कांग्रेसले समृद्धि ल्याएन, दु:खमात्रै दियो, त्यसैले मत दिन्नँ

|

पर्वत : पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढाल्न र नयाँ सरकार बनाउन निर्णायक भूमिकामा राष्ट्रिय जनमोर्चा (राजमो) छ। गण्डकी प्रदेश सभामा राजमोका तीन सदस्य छन्‌। तर, उनीहरू नै दुई खेमामा बाँडिएका छन्‌।

मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सीता पौडेलले दिएको समयसीमा बुधवार अपराह्न चार बजे सकिँदैछ। प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। ​समयसीमाभित्र दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्नेछ। अन्यथा, ठूलो दलको संसदीय दलका नेता नै मुख्यमन्त्री बन्नेछन्।

जनमोर्चाको तीन प्रदेश सभा सदस्यहरू पियारी थापा, खिमविक्रम शाही र कृष्ण थापा हुन। यिनीहरू मध्ये कृष्ण थापा खुलेरै पृथ्वी सुब्बा गुरुङको पक्षमा लागेका छन्‌। खिमविक्रमले यस मामिलामा लगभग मौनता साँधेका छन्‌। उनको विषयमा त्यति विवाद देखिएको छैन। पियारी थापा भने पूर्ण रूपमा नयाँ सरकार बनाउने पक्षमा छिन्।

कृष्ण थापाले नयाँ सरकार बनाउने पक्षमा हस्ताक्षर नगर्ने भएपछि जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले उनलाई पैसाको प्रलोभनमा परेर पार्टीको निर्देशन नमानेको लगायत आरोपहरू लगाएका कुरा मिडियामा सार्वजनिक भए। यही परिवेशमा थाहाकर्मी संजय रेग्मीले प्रदेश सभा सदस्य कृष्ण थापासँग गरेको कुराकानीको सम्पादित अंश :

अध्यक्ष चित्रबहादुर केसीले त तपाईंलाई पैसाको प्रलोभनमा पार्टीको निर्देशन उल्लंघन गरेको भन्नुभएको छ, पैसाकै कारण राजनीति यो माहोलमा पुगेको हो?

उहाँले साँच्चै भनेको हो भने म त चुनौती दिन चाहन्छु। मैले कोबाट कति रुपैयाँ खाएँ? कसरी खाएँ? कसरी बिकेँ? उहाँले भन्नुपर्‍यो नि!

म त एउटा खुला मान्छे हो। मेरो सम्पत्ति विवरण उहाँले बुझे हुन्छ। त्यसरी एक सुका लिएको देखाउनुभयो भने उहाँले मलाई गोली हानेर मार्न सक्नुहुन्छ। म तयार छु।

आरोप मात्रै लगाएर हुने भए त उहाँलाई पनि हामीले लगाउन सकिन्छ। माओवादी र कांग्रेसलाई सत्तामा पुर्‍याउनको लागि उहाँले पैसै खाएर हो त? त्यसो भन्न हुन्न जस्तो लाग्छ मलाई।

आरोप मात्रै लगाएर हुने भए त उहाँलाई पनि हामीले लगाउन सकिन्छ। माओवादी र कांग्रेसलाई सत्तामा पुर्‍याउनको लागि उहाँले पैसै खाएर हो त? त्यसो भन्न हुन्न जस्तो लाग्छ मलाई।

हामीले विश्वास गरेको उहाँजस्तो मान्छेले अनर्गल प्रचार गर्नु ठीक होइन। त्यो दुःखको कुरा हो।

जनमोर्चाले तपाईं नयाँ सरकार बनाउन हस्ताक्षर गर्न तयार भएको र प्रदेश प्रमुखकहाँ जाने बताएको छ, खास कुरा के हो?

त्यस्तो सङ्ख्या पुगेछ अरे र? हैन त्यो कसले बोल्यो? यो झुट बोलेको हो।

मेरो त्यो स्थिति होइन। मैले हस्ताक्षर गर्ने कुरै छैन। म अहिले पोखरामा पनि छैन। पोखराबाट बाहिरिइसकेको छु।

हस्ताक्षर नगरेमा तपाईंलाई पार्टीले कारबाही गर्ने भनिसकेको छ, अब के गर्नुहुन्छ?

भन्न त अरू-अरू के के पनि भन्नुभएको छ। धेरै कुरा मैले पनि सुनेको छु।

कुरा त्यही हो। मैले त अब हस्ताक्षर गरिनँ। कारबाही गर्ने नै हो भने त्यसको विकल्प त के होला र? कसैले यो घटना नयाँ पनि हो भनेका छन्। मैले भन्छु-हाम्रो संसदीय अभ्यासमा यो दोस्रो घटना हो।

यस्तै घटना पहिले कहिले भएको थियो?

पहिलो घटनाबारे अहिले नभनौँ। भन्दाखेरी आग्रह पूर्वाग्रह होला फेरि! यो दोस्रो हो भन्दा नै धेरैले बुझ्छन् जस्तो लाग्छ मलाई।

यसरी त तपाईं अब जनमोर्चाभन्दा बाहिरको मान्छे बन्ने होला नि!

​पार्टीभित्र हुने मतभेदहरू, कतिपय निर्णयहरू विवादित हुन्छन्। त्यसो भयो भन्दैमा पार्टीदेखि बाहिर हो भन्न मिल्ने त हुन्छ र?

त्यस्तो सोचाई राख्नुहुँदैन। म जनमोर्चामै छु। यो घटनाक्रम जनमोर्चाभित्रको मतभेद हो।

मुख्य कारण के हो त त्यसो भए? बागलुङमा कांग्रेसले जनमोर्चालाई पेल्यो भन्ने नै हो?

​त्यो त एउटा मुख्य कुरा भयो। तर राजनीतिक मुद्दाको रूपमा के हो त भने कांग्रेसका धेरै नेताहरूले देशमा शासन गरे। त्यो हामीले हरेका छौँ।

पुराना र नयाँ सबै कांग्रेस सत्तामा बसे। तर, उनीहरूले देश जनताको लागि त्यति काम गरेनन्। अहिलेको अवस्थामा ७५ प्रतिशत जनता कम्युनिष्ट चाहन्छन्। निर्वाचनले पनि कांग्रेसलाई पत्तासाफ गराएको हो, सबैको चाहना पनि त्यही थियो।

पुराना र नयाँ सबै कांग्रेस सत्तामा बसे। तर, उनीहरूले देश जनताको लागि त्यति काम गरेनन्। अहिलेको अवस्थामा ७५ प्रतिशत जनता कम्युनिष्ट चाहन्छन्। निर्वाचनले पनि कांग्रेसलाई पत्तासाफ गराएको हो, सबैको चाहना पनि त्यही थियो।

सातै प्रदेशमा कांग्रेस छैन। गण्डकी प्रदेशमा जनमोर्चाले कांग्रेसलाई काँधमा टेकाएर स्थापित गर्नहुन्न। उनीहरूले गण्डकी प्रदेशको समृद्धि गर्न सक्दैनन् भन्ने कुरा नै मेरो राजनीतिक दृष्टिकोण हो।

प्रदेशको विकासको चिन्ता लागेर नै तपाईंले यो निर्णय लिनुभएको हो भनेर बुझ्नुपर्ने हो?

यो निर्णयले म पार्टीभित्र फरकै पनि भए हुँला। घटनाक्रम र परिवेशहरू बागलुङका हेर्ने हो भने त डरलाग्दा र कहालीलाग्दा छन्।

त्यो बेला कांग्रेसको व्यवहार र मुद्दाका कारण कैयौँ साथीहरू बिदेशिन बाध्य भए। उनीहरू अहिले पनि घर आउन पाउँदैनन्। कांग्रेसलाई साथ दिँदा त मलाई असाध्यै आत्मग्लानी भयो। यही कारण पनि मैले हस्ताक्षर गर्न सकिनँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.