|

जनकपुरधाम : कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएपछि प्रदेश २ सरकारले  १०० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरेको छ। 

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित मणिपाल अस्पतालमा भवनमा अस्पताल निर्माण सुरु गरिएको हो। उक्त भवन वर्षौंदेखि निर्माण रोकिएको थियो।

प्रदेश सरकारले गत वर्ष नै कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरे पनि ठाउँ खोज्नेबाहेक काम भएन। सरकारको चौतर्फी आलोचना र कोरोनाको दोस्रो लहर आएपछि अस्पताल निर्माण कार्य पुनः अगाडि बढाइएको छ।

मुख्यमन्त्रीको प्राविधिक सल्लाहकार तथा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इन्जिनियर भगवान झाले अस्पतालको निर्माणका लागि छोटो प्रक्रियामार्फत टेन्डर आह्वान गरी दुई सिफ्टमा निर्माणको काम गर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

‘तीन करोड २५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको कोरोना अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि सबै प्रकारको सुविधा उपलब्ध हुनेछ,’ इन्जिनियर झाले भने, ‘२० शय्याको आइसियुसहितको संरचनाका निर्माण कार्य १५ दिनमा नै सकिने गरी काम अगाडि बढाइएको छ।’

भवनमा झ्याल, ढोका, पार्टेसन, वायरिङ, प्लम्बिङ, फल्सको दलान, केही ठाउँमा प्लाष्टर, रङरोगनसहितको काम गरिने झाले बताए।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले नयाँ सञ्चालन हुने यस कोरोना अस्पतालका लागि जनशक्तिको व्यवस्थापनका गर्न सरकारले गृहकार्य अगाडि बढाइसकेको जनाएको छ। मुख्यमन्त्री लालबाबु राउतले नयाँ कोरोना विशेष अस्पतालको निर्माणपछि यस क्षेत्रका जनतालाई ठूलो राहत हुने बताए।

मणिपाल शिक्षण कलेजको उक्त निर्माणाधीन संरचना जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले संक्रामक ऐनअनुसार अधीनमा लिएर प्रदेश सरकारलाई कोरोना अस्पताल निर्माणका लागि अधिकार प्रदान गरेको छ। अहिले प्रदेश सरकारले प्रादेशिक अस्पतालभित्र रहेको प्रादेशिक कोरोना विशेष अस्पताल सञ्चालन गरे पनि सो अस्पतालको अवस्था अस्तव्यस्त रहेको छ।

जनकपुरधामको प्रादेशिक कोरोना विशेष अस्पताल डेडिकेटेड अस्पताल भएकाले कोरोनाका गम्भीर बिरामीहरूको उपचार हुने गरेको छ। ३२ शय्याको अस्पतालको सबै शय्या संक्रमित बिरामीले भरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.