|

जनकपुरधाम : प्रदेश २ मा कोरोना महामारीको दोश्रो लहरले संक्रमित अक्सिजन नपाएर अस्पतालमा छटपटाइरहेका छन्। 

संक्रमित दिनदिनै बढ्दै गएका छन्। तर प्रदेश २ का मन्त्रीहरू भने मन्दिर निरीक्षण र घुमघाममा व्यस्त छन्।

प्रदेश २ मा समेत कोरोना महामारीको कारण अवस्था भयावह बन्दै छ। स्वास्थ्य संकट नै पैदा भइरहेको बेला प्रदेश २ का सामाजिक विकास मन्त्री र उद्योगमन्त्री सप्तरीको मन्दिर निरीक्षण र दर्शनमा छन्। 

कोरोना महामारीको अवस्थामा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय बुधबार दलबलसहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न मन्दिर तथा पर्यटकीय स्थलमा घुमफिर गरिरहेका तस्विर सार्वजनिक भएको छ। जसको अहिले चौतर्फी आलोचना हुन थालेको छ।

सामाजिक विकास मन्त्रीका स्वकीय सचिव राजकुमार यादवले मन्त्रीद्वयले मन्दिर घुमफिर गर्दै गरेको व्यस्तता सहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

उनले- ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा सप्तरी जिल्लामा विनियोजित विभिन्न कार्यक्रमको मन्त्रीद्वयले संयुक्तरुपमा अनुगमन तथा निरीक्षण’ गरेको व्यहोरा पोस्टमा उल्लेख गरेका छन्।

मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको बोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका देखिएको छ। मन्त्रीद्वयले प्रदेश सरकारका अधुरा योजनाहरु क्रमशः पुरा गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

कोरोना महामारीले भयावह रुप लिइरहँदा प्रदेशका अस्पतालहरुमा आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्री तथा जनशक्तिको अभावका कारण बिरामीले ज्यान गुमाउँदै छन्। प्रदेशका जिल्लाहरुमा लकडाउन निषेधाज्ञासमेत जारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.