कडा खालको भेरियन्ट भएकाले संक्रमितलाई धेरै अक्सिजन आवश्यक

|

काठमाडौं : काठमाडौं उपत्यकाभित्र अझै दुई सातासम्म संक्रमणका मामिला बढिरहने विभागीय सरकारी अधिकारीले बताएका छन्‌। कडा निषेधाज्ञा लागू भएको उपत्यकामै अहिलेहाल दैनिक ४ हजारभन्दा बढी नयाँ संक्रमितहरू भेटिएका छन्।

संक्रमण नियन्त्रण गर्न उपत्यकामा ११ दिनदेखि निषेधाज्ञा लागू छ।  निषेधाज्ञा लागू भएको दिन वैशाख १६ गतेपछि पनि उपत्यकासहित देशभर नै संक्रमण दिनहुँ बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार संक्रमण अझै दुई हप्तासम्म उपत्यकामा अझै बढ्नसक्ने आंकलन गरिएको छ।

‘कोरोना संक्रमण भएको ५ देखि १० दिनभित्र लक्षण देखिन्छ, करिब २ सातासम्म संक्रमितमा लक्षण देखिने गर्छ, निषेधाज्ञा लगाइएको दुइसाता पूरा भएको छैन। त्यसैले, अझै दुई सातासम्म संक्रमणदर धेरै देखिन्छ। त्यसपछि मात्रै क्रमश: कम हुँदै जान्छ,’ उनले भने।

भर्खरै राष्ट्रिय र अन्तराष्ट्रिय उडान लगायत मानवीय आवागमन बढी हुने अन्य सेवा क्षेत्र पनि बन्द गरिएको छ। यो प्रतिबन्ध कायमै राखे अबको दुई सातापछि संक्रमण घट्दै जाने पौडेलले बताए। उनले थपे, ‘निषेधाज्ञा हुनुअघि हाम्रोमा खोप लगाउने वा अन्य बहानामा धेरै भीड भयो, जसले गर्दा अहिले संक्रमण बढ्दो छ।'

जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गरिए अबको दुई महिनापछि संक्रमणदर घट्दै जाने उनको भनाइ छ।

कडा खालको भेरियन्ट भएकाले संक्रमितलाई धेरै अक्सिजन आवश्यक

हाल नेपालमा युके र भारतीय भेरियन्ट समुदायमा फैलिरहेको छ। यो भेरियन्ट अलि संक्रामक हुने हुँदा धेरै संक्रमितलाई अक्सिजनको सपोर्ट चाहिएको समेत डा. पौडेलले बताए।

उनले भने, ‘हाल समुदायस्तरसम्म पुगेको यी दुई भेरियन्ट अलि बढी संक्रामक छ, यसले फोक्सोमा बढी असर गर्छ, फोक्सोले राम्रोसँग काम गर्न नसकेको बेला धेरै संक्रमितलाई श्वासप्रश्वास सहजताको लागि अक्सिजन आवश्यक पर्छ।'

समुदायस्तरमा संक्रमण फैलिएका कारण अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामीको संख्या अझै बढ्नसक्ने समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.