|

नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।

नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा॥

कोभिड-१९ को आतंकबीच हामीले मातातीर्थ औँसी अर्थात्‌ आमाको मुख हेर्ने पर्व मनायौँ। कोरोनाले माया गरिरहेको छैन आश्रय खोस्दैछ र हरेक मानिसलाई असुरक्षित महसुस गराइरहेको छ।

आमा समान कुनै छाया छैन, कुनै आश्रय छैन, कुनै सुरक्षा छैन। आमा समान यो विश्वमा कोही जीवनदाता छैनन्। अर्थात्, मृत्यु अनेक माध्यमबाट हुन सक्छ। तर, जीवनको लागि आमा नै चाहिन्छ। तर, जीवन दिएर काखमा लिन नपाई यो संसारबाट बिदा लिएकी आमाका सन्तानले आमाको मातृत्व कोबाट पाउँछन्?

एउटा अन्तरराष्ट्रिय विद्यालयको बगैँचामा बोटबिरुवालाई पानी दिइरहेका थिए गंगाराम। यति मस्त र आनन्दसाथ काम गरिरहेका थिए कि घाम, धुलो, फोहोर कुनै चिजले उनलाई असर गरेको जस्तो देखिँदैनथ्यो। ​एकजना कर्मचारी गंगारामको छेउमा एक्कासी आएर भने, 'गंगाराम! तिमीलाई प्राचार्य म्याडमले बोलाउनुभएको छ, अहिले नै उहाँको कार्यकक्षमा जाऊ रे!'

अन्तिम दुई शब्दले उनलाई हतास बनायो। हतारऔहतार नुहाई-धुवाई सफा भएर प्राचार्यको कोठातिर लागे। बगैंचाबाट अफिससम्मको पैदलयात्रा कहिल्यै अन्त्य नभएको जस्तो लाग्यो उनलाई।

मुटु कापेर उनको मुटु लगभग छातीबाट बाहिर उफ्रँदै थियो। एक इमान्दार कामदार थिए उनी, कहिल्यै आफ्नो कर्तव्यहरूबाट टाढा नहुने, तैपनि म्याडमले किन बोलाउनुभयो? के गल्ती भएछ मबाट? प्रश्नै प्रश्नले थिच्न थाल्यो उनलाई।

ढोकामा पुगेर डराउँदै उनले सोधे, 'म्याडम! हजुरले मलाई बोलाउनुभएको हो?'

'भित्र आउनुहोस्,' एक उच्च आधिकारिक आवाजले गंगाराममा थप डर सृजना गर्‍यो तिलचामले कपाल भएकी, सिल्कको सारी सपक्क पारेकी, चस्माले नाकमा टेकेर आराम लिइरहेजस्तो एउटा भद्र व्यक्तित्वका अघि गंगारामले केही सोच्नै सकिरहेका थिएनन्‌। म्याडमले टेबलमा भएको एउटा कागजतिर देखाउँदै भनिन्, 'बस्नुस, अनि त्यो पढ्नुस्!'

'म्याडम ! म एक अशिक्षित व्यक्ति हुँ, कसरी यो अंग्रेजीमा लेखेको कुरा पढ्न सक्छु र? मबाट के गल्ती भयो? मलाई एक पटकको लागि माफ गरिदिनुस्, अनि मेरी छोरीलाई हजुरहरूले नि:शुल्क पढाइ दिनुभएको छ। उसले केही गल्ती गरेकी छ भनेपनि मलाई सजाय दिनुहोला। म हजुरप्रति सधैँ आभारी छु।'

गंगाराम भन्दै गए-

मेरी छोरीको यो शिक्षा र यो जीवन मैले कल्पना पनि गरेको थिइनँ। यसलाई त हजुरहरूले नै साकार पारिदिनुभएको हो नि!' मानौं उनलाई काम ज्वरो छुटिसकेको थियो, धेरै अत्तालिए।

प्राचार्य मुसुक्क मुस्कुराइन्‌ र भनिन्, 'पर्खिनुस्, तपाईं डराउनु पर्दैन। एकजना शिक्षिका आएर यो चिठ्ठी पढिदिनुहुनेछ।'

नभन्दै शिक्षिका आइन्। चिठ्ठी पढ्न थालिन्, 'आज आमाको मुख हेर्ने दिन, आमाबारे लेख्न लगाइयो हामीलाई।'

'म सुदूर गाउँमा जन्मेकी एक बालिका, जहाँ शिक्षा, स्वास्थ्य, अस्पताल र डाक्टरको सुविधा आजको दिनसम्म पनि कल्पना नै कुरा मान्दा हुन्छ। धेरै महिलाहरू बच्चा जन्माउने बित्तिकै मृत्युको मुखमा पुग्छन् भने धेरै आमा बाँचेर बच्चाहरूले जीवन नपाउँदै मृत्यु भोगिसकेका हुन्छन्।

मेरी आमा पनि तीमध्ये एक हुनुहुन्थ्यो। उहाँले मलाई पनि जन्म त दिनुभयो, तर, आफ्नो काखमा राख्न नपाउदै यो संसार छोडेर जानुभयो। मेरो बुबा त्यो क्षणमा कति दुखी हुनुभयो होला।

मेरो बुबा पहिलो व्यक्ति हुनुहुन्थ्यो-जसले मलाई समात्नुभयो, काखमा राख्नुभयो। आमाले झैं न्यानो दिने कोशिस गर्नुभयो। तुरुन्त पुन:विवाह गर्न भनियो, तर उहाँले अस्वीकार गर्नुभयो। मेरो हजुरबा, हजुरआमा, परिवारजन र उहाँका साथीहरू सबैले अनेक तार्किक, तर्कहीन र भावनात्मक कारणहरू दिएर उहाँलाई जबरजस्ती गरे। तर, उहाँ पटक्कै विचलित हुनुभएन। उहाँको मन परिवर्तन भएन। यो स्कूलले उहाँलाई आश्रय, सम्मान र सबैभन्दा ठूलो उपहार दियो, उनकी छोरीलाई प्रवेश दियो। नि:शुल्क शिक्षा दियो, हेरचाह गर्यो र जीवन गुजारा गर्ने माध्यम पनि बन्यो। प्रेम र हेरचाहले एक आमाको परिभाषा गर्दछ भने मेरो बुबा यसको लागि दक्ष हुनुहुन्छ।

अनुकम्पाले एउटी आमालाई परिभाषा गर्दछ भने, मेरो बुबा पनि त्यस श्रेणीमा राम्रोसँग पर्नुहुन्छ। बलिदानले एउटी आमालाई परिभाषा गर्दछ भने, मेरो बुबा त्यो वर्गमा अब्बल हुनुहुन्छ। त्यसैले एक आमालाई प्रेम, हेरचाह त्याग र करुणाकी प्रतीक मानिन्छ भने मेरो बुबा त्यो श्रेणीमा र यो पृथ्वीमा सबैभन्दा राम्रो आमा हुनुहुन्छ।

आमाको मुख हेर्ने दिनमा म मेरो बुबालाई पृथ्वीको सर्वश्रेष्ठ अभिभावकको रूपमा सम्मान गर्न चाहन्छु। म उहाँलाई अभिवादन गर्छु र गर्वका साथ भन्छु कि यस विद्यालयमा काम गर्ने मेहनती माली मेरा बुबा हुनुहुन्छ।

मलाई थाहा छ कि मेरो शिक्षकले यो निबन्ध पढेपछि यो परीक्षामा मलाई विफल बनाउन सक्नुहुन्छ। तर, यो मेरो बुबाको नि:स्वार्थ प्रेमको लागि एउटा बुबाको ऋण तिर्न पनि एकदम सानो मूल्य हुनेछ।'

कोठाभित्र एक चुपचाप सन्नाटा, हृदयको संवेदना र भावले ओतप्रोत वातावरण थियो। केवल, गंगारामको सानो सुस्केरामात्र सुन्न सकिन्थ्यो।

चर्को घामको पसिनाले पनि आफ्नो लुगा भिजाउन सकेको थिएन गंगारामको। तर, उनको छोरीको कोमल शब्दले उनको छाती आँसुले भरिदियो। उनी नि:शब्द भए, उनले शिक्षकको हातबाट कागज लिए र त्यसलाई आफ्नो छातीमा टाँसेर सकेकोजति रोए।

प्राचार्य म्याडमले एक गिलास पानी ल्याएर उनको हातमा दिइन्, 'गंगारामजी! पानी पिउनुस्।'

त्यति ठूलो व्यक्तिले उनलाई गरेको सम्मान र बोलीको मिठासले उनी नतमस्तक भए। प्रेम, करुणा र आत्मियता महसुस गरे, अनि लामो गहिरो स्वास लिएर पानी पिए।

प्राचार्यले भनिन् -

'गंगारामजी! आमाको बारेमा लेखिएको यो निबन्ध अहिले सम्मको उत्कृष्ट निबन्ध हो। तपाईंकी छोरीले यसमा १०० मा १०० नै अंक प्राप्त गरेकी छन्। भोलि विद्यालयले मातृ दिवस मनाउन गैरहेको छ, यो निबन्धलाई हामी पुरस्कृत गर्नेछौं। र, विद्यालय व्यवस्थापन समितिले तपाईंलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्ने निर्णय गरेको छ। तपाईं हाम्रो निमन्त्रणालाई स्वीकार गर्नुहुन्छ नि?'

यो सबै प्रेमको सम्मान गर्न हो र एक व्यक्तिले आफ्ना छोराछोरी हुर्काउन गर्नसक्ने बलिदानहरू के हुन सक्छन् भन्ने तपाईं एउटा उदाहरण हुनुहुन्छ। पूर्ण अभिभावक हुन महिला हुनुपर्दैन भन्ने अर्को उदाहरण र सबैभन्दा महत्त्वपूर्ण कुरा त यो हो कि तपाईंमा आफ्नी छोरीको विश्वासलाई साथ दिने दृढ संकल्प छ।

एउटी छोरीलाई गर्वका साथ बाँच्न सिकाउने क्षमता छ। तपाईंकी छोरीले भने जस्तै पृथ्वीमा सबैभन्दा उत्तम अभिभावक कसरी बन्न सकिन्छ-त्यो सन्देश विद्यालय परिवार र सबैलाई दिन चाहन्छौँ।

तपाईंलाई आजसम्म हामीले यो हाम्रो विद्यालयको सुन्दर बगैंचाको फूलहरू हुर्काउने र स्याहार गर्ने मालीको रूपमा चिनेका थियौं। तर, आज थाहा पायौं-तपाईंको जीवनको सबैभन्दा बहुमूल्य फूललाई यति सुन्दर तरिकाले प्रेम दिँदै, हेरचाह गर्दै हुर्काउनुभएको रहेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.