|
फाइल फोटो

सल्यान : नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको दोस्रो लहर बढ्दै जान थालेपछि सल्यानका सबै स्थानीय तहहरुले अक्सिजनसहितको आइसोलेसन निर्माण सुरु गरेका छन्। कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लाका दशवटै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन निर्माणलाई तिव्रता दिएका हुन्।

शारदा नगरपालिकाले नेपाली सेना र जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा जिल्ला अस्पताल सल्यानमा २० शय्याको अस्थायी आइसोलेसन निर्माण गरिरहेको छ। जतिसक्यो छिटो काम सक्ने गरी नेपाली सेनाले आइसोलेसन निर्माण गरिगरेको नगरप्रमुख सुरेश अधिकारीले बताए।

यस्तै, बनगाड कुपिण्डे नगरपालिकाले १० शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ। गत वर्ष १०० शय्याको आइसोशन निर्माण गरेको नगरपालिकाले बिरामीको चापअनुसार शय्या थप्दै जाने स्वास्थ्य शाखा प्रमुख बासु पोख्रेलले बताए। समय समयमा जाने विद्युतको आपूर्तिलाई नियमित गर्न जेनेरेटरको व्यवस्था गर्नुका साथै ६ जना नयाँ स्वास्थ्यकर्मी नियुक्तिको अन्तिम चरणमा रहेको उनले जानकारी दिए।

यस्तै, बागचौर नगरपालिकाले नयाँ भवनमा २५ शय्याको आइसोलेसन निर्माण गरिरहेको छ। केही दिनमै आइसोलेसन सञ्चालनमा आउने उपप्रमुख कल्पना पुनले बताइन्। कोरोना संक्रमितलाई लक्षित गरी नगरपालिकाको गाडी, एम्बुलेन्स र एक निजी गाडी तयारी अवस्थामा राखिएको उनले जानकारी दिइन्। सम्बन्धित वडाको समन्वयमा जिल्ला अस्पताल सल्यानसम्म पुग्न नगरपालिकाले निःशुल्क गाडीको व्यवस्था गरेको छ।

कुमाख गाउँपालिकाले १५ शय्याको आइसोलेसन निर्माण गरेकोछ। जसमध्ये पाँच शय्यामा अक्सिजनको व्यवस्था रहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगरले जानकारी दिइन्। बिरामीको चापअनुसार शय्या थप गर्दै जाने उनले बताइन्।

कपुरकोट गाउँपालिकाले पाँच शय्याको अक्सिजनसहितको ३० शय्याको आइसोलेसन निर्माण गरेको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निर्माण गरिएको आइसोलेसनमा पाँच संक्रमितको उपचार भइरहेको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए।

कालीमाटी गाउँपालिकाले गत वर्ष नै निर्माण गरेको पाँच शय्याको कोरोना अस्थायी अस्पतालमा १० शय्या थप गरी १५ शय्याको कोभिड अस्पताल बनाएको छ। केही दिनमै दुई शय्यामा अक्सिजन राख्न माग गरिएको स्वास्थ्य शाखा प्रमुख गोरख थापाले बताए। त्रिवेणी गाउँपालिकाले भने गत वर्ष नै निर्माण गरेको पाँच शय्याको कोभिड अस्पताललाई निरन्तरता दिएको छ।

छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाले २०/२० शय्याको आइसोलेसन निर्माण गरेका छन्। छत्रेश्वरी गाउँपालिकाले भोटेचौरमा पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन छ। दार्माले फारुलामा निर्माण गरेको छ।

जिल्ला अस्पताल सल्यानमा १६ शय्याको आइसोलेसन छ। तर, अहिले २४ जनाको उपचार भइरहेको छ। आइसोलेसन बिरामीले भरिएपछि आकस्मिक कक्षमा समेत राखेर संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.