उत्पादन लागत नै महँगो पर्ने भएकोले अलिक महँगो भएको व्यवसायीद्वारा स्वीकार

|

जनकपुरधाम : कोरोना महामारीको दोश्रो लहरमा पनि पहिलो लहरजस्तै प्रदेश २ संक्रमितको हट स्पट बन्दै गएपछि अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको छ।

अक्सिजन ग्यासको अभाव भएसँगै बिक्रेताहरूले महँगोमा बेच्न थालेका छन्। उपभोक्ताहरूको अनुसार विक्रेताहरूसँग डेढ गुणासम्म महँगोमा ग्यास खरिद गर्नुपरेको गुनासो गरेका छन्। 

जनकपुरधाममा कोरोना संक्रमितका लागि 'डोर टु डोर' अक्सिजन र चेकजाँचको सेवा अभियान संचालन गरेका क्लोथ बैंकका संयोजक राजीव झाले अक्सिजन सिलिण्‍डर पहिलेभन्‍दा महँगिएर आएको बताए। 

संयोजक झाले भने, 'पहिले १० हजार धरौटीमा उपलब्ध हुने सानो सिलिण्डरको १५ हजार र १५ हजारमा पाइने सिलिण्डरको २५ हजार तिर्नुपरेको छ भने २७५ रुपैयाँमा फिलिङ (खाली सिलिडरमा भर्ने काम) गर्दै आएको सानो सिलिण्डरको ५ रुपैयाँसम्म र ६ सय पर्ने ठूलोको साढे सात सय रुपैयाँसम्म तिर्नुपरेको छ।’ महँगो नै भए पनि सजिलै उपलब्ध नभएको उनले बताए। उनले भने, ‘अक्सिजन ग्यास उत्पादन कम्पनीले डेढ गुणाभन्दा बढी रकम लिए पनि सजिलै उपलब्ध गराएका छैनन्।’

त्यसैगरी बिरामीको लागि एम्बुलेन्स सेवा संचालन गर्दै आएका असहाय संरक्षण मंचका अध्यक्ष बैजनाथ साहले पनि अक्सिजन ग्यास हाल केही दिनदेखि बढी मूल्‍यमा खरिद गर्नुपरेको गुनासो गरे।

मंचका अध्यक्ष साहले धनुषामा प्रमुख ग्यास आपूर्तिकर्ताको रुपमा रहेका भाजुरत्न इन्जिनियरिङले हप्तामा मुश्किलले एक पटक ग्यास उपलब्ध गराउने गरेको बताए। उनले भने, 'भाजुरत्नबाट ग्यास उपलब्ध नहुँदा निजी उत्पादन कम्पनी तथा सप्लायर्ससँग महँगो दरमा अक्सिजन खरिद गर्नुपर्ने बाध्यता छ।’

धनुषामा मिथिला नगरपालिकास्थित ढल्केबर ग्यास उद्योग र भाजुरत्न इन्जिनियरिङले ग्यास उत्पादन तथा न्यूमानिया ट्रेडिङले अक्सिजन ग्यास सप्लायर्सको रूपमा काम गर्दै आएका छन्।

यी तीन ग्यासको कारोबारीमध्ये भाजुरत्नले ग्यासको अभाव रहेको बताएको छ भने ढल्केबर ग्यासले प्रालि २७५ रुपैमाँ पर्ने अक्सिजनको ५ सय रुपैयाँ र न्यू मानिया ट्रेडिङले साढे चार सय रुपैयाँसम्म लिइरहेको उपभोक्ताहरूले जनाएको छ।

यस सन्दर्भ बुझ्न खोज्दा भाजुरत्न जनकपुरधाम शाखाका प्रमुख मनोज ठाकुरले भने, 'हामीसँग ग्यास भए पनि सिलिण्डर आभाव रहेको छ।’ प्रमुख ठाकुरले एक–एक दिनको फरक गरेर आफूहरूले ग्यास आपूर्ति गर्दै आएको जनाए। उनले सिलिण्डर नै नभएको कारण थप नयाँ ग्राहक बनाउन छोडेको बताए।  

प्रमुख ठाकुरले कोरोनाको महामारीमा वृद्धि हुन थालेपछि यस कम्पनीको एक हजारभन्दा बढी सिलिण्डर धरौटीमा लिई विभिन्न अस्पताल र स्थानीय तहहरूले स्टक गरी राखेको बताए।

उनले भने, ‘ती स्टक गरेर राख्नेहरूले न सिलिण्डर फिर्ता गर्न आएका छन् न त  तिनीहरू न त ग्यास भराउन आएका छन्। त्यसैले सिलिण्डरको अभाव भएको हुँदा अहिलेलाई नयाँ ग्राहक बनाउन छोडेका छौं। हामीले अहिले १३० वटा सिलिण्डरले काम चलाई रहेका छौं।’

उनले भाजुरत्नबाट कोरोना पुष्टि भएका बिरामीलाई मात्रै २५ हजार धरौटी दिई सिलिण्डर र ८० प्रतिशत छुटमा प्रतिसिलिण्डर ग्यास उपलब्ध गराइरहेको बताए।

त्यसैगरी ढल्केबर ग्यास प्रालि उद्योगका संचालक मुना सर्राफले अहिले कोरोना महामारीको बेला सेवा उपलब्ध गराउनु नै ठूलो कुरा भएको बताउँदै उनले भने, ‘यति बेला लकडाउनमा ४ सय रुपैयाँ लिइरहेका छौं। अहिले डिजेल र लेबर कस्ट पनि महंगो तिर्नुपर्ने भएको हुँदा ग्यास उत्पादनमा नै हामीलाई लागत बढी पर्ने भएपछि भाजुरत्न भन्दा अलि महँगो हुन गएको स्वीकार गर्छौ।’

उद्योगका संचालक सर्राफले ढुवानी र उत्पादन खर्च मिलाएर बढी लागत भए पनि सेवाको भावनाले काम गरिरहेको दाबी गर्दै उनले भने, ‘सिलिण्डरको धरौटीमा एक वर्ष अगाडिसम्म हामीले ७०/७५ डलरमा ल्याउँथ्‍यौं, अहिले ९५ डलरमा पाउँछौं। त्यसमा ढुवानी खर्चसमेत लगाएर प्रतिसिलिण्डर खर्च नै २२ देखि २४ हजारसम्म पर्ने भएको  हुँदा अलिक महँगो हुन गएको हो।’

अक्सिजन ग्यासको अभाव र कालोबजारी बारे कुनै किसिमको अहिलेसम्म गुनासो तथा उजुरी नआएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। प्रजिअ बास्तोलाले अक्सिजनमा कालोबजारी हुन नदिन कडा निगरानी गरिएको बताए। उनले धनुषाका ग्यास उत्पादन गर्ने तीन वटै उत्पादक कम्पनी र सप्लायर्सलाई निगरानीमै राखेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.