|

म्याग्दी : कैयौं नेपाली युवाहरुले स्वेदशमा भएको आफ्नो ससानो व्यवसाय र रोजगारीलाई बिट मारेर कोरिया जाने सपना देखेका हुन्छन्। तर म्याग्दीका एक व्यक्तिले भने ६ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको रु एक करोड रुपैयाँ स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका छन्।

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरका ४० वर्षीय रमेश रावलले  ६ वर्ष कोरियामा कमाएको पैसा गाउँमा नै पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका हुन्।

रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा रु ५० लाखको लगानीमा गाईभैँसी पालन शुरु गरे। गत सालदेखि गाई भैंसी पालन शुरु गर्नुभएका रावलको पशु फर्ममा आठवटा गाई र पाँचवटा भैंसी छन्। गाई र भैंसीबाट दैनिक एक सय लिटर दूध उत्पादन हुने र त्यो दूध बेनी र बागलुङको बजारमा रहेका दूध डेरीमा विक्रि गर्दै आएको रावलले बताए।

गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि उनले गाई भैंसीपालन शुरु गरेका थिए। रावलले अहिले रु ५० लाखको लगानीमा पशु फर्मनजिकै रेष्टुरेन्ट संचालनका लागि संरचना निर्माण गरेका छन् ।  आधुनिक किसिमको रेष्टुरेन्टको भौतिक संरचनाको निर्माण कार्य  अन्तिम चरणमा पुगेको उनको भनाइ रहको छ।

पशुपालनबाट आम्दानीसमेत हुन थालेपछि रावलले रेष्टुरेन्ट संचालन गर्न थालेको बताए। रेष्टुरेन्ट संचालन गर्नका लागि आकर्षक भवनहरु निर्माण हुँदैछन्। जहाँ रावलले ५० लाख लगानी गरेको बताउँछन्।

‘रु पचास लाख लगानी गरेर गत वर्ष पशु फर्म सञ्चालन गरे, अहिले होटल पनि संचालन गर्नुपर्‍यो भनेर ५० लाख जतिको लागतमा व्यवस्थापन कार्य चलिरहेको छ,’ रावलले भने। 

वर्षौंदेखि बाँझो पल्टिएको आफ्नो जमिनमा उनले पशु फर्म र रेष्टुरेन्ट संचालन गरेका हुन्। बागलुङ र म्याग्दी दुवै तिरका मानिसहरुलाई पायक पर्ने ठाउँमा पाँच कोठाको आकर्षक रेष्टुरेन्ट निर्माण भइ रहेको छ।  विशेष गरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल संचालन गर्न थालेको भन्दै बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने उनको भनाइ छ।

रावलले आफ्नो पशु फर्ममा चार जनालाई रोजगारसमेत दिनुभएको छ। उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रावल बताउँछन्। ‘युवाहरुले गाउँमा काम गर्न मान्दैनन्, सबै विदेश तिर जान खोज्छन्, गाउँमा काम गर्ने मान्छे पाउन पनि साह्रै मुस्किल छ,’ रावलले भने।

दूध बेचेरै मासिक रु १ लाख कमाउँदै आएका रावलले समयको मागलाई चिनेर राम्रोसँग व्यवसाय गर्न सक्ने हो भने  आफ्नै गाउँठाउँमा नै  विदेशमाभन्दा बढी कमाई गर्न सक्ने बताए।

विदेश जाने भनेर हुरुक्क नहुन पनि रावलले युवा पुस्तालाई आग्रह गरे। ‘महामारी होओस् वा अन्य कुनै विपत्ति,आखिर फर्किनुपर्ने त आफनै गाउँमा हो’ रावलले भने ‘अप्ठ्यारो पर्दा मात्र होइन,जोस,जाँगर,उमेर र वर्गत छँदै आफ्नो माटाको सुगन्धलाई चिन्न सक्नु पर्दोरहेछ। नत्र पछि पछुताउनुको विकल्प हुँदोरहेनछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.