|

काठमाडौं : यतिबेला विश्व नै कोरोना महामारीले आक्रान्त छ। पछिल्लो समय नेपालमा पनि कोरोनाबाट मृत्‍यु हुने र सक्रिय संक्रमितको संख्या बढ्दै गइरहेको छ।

विश्वभर कोभिड संक्रमण, रोकथाम तथा उपचारको वर्तमान अवस्था, खोपको पर्याप्तता, नेपालमा संक्रमण वृद्धिको दर तथा नियन्त्रणका लागि सरकारले चालेका कदमका बारेमा  नेपालको स्थितिबारे विश्व स्वास्थ्य संगठनका प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवसँग न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

अहिले विश्वमा फैलिएको संक्रमण कस्तो हो?

विश्वभर नै कोभिड १९ महामारी निरन्तर रुपमा चर्कदो छ। अहिले संक्रमितहरुको संख्या बढिरहेको लगातार ९ हप्ता भयो र मृत्युको संख्या बढिरहेको लगातार ६ हप्ता।

विश्वभर गत हप्ता पत्ता लागेका संक्रमणका घटनाहरु करिब-करिब महामारीको पहिलो ५ महिनामा पत्ता लागेका घटनाहरुको बराबर थिए। गत हप्ता ५७ लाख संक्रमित पत्ता लागे भने ९३ हजार भन्दा बढी मानिसको मृत्यु भएको जानकारी विश्वस्वास्थ्य संगठनलाई प्राप्त भएको छ।

महामारीको सुरुवातदेखि अहिलेसम्म संक्रमितहरुको संख्या १५ करोड नाघेको छ भने मृत्युको संख्या ३१ लाख। विश्वस्तरमा हेर्दा यो चिन्ताजनक स्थिति हो।

नेपाल भारत जस्ता देश किन यसको मारमा पर्दैछन्? अरू देशले कसरी यसलाई नियन्त्रणमा लिए?

राम्रो प्रश्न गर्नुभयो। जुनजुन देशले यसलाई निन्त्रण गरे वा महामारी नियन्त्रणमा केही प्रगति गरे तिनीहरुमा जनस्वास्थ्य सुरक्षा मापदण्डको मिहिनेतपूर्वक कार्यान्वयन भएको छ।

आधारभूत रुपमा भन्नुपर्दा, फराकिलो पहुँचसहितको परीक्षण, घटना अनुसन्धान र सम्पर्क पहिचान र मानिसहरु सबै जनस्वास्थ्य तथा सामाजिक उपायहरु अवलम्बन गर्छन् भन्ने सुनिश्चित गरिएको थियो।

राम्रो गर्ने देशहरुले बैज्ञानिक प्रमाण र सबल तथ्यांकका आधारमा नीति निर्माणहरु अपनाएका छन्। तर न्यून आय भएका देशहरु भन्दा उच्च आय भएका देशहरुको रोजाई अत्यन्तै फरक छ। बलियो स्वास्थ्य प्रणाली, स्वास्थ्य स्याहार तथा जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरु नै कोभिड १९का कारण उत्पन्न संकट चुलिँदा त्यसको सामना गर्न बढी सक्षम भए।

नेपालको अवस्थाबारे विश्व स्वास्थ्य संगठनलाई पूर्व-अनुमान थियो? सरकारलाई सुझाव दिएको थिएन कि सरकारले सुझाव नै लिएन?

कोभिड १९ महामारीको सुरुवातदेखि नै हामीले नेपाल सरकारलाई सुझाव, मानवीय स्रोत र सामाग्रीको सहयोग दिँदै आएका छौँ। हाम्रो निकट सम्बन्धका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग काँधमा काँध मिलाएर काम गर्छौं।

 प्राविधिक ज्ञान तथा सुझाव निरन्तर आदानप्रदान गर्छौं। चाहे ती सरकारी निजी वा गैर सरकारी किन नहुन्। देशका सबै संस्थाहरुले कोभिड १९ विरुद्ध लड्नका लागि समग्र समाजको दृष्टिकोणबाट आफ्ना स्रोत साधनलाई एकीकृत गरि प्रयोग गर्नुपर्छ।

हामीले कोभिड १९ विरुद्धको लडाइँमा प्राप्त अध्यावधिक सूचना तथा वैज्ञानिक प्रमाणहरु सदैव सरकारलाई उपलब्ध गराएका छौँ। रोग बढ्दै जाँदा नयाँ भेरियन्टहरु आइरहेका छन्। अनि नयाँ प्रमाणहरु पनि। हामी तत्कालै तीनलाई सम्प्रेषण गर्छौ र सरोकारवालाहरुलाई यस विषयमा छलफल र निर्णय अगाडि बढाउनका लागि मनाउन हाम्रो शक्ति, विश्वसनीयता र भूमिकालाई प्रयोग गर्छौं।

हामीले संक्रमण फैलिन नदिनका लागि अख्तियार गरेको नीति ठीक छ? कि अझै फरक नीति लिनुपर्‍थ्यो?

संक्रमणको विस्तार रोक्न वा कम गर्न मास्क लगाउने, हातको सफाई गर्ने तथा भौतिक दूरी कायम गर्ने उपाय छन्। उपचारका लागि अक्सिजन र डेक्सामेथाजोन पनि छन्। कोभिड १९ को रोकथामका लागि विभिन्न सुरक्षित तथा प्रभावकारी खोपहरु पनि छन्। अब हामीले गर्नुपर्ने जरुरी काम भनेको यीनमा पहुँच विस्तार गर्नु, संक्रमण रोक्नु र जीवन बचाउनु हो।

नेपालले कोभिड १९ विरुद्ध यी विभिन्न रणनीतिहरु अपनाएको छ। उपलब्ध साधनको निरन्तर र समतापूर्ण प्रयोग भएमा केही महिनामै महामारी नियन्त्रण हुनेछ।

यो संक्रमण कहिलेसम्म रहला ? यसको फैलावटको अवस्था हेर्दा मानवसभ्यता नै सखाप हुने देखिन्छ?

महामारीको रोकथाम सुनिश्चित गर्नका लागि हामीले भाइरस संक्रमणको श्रृंखला तोड्नुपर्छ। त्यसका लागि हामीले जनस्वास्थ्य व्यवहारका नयाँ मूल्यमान्यताको पालना गर्नुपर्छ। हाल नेपालमा करिब ८३ प्रतिशत मानिस निको भएका छन्।

हालसालै संक्रमितको संख्यामा तीव्र वृद्धि हुँदा निको हुने दर घटेको अनि संक्रिय संक्रमितको संख्या बढेको देखिन्छ। कोरोनाविरुद्ध २७५ भन्दा बढी खोपहरु विकास हुँदैछन्। जसमध्ये ९१ को चिकित्सकीय परिचालन सुरु भइसक्यो र विश्व स्वास्थ्य संगठन अनि सदस्य राष्ट्रका कडा नियामक निकायहरुले तीमध्ये कतिलाई आपतकालिन प्रयोगका लागि बाटो खोलिदिइसके। यसबाट धेरै किसिमका सुरक्षित तथा प्रभावकारी खोप पाउने हाम्रो संभावनालाई बढी छ।

अहिले खोपको अवस्था कस्तो छ? नेपाल जस्ता देशले सहज रुपमा खोप पाउन किन सकिरहेका छैनन्?

खोपको पर्याप्त उत्पादन राष्ट्रिय सहकार्यमा भर पर्छ। खोप विकासको इतिहासमा कुनै पनि रोगको खोप यति छिटो विकास भएको छैन। त्यसैले अनुसन्धान, उत्पादन क्षमता, खरिद तथा ढुवानी प्रक्रियामा लगानी गर्न सम्पूर्ण विश्व एकिकृत हुने हो भने अभूतपुर्व तीव्रता हासिल गर्न सकिन्छ। कोभिड १९ त एउटा उदाहरण मात्रै हो। 

सबैतिर सबैलाई खोप पुर्‍याउन बनाएको कोभ्याक्सलाई विभिन्न सरकारहरुबाट ठूलो लगानी आवश्यक हुन्छ। नेपाल जस्तो देशहरुमा खोपको सुनिश्चितताका लागि पनि यो आवश्यक छ।

आरटिपिसिआर र एन्टिजिन परीक्षण तथा तिब्र निदानका उपाय र जीवनदायी औषधी उपचारका उपाय पनि महामारी अन्त्य र विश्वभरका स्वास्थ्य लाभका लागि अत्यावश्यक छन्। यी जीवनदायी साधनहरु तब मात्र प्रभावकारी हुन्छन् जब सबै भन्दा जोखिममा रहेका अधिकांशका लागि समतापुर्ण ढंगले सबै देश एकैपटक यी उपलब्ध हुन्छन्। यसका लागि सवल स्वास्थ्य प्रणाली तथा सेवा सञ्चालन हुनुपर्छ।

नेपालले भारतको जस्तो अवस्था आउन नदिन के गर्नुपर्छ ?

मैले पहिले भने जस्तै जनस्वास्थ्य सुरक्षाको उपायहरुको पूर्ण पालना हुनुपर्छ  र उच्च तथा तीव्र गतिमा खोपको विकास हुनुपर्छ। म बुझ्छु कि नेपालमा खोप ल्याउन एउटा चुनौती हो। तर हामीसँग देशभित्रै विभिन्न साधनहरु छन्। जुन अन्य देशहरुले पनि देखाईसकेका छन्। राम्रोसँग गरिने घटना अनुसन्धान, सम्पर्क पहिचान, संक्रमित विरामीको आईसोलेसन अनि जोखिममा रहेकाहरुको क्वारेन्टीन। यी नै  संकट समाधानका मन्त्र हुन्।

निषेधाज्ञा छ अहिले। यो बेला सरकारल गर्नुपर्ने अनिवार्य काम पनि गरेन भन्ने गुनासो आईरहेको छ। प्राथमिकताको आधारमा के के काम गर्नुपर्छ

यस कोभिड १९ महामारीका लागि संसारका कुनै पनि देश पर्याप्त मात्रामा तयार थिएनन्। यसको लागि तपाईंले अहिले सिंगो संसारको स्थिति हेर्न सक्नुहुन्छ। त्यसमा पनि अल्पविकसित स्वास्थ्य प्रणाली भएका गरिब राष्ट्रहरूमा यसको असर बढी रह्यो।

हुन त कोभिड १९ बारे विज्ञानको विकाश नि निरन्तर जारी छ। विगत १ वर्षमा क्षमता विकास र तयारीका लागि धेरै काम भएका छन्। तर दशकौ सम्म स्वास्थ्य प्रणालीमा लगानी गर्न हामीले गुमाएको अवसरको क्षतिपूर्ति यो छोटो समयमा नै हुन्छ भन्ने आशा गर्नु कठिन छ। अहिले धेरैभन्दा धेरै मानिसले महसुस गरेका छन् र मैले मन्त्री प्रधानमन्त्रीले पनि भनेको सुनेको छु कि, जीवन नै पहिलो प्राथमिकता हो।

स्वास्थ्य नै पहिलो प्राथमिकता हो। विश्व स्वास्थ्य संगठनका धेरै सिफारिसहरु सरकारले आफ्ना मार्गदर्शन, निर्देशिका जस्ता दस्तावेजमा स्वीकार गरेकामा हामी खुसी छौ। सरकारका सबै तह र समुदायको स्तरमा पनि यसको निरन्तर कार्यान्वयन महत्वपुर्ण छ। समुदायको शसक्तिकरण र संलग्नता पनि जरुरी छ। कोभिड १९ को जटिलताका कारण  सरकार र समाजका सबै क्षेत्र र तहको एकीकृत प्रतिकार्य आवश्यक छ। साथै व्यक्तिगत प्रतिकार्यको महत्वलाई पनि कम आँक्नु हुदैन।

नेपाली जनताका लागि केही भन्न चाहनुहुन्छ?

आफू र अरू सबैलाई सुरक्षित राख्ने आफ्नो व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्छ भन्‍न चाहन्छु। सबैलाई आग्रह गर्न चाहन्छु कि कृपया जनस्वास्थ्य निर्देशिका पालना गरौ। मास्क लगाऔँ। बारम्बार हात धोऔँ। भौतिक दूरी कायम गरौँ र उपलब्ध हुनासाथ खोप लगाउन आनाकानी नगरौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.