|

रौतहट : कोभिडको दोस्रो लहरमा रौतहटका २६ जनाको ज्यान गएको छ। रौतहट जिल्लाभित्र उपचार गराएका १६ जना जिल्लाबाहिर विभिन्न अस्पतालमा उपचार गराएका  १० जना गरी २६ जनाको कोभिड संक्रमणको कारण ज्यान गएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

वैशाख १३ गतेयता कोभिडको कारण २६ जनाको ज्यान गएको प्रजिअ यादवले बताए। वैशाख १३ गते १ जना,१५ गते १ जना, २१ गते २ जना , २२ गते २ जनाको कोभिडको कारण ज्यान गएको छ।

यसैगरी २३ गते ५ जना, २४ गते १ जना, २५ गते ४ जना, २६ गते २ जना, २७ गते ४ जना,२८ गते ३ जना र २९ गते १ जना गरी २६ जनाको ज्यान गएको उनले जानकारी दिए। ज्यान जानेमा १० वर्षीय बालकदेखि ७० वर्षका वृद्धसमेत छन्।

बुधबार मात्रै रौतहटमा ५९ जनाका कोभिड संक्रमण देखिएको छ। पिसिआर परीक्षणमा ५२ जना र एन्टिजेनमा ७ जना गरी ५९ जनाका संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

रौतहटमा ५ सय ४९ जनामा कोभिड १९ संक्रमण देखिएको छ जसमध्ये ५१ जना निको भएका छन। संक्रमित अधिकांश होम आइसोलेसनमा छन्।

यता, रौतहटमा कोरोना महामारीलाई मध्यनजर गर्दै मुस्लिम समुदायको महान पर्व इदुल फित्र (ईद) स्वास्थ्य मापदण्डको परिधिभित्र रहेर मनाउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा मुस्लिम समुदायको धर्म गुरु-अगुवाहरू बीचमा भएको छलफलले सो निर्णय गरेको हो।

सो छलफलमा बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै इद मनाउने क्रममा पढिने नवाज मस्जिद, मदरसा, इदगाहा, मोख्तवमा बाहिरी सर्वसाधरणको उपस्थिति बिना त्यहीँ बस्ने मौलवीद्धारा मात्र पढ्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले आउँदो जेठ १ गतेदेखि पूर्णरूपमा जिल्लाभित्र लकडाउन गर्ने भएको छ। दैनिक रुपमा संक्रमित बढ्न थालेको र मृत्युदर पनि बढ्न थालेपछि प्रशासनले लकडाउनलाइ कडाइ गर्न थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.