|

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकाले २० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजिनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो।

वडा नम्बर ७ पोर्ताहामा यसै वर्ष निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल सञ्चालनका लागि नगरपालिकाले एकजना एमबिबिएस डाक्टर, एकजना स्टाफ नर्स, दुईजना कार्यालय सहयोगी र एकजना नगर प्रहरी खटाएको नगर प्रमुख रामबाबु यादवले जानकारी दिए। आवश्यक परे जनशक्ति थप गर्ने उनले बताए।

'अघिल्लो वर्ष ६ वटा क्वारेन्टाइन सञ्चालन गरेर कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको प्रयास गरेका थियौं‚' नगर प्रमुख यादवले भने, 'यस पटक अस्पतालमा १३ वटा अक्सिजिन सिलिण्डर तयारी अवस्थामा छ। बिरामीलाई निःशुल्क औषधि र खानपिनको समेत व्यवस्था गरेका छौं।'

कोरोना संक्रमण तीब्र गतिमा बढिरहेकाले थप आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था समेत गर्न लागिएको उनले बताए। नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण सुरु गरेको छ। दुई दिनमा ७६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुरमा पठाएको स्वास्थ्य इन्चार्ज श्याम रायले जनाए।

नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा हाल एकजना संक्रमित छ। पाँचजना संक्रमित होम आइसोलेसनमा रहेको इन्चार्ज रायले बताए। होम आइसोलेसनमा रहेका संक्रमितलाई औषधोउपचारका लागि दिनहुँ चिकित्सक पठाउने गरेको उनको भनाइ छ। यस्तै‚ संक्रमितलाई ओसारपसारका लागि एउटा एम्बुलेन्स तयारी अवस्था राखिएको र थप चारवटा एम्बुलेन्सलाई नियमित सम्पर्कमा राखेको स्वास्थ्य रायले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.