|

काठमाडौं : उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप्दै अझै कडाइ गर्ने तयारी थालेका छन्‌।

कोरोना संक्रमणदर नियन्त्रणमा आउन नसकेकाले निषेधाज्ञा थप गर्न लागिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले थाहाखबरलाई जानकारी दिएका छन्‌।

उनका अनुसार यस विषयमा निर्णय लिन मंगलबार दिउँसो ३ बजे तीनवटै जिल्लाका सीडीओबीच बैठक हुनेछ। ‘अझै कोरोना नियन्त्रणमै आउन सकेको छैन,’ निरौलाले भने, ‘भोलि बैठक बस्दैछौँ, निषेधाज्ञा अवधि लम्ब्याउन सक्छौँ।’

उनले एक हप्ता वा कति दिनसम्म थप्ने भन्नेबारे मंगलबार नै निर्णय हुने जानकारी दिए।

त्यस्तै, तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकामा अलपत्र परेका यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था पनि गर्ने भएको छ।

यात्रुलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे पनि बैठकमा छलफल गरिने निरौलाले जानकारी दिए। उनले भने, ‘उपत्यकामा यात्रुहरू अलपत्र परेका छन्‌, उनीहरूलाई सहज ढंगले उनीहरूकै घरसम्म पुर्‍याउने हाम्रो योजना छ, यस विषयमा पनि भोलि नै निर्णय हुन्छ।’

उनका अनुसार उपत्यकाबाट जाने यात्रुलाई सम्बन्धित स्थानीय निकायले १० दिनसम्म क्वारेन्टाइनमा राख्न सहमति भएमा यो व्यवस्था लागू गरिनेछ।

कोरोना रोकथाम नियन्त्रणका लागि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएको थियो। घोषित निषेधाज्ञा अवधि वैशाख २९ गते सकिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.