सर्लाही : सर्लाही प्रहरीले १ सय २२ थान अक्सिजन सिलिण्डर जम्मा पारेको छ।
जिल्लाको तीन वटा चिनी उद्योगमा रहेका ८० वटा भरिएका र ४२ वटा खाली अक्सिजन सिलिण्डर जम्मा पारिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।
उनका अनुसार इन्दुशंकर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहमा रहेका अक्सिजन सिलिण्डर जम्मा गरिएको हो।
ती सिलिण्डर जिल्लाका जुनसुकै ठाउँका कोरोना संक्रमितलाई आवश्यक पर्ने बित्तिकै तुरुन्त पुर्याउने गरी हाल हरिवनस्थित इलाका प्रहरी कार्यालयमा राखिएको राठौरले बताए।
संक्रमणको अवस्था सामान्य बन्दै गएपछि फिर्ता गर्ने हिसाबले अक्सिजन सिलिण्डर हुनसक्ने अन्य ठाउँ पनि खोजी भइरहेको उनले जानकार दिए। सिलिण्डरको जोहोसँगै स्थानीय प्रशासन अहिले आइसोलेसनको व्यवस्थापनमा समेत सक्रिय भएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सदरमुकाम मलंगवा, लालबन्दी, हरिवनलगायत स्थानमा आइसोलेसन निर्माणको काम जारी रहेको जानकारी दिए।
जिल्लाको उत्तरी भेगका स्थानीय तह आइसोलेसन बनाउने तयारीमा जुटे पनि एमबिबिएस डाक्टरको व्यवस्था नरहेको दक्षिणी भेगका ग्रामीण पालिकालाई आइसोलेसन तयार गर्न समस्या छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।