|

गोरखा : गण्डकी प्रदेश सरकारमा नयाँ सरकार गठनका लागि राजमो निर्णायक भूमिकामा छ। राजमोको केन्द्रीय चित्रबहादुर केसीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन सहयोग गर्न आफ्ना सांसदलाई निर्देशन दिइसकेका थिए।

तर, तीन सांसद रहेका राजमोका दुई सांसद केन्द्रको निर्णयप्रति असन्तुष्ट छन्। खिमविक्रम शाही र कृष्ण थापा गुरुङ नेतृत्वकै सरकार कायम हुनुपर्छ भन्ने पक्षमा छन्। तर, समानुपातिक सांसद पियारी थापा भने नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउन हतार गरिरहेकी छन्।

राजमोकी सचेतकसमेत रहेकी सांसद पियारीले आज आफ्ना दुई सांसदलाई ह्विप जारी गर्दै नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न निर्देशन दिइन्। संविधानको धारा १६८ (२) बमोजिम भोलिसम्म जुनसुकै दलले बहुमतको हस्ताक्षर गराएर नयाँ सरकारका लागि प्रक्रियमा जानु पर्नेछ।

तर, राजमोका सांसद शाही र थापा भने हस्ताक्षर गर्न आनाकानी गर्दै छन्। उनीहरूले हस्ताक्षर नगरे पुनः पृथ्वीसुब्बा गुरुङ नेतृत्वकै सरकार बन्ने निश्चित छ। यसै सन्दर्भमा रहेर राजमोका संसदीय दलका नेता कृष्ण थापासँग थाहाखबरकर्मी अश्विन दानीले गरेको कुराकानी

तपाईंहरूले बहुमतका लागि हस्ताक्षर गर्न आनाकानी गरेको भएर सचेतक पियारी थापाले ह्विप जारी गर्नुभएको छ रे नि?

सचेतकहरूले सदस्यहरूलाई ह्विप जारी गर्ने कुरा त होला। तर, संसदीय दलको नेतालाई ह्विप जारी गरेको मलाई अनुभव छैन। म पन असाध्यै नयाँ हुँ, मेरो अनुभव पनि तीन वर्षको मात्रै हो।

उहाँले त्यस्तो किन गर्नुभएछ भने उहाँ अलिक बढी जान्ने भएर गर्नुभएको होला। एकपटक उहाँलाई सोध्नु न।

पार्टीको ह्विप जारी गर्दा बैठक बस्छ नि, तपाईंहरूको बैठक बसेन र?

अब, आजभोलि हाम्रो बैठक बसेको छैन। उहाँ आफैँ कोरोना पोजेटिभ हुनुहुन्छ। त्यसैले बैठक बसेको छैन। आजभन्दा १२-१३ दिनअघि बैठक बसेका थियौँ। त्यो बैठकमा पनि हस्ताक्षर संकलन गर्ने कुरा उठेको हैन। खै के हो?

बैठक नबसे पनि उहाँलाई कोरोना पोजेटिभ भएकाले टेलिफोनमा कुराकानी, छलफल भएर ह्विप जारी भएको हो त?

हैन, टेलिफोनमा पनि केही कुरा भएको छैन। बैठक पनि बसेका छैनौँ। पहिला अविश्वासको प्रस्ताव सदनमा पेस हुँदा हामीले त्यसबेला एउटा निर्णय गरेका थियौँ। अब अहिले यो राजीनामापछि नयाँ सरकारका लागि बहुमत पुर्‍याएर आइज भन्नुभएको छ। यस सन्दर्भमा हामीले निर्णय गरेका छैनौँ।

पियारी मान्यज्यूले एक पटक बैठक बस्ने अनि त्यही बैठकको निर्णय सधैंलाई काम लाग्नेजस्तो गर्नुभएछ। त्यसो नगर्नुभएको भए पनि हुन्थ्यो।

अब भोलिसम्म बहुमतको हस्ताक्षर गरेर नयाँ सरकारको प्रक्रियामा जानुपर्नेछ। माओवादी, कांग्रेस र जसपा तपाईंहरूकै हस्ताक्षर प्रतीक्षामा छन् नि?

प्रतीक्षामा बसेका छन्, कुरेर बसेका छन् अथवा के गर्‍या छन्। त्यो उहाँहरूले जान्ने कुरा हो। मसँग त उहाँहरूको त्यति वार्तालाप पनि भएको छैन। पहिले-पहिले भाथ्यो अहिले भएको छैन। अब यहाँ सचेतकहरूसँग कुरा गर्नुभयो होला। उहाँले त्यसको तयारी गरे'नि हुन्छ भन्नुभयो होला। त्यही भएर होला उहाँहरू कुरेर बस्नु भएको, प्रतिपक्षमामा बस्नु भएको।​

तपाईंहरू निर्णायक हुनुहुन्छ। ठ्याक्कै भन्नुपर्दा अब तपाईंहरू कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेर बहुमत दिने कि नदिने?

अहिले त्यस्तो केही नयाँ मोड छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.