संक्रमितका आफन्त अक्सिजन खोजी गर्दै उद्योगमै लाइन बस्‍न थाले

|

धनगढी : टीकापुर अस्पतालमा उपचाररत संक्रमितमध्ये गएको दुई दिनमा १० जनाको मृत्यु भइसकेको छ। 

अस्पतालमा १३ जना कोभिड–१९ एचडियुमा भर्ना छन्। ३५ जना शंकास्पद संक्रमित डाक्टरको निगरानीमा छन्। अस्पतालमा शय्या अभाव हुँदा उनीहरूको अस्पताल बाहिर आँगनमा राखेर उपचार भइरहेको छ।

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल भन्छन्, ‘समुदायमा संक्रमण फैलिसकेको छ। जटिल संक्रमितलाई बचाउन कठिन छ।’ संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। ‘अहिलेसम्म जसोतसो गरी काम चलाइरहेका थियौँ, अब त अक्सिजन नै सकिन लाग्यो,’ उनले भने।

धनगढीमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र मालिका अक्सिजन उद्योग छ। त्यो उद्योगमा दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने क्षमता भए पनि मुस्किलले १ सय ५० सम्म उत्पादन भइरहेको छ।

पहाडी जिल्लामा झनै समस्या

शुक्रवार बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो। अघिल्लो दिन कोरोना पुष्टि भएर जिल्ला अस्पतालमा उपचार गराइरहेका उनको थप उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

अस्पतालमा आईसीयु र भेन्टिलेटर छैन। ‘आइसियु र भेन्टिलेटर भएको भए उहाँको ज्यान जोगाउन सकिने थियो,’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने। कोरोनाको दोस्रो लहरबाट जिल्लामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ। कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला जिल्लामा उपचारका स्रोतसाधनको अवस्था भने चिन्ताजनक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले स्वीकारे।

एक सातादेखि बिरामी रहेका बाजुराको बडीमालिका नगरपालिका ९ का वडाध्यक्ष विनोदकुमार विक शनिवार जिल्ला अस्पताल गए। उनलाई शनिवार नै कोरोना संक्रमण पुष्टि भयो। त्यो बेला सम्म उनको अवस्था जटिल भइसकेको थियो। तत्काल भेन्टिलेटर आवश्यक पर्‍यो। तर, अस्पतालमा भेन्टिलेटर थिएन।

अस्पतालले उनलाई धनगढी लैजान सुझाव दियो। परिवारका सदस्यहरूले त्यसै गरे। अन्ततः उपचारको लागि डडेल्धुरा लैजाने क्रममा अछामको साँफेबगरमा उनको मृत्यु भयो।

‘अक्सिजनसहित भेन्टिलेटर भएको भए सायद उहाँ बाँच्नुहुन्थ्यो होला,’ जिल्ला अस्पतालका फोकल पर्सन चुणामणि पन्तले भने, ‘उपकरण प्रयोग नहुँदा उहाँको ज्यान गयो।’

जिल्ला अस्पतालमा उपकरण नभएको होइन। तर, प्रयोग भएको छैन। जनशक्ति नभएको भन्दै अस्पतालले आइसियु र भेन्टिलेटर थन्क्याएर राखेको छ। सोमबार बिहान पनि जिल्ला अस्पतालका २ जना संक्रमितले ज्यान गुमाएका छन्। अहिले अस्पतालमा भएका उपकरणहरू प्रयोगविहीन हुँदा जटिल प्रकारका संक्रमितहरूलाई बचाउनै समस्या देखिएको छ।

यो समस्या बाजुराको मात्रै होइन। कैलालीको सेती अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पतालबाहेक सबै ६ जिल्ला अस्पतालहरूमा यस्तै अवस्था छ।

सुदूरपश्चिम प्रदेशमा प्रत्येक दिन १० जनाभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ। आइतबार यो संख्या बढेर १८ पुगेको छ। हाल सम्म प्रदेशमा २०८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। २४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ।

यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चरणको कोरोना महामारीका बेला उपलब्ध गराएको भेन्टिलेटर र आइसियु शय्या अहिले पनि प्रयोगविहीन छन्।

विशेषज्ञ चिकित्सक नै कम रहेको सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिएकाले जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियनसमेत छैनन्।

पछिल्लो समय लक्षण सहितका जटिल खालका संक्रमितको संख्या बढिरहेका हुँदा ठूलो समस्या उत्पन्न हुन थालेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा। शेरबहादुर कमरले बताए।

‘समुदायमा महामारी फैलिएपछिको जटिल अवस्थाको अनुमान गरेर पूर्वाधार, आइसियु र भेन्टिलेटर थप गर्ने व्यवस्थापनको गरिनु आवश्यक छ,’ उनले भने।

अक्सिजनको खोजीमा भौतारिँदै संक्रमितका आफन्त

धनगढीमा अक्सिजन ग्यासको चरम अभाव भएको छ। कोरोना संक्रमितका लागि अत्यावश्यक चाहिने ग्यासको चरम अभाव भएपछि बिरामी मारमा परेका छन्। सुदूरपश्चिमको एक मात्रै मालिका अक्सिजन ग्यास उद्योगमा सोमबार राति ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन पनि बन्द भएको छ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएपछि फेरि अक्सिजन ग्यासको अभाव चुलिएको छ। संक्रमितका आफन्त अक्सिजनको खोजी गर्न  ग्यास उद्योगमै पुग्ने गरेका छन्।

मंगबार मात्रै कोरोना संक्रमितका आफन्तहरू ग्यास खोज्नका लागि ग्यास उद्योगमै लाइनमा बसी ग्यासको पर्खाइमा बसेका थिए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै त्यसको प्रत्यक्ष असर कैलालीमा पनि परेको छ। अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितले भरिभराउ छन्। भने यहाँका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार भइरहेको छ।

उनीहरूलाई अक्सिजन आवश्यक पर्ने भए पनि नपाउँदा अकालमै ज्यान गुमाउन बाध्य छन्। संक्रमितका आफन्त ग्यासको जोहो गर्नकै लागि ग्यास उद्योगमा तीन-चार दिनसम्म पनि लाइनमा बस्नु परेको गुनासो गर्दै आइरहेका छन्।  

कोरोनाको स्थिति भयावह हुँदासमेत प्रदेश सरकार मौन बसेको समेत उनीहरूले आरोप लगाएका छन्। दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आइरहेको मालिका अक्सिजन ग्यास उद्योग अत्यधिक तापका कारण बिग्रिएको छ। यसले थप संकट आएको छ।  

अहिले मर्मत गर्न भारतको दिल्लीबाट सामान र मिस्त्री ल्याउन पहल भइरहेको मालिका अक्सिजन ग्यास उद्योगले जनाएको छ। 

प्रदेशको रेफरल अस्पताल सेतीमा छैनन् विशेषज्ञ, आवेदन पनि पर्दैन

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल हो, सेती प्रादेशिक अस्पताल। यहाँ प्रदेशकै सबैभन्दा धेरै संक्रमितको उपचार हुन गरेको छ। तर, सीमित उपकरण हुँदा यहाँ पनि समस्या छ। अस्पतालका कोरोना संक्रमितका लागि भनेर ५ वटा भेन्टिलेटर प्रयोगमा ल्याइएको छ।

आइतबार साँझसम्म अस्थायी कोरोना अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। १८ जना आइसियुमा छन्। २६ जनालाई अक्सिजन दिएर राखिएको छ। ५ जना मोड्रेटमा छन्।

कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले चाहिने जनशक्ति थप गर्न थालेको छ। तर, विशेषज्ञ डाक्टरको लागि कसैले आवेदन दिएका छैनन्।

२ जना जना बालरोग विशेषज्ञ, ३ जना फिजिसियन, १ जना मानसिक रोग विशेषज्ञ, १ जना कन्सल्टटेन्ट मेडिकल जनरलिष्ट र १ जना माइक्रो बायोलोजिष्ट कन्सल्टटेन्ट माग गरिएकोमा आवेदन नपरेको अस्पतालका प्रशासन अधिकृत दिलीपसिंह साउदले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.