्ष गठबन्धनका अधिकारीहरूले विश्वका तमाम मामिलामा फाइभ आइज गठबन्धनका सदस्य मुलुकको विचार लगभग एउटै रहेको दाबी गरेका थिए। चीन मामिलामा पनि यही स्थिति लागू भैरहेको भनिएको थियो।

कार्यक्षेत्र विस्तार गर्दा विवाद

सन् २०२० मे महिनामा यो गठबन्धनले आफ्नो भूमिका सुरक्षा र खुफिया जानकारी साझेदारी गर्नेमा मात्रै सीमित नराख्ने निर्णय लिएको थियो। उप्रान्त मानवअधिकार र लोकतन्त्र रक्षा निम्ति पनि काम गर्ने समझदारी भएको थियो। 

अघिल्लो वर्ष नोभेम्बरमा हङकङमा चीन सरकारले आन्दोलन दबाउने कोशिश गरेपछि त्यसविरुद्ध यो गठबन्धनले खुलेर आलोचना गरेको थियो। साथै, हङकङका लागि चीनले चुनेका प्रतिनिधिलाई अयोग्य घोषित गर्ने नयाँ कानून समेत अघि सारिएको थियो।

सो कदमको प्रतिवाद गर्दै चीनले पनि फाइभ आइज गठबन्धनको धज्जी उडाइदिएको थियो। चीनको सम्प्रभुतामा नोक्सान पुर्‍याउनेहरूको 'आँखा नै बाहिर निस्किएको' बेइजिङका अधिकारीहरूले बताएका थिए।

पश्चिमा मिडियाहरूले​ भने न्यूजील्याण्डलाई फाइभ आइज गठबन्धनका निर्णय कार्यान्वयन नगर्न चीनले दबाव दिइरहेको दाबी गरेका छन्।​​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.