|

दाङ : दाङमा क्रियाशिल राजनीतिक दलहरुले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
सोमबार घोराहीमा बसेको क्रियाशिल राजजीतिक दलहरुको संयुक्त बैठकले यस्तो अनुरोध गरेको हो। कोरोना महामारीको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा जनतालाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन दलहरुले आग्रह गरेका छन्।

बैठक पछि पाँच राजनीतिक दलले संयुक्तरुपमा विज्ञप्ति जारी गरी जिल्लाका सबै पालिकाहरुमा अक्सिजन सहितका आइसोलेशन बेडहरुको व्यवस्था गर्न अनुरोध गरेका छन्।
यस्तै पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्ने सहज व्यबस्था मिलाउन, निस्शुल्क परीक्षण एवम् उपचारको व्यबस्था मिलाउन विज्ञप्ति मार्फत आग्रह गरिएको छ।
अक्सिजनको अभावले उपचारमा समस्या भएको हुँदा तत्काल सहज आपुर्ति मिलाउन समेत अनुरोध गरिएको छ। त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गतवर्ष नै स्थापना गरिएको आइसियू अहिलेसम्म पनि संचालन नहुँदा त्यसलाई तत्काल संचालन गर्नुपर्ने, आइसियू बेड थप गर्नु पर्ने माग गरिएको छ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण रुपमा कोरोना अस्पताल बनाउन माग गरिएको छ। नेकपा एमाले दाङका उपसचिव शुरामणि बेलवासे, नेपाली कांग्रेस दाङका सचिब शंकर डाँगी, नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज जिवन गौतम र  सचिव सुवास पुन, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आर्चाय र जनता समाजवादी पाटी लुम्बिनी प्रदेश सदस्य प्रकाश विष्टले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

जिल्लामा सोमबार ३९८ जना कोरोना संक्रमित थपिएका छन् भने ७६ जना निको भएर डिस्चार्ज भएका छन्। जिल्लामा दोस्रो चरणको कोरोना लहर शुरु भएसँगै बैशाखयता कोरोना संक्रमितको सख्या ३ हजार पाँचसय ६६ पुगेको छ।

यस्तै सक्रिय संक्रमितको संख्या दुई हजार दुईसय २९ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ। यस्तै सोमबार जिल्लामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।
यो सँगै बैशाखयता मृत्यु हुनेहरुको संख्या ७२ पुगेको छ। त्यस्तै जिल्लामा निको हुनेको संख्या एक हजार तीन सय ३७ पुगेको केन्द्रले जनाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.