|

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा अक्सिजनको चरम अभाव भएको छ। कोरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका बिरामीको उपचाररत जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ।  

अस्पतालमा  १९ वटा मात्रै सिलिण्डर रहेका र ती सिलिण्डरले संक्रमितको उपचारका लागि निकै कम भएका जनाइएको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीका अनुसार अस्पतालमा रहेका १९ सिलिण्डरमध्ये पनि ८ वटा अक्सिजन भर्न लागि धनगढी पठाइए पनि त्यहाँ रहेको ग्यास प्लान्ट बिग्रिँदा समस्या भएको छ। ‘अस्पतालमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ,’ उनले भने, ‘थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था छैन।’

अक्सिजन अभावकै कारण जिल्ला अस्पतालमा आउने बिरामीलाई रेफर गर्नुपर्न अवस्था छ। अस्पतालमा हाल १४ जना कोरोनाका जटिल खालका बिरामी छन्। उनीहरु सबैको अक्सिजनको सपोर्टमा उपचार भइरहेको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीलाई अब भर्ना गर्न नसकिने र रेफर गर्नुको विकल्प नभएको डा. जोशीले  बताए।  

‘अक्सिजन कतैबाट आपुर्ति भइरकेको छैन,’ उनले भने, ‘जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसँगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नु परेको छ। अस्पतालसँग भएका अक्सिजन सिलिण्डरहरु खाली भएका छन्। कसैसँग अक्सिजनका सिलिण्डर भए अस्पताललाई दिन आग्रह छ।’

उता सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाख रुपैयाँ बजेट उपलब्ध गराए पनि प्लान्ट स्थापनामा ढिलाइ हुने भएको छ। टेण्डर प्रक्रियाबाट प्लान्ट स्थापना हुने भएकाले स्थापनामा ढिलाइ हुने देखिएको हो। डा. जोशीले भने, ‘प्लान्ट स्थापनाका लागि बजेट आए पनि सञ्चालनमा आउन दुई महिना लाग्छ।’

अक्सिजनको चरम अभाव भइरहेको बेला प्लान्ट स्थापना गर्न ढिलाइ गर्न नहुने सरोकारवालाको जोड रहेको छ। बैतडीमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला जिल्ला अस्पताल बैतडीमा प्रदेश सरकारको सहयोगमा गत मंसिरमा जडान भएको भेन्टिलेर मेसिन फिर्ता हुने भएको छ। दक्ष जनशक्ति अभाव रहेकाले जडान गरिएको भन्टिलेटर मेसिन सुदूरपश्चिम प्रदेश सरकारले फिर्ता मागेको डा. जोशीले बताए। 

प्रदेश सरकारले जनशक्ति व्यवस्था गर्नुपर्ने बेला भेन्टिलेटर फिर्ता मागेको भन्दै आलोचना भएको छ। नेपाली कांग्रेस बैतडीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर भेन्टिलेटर मेसिन सञ्चालन गर्न आवश्यक जनशक्ति थप गर्न माग गरेको छ। 

बैतडीमा हाल ६४७ जना कोरोना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणबाट नौजनाको मृत्यु भइसकेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.