|

काठमाडाैं : अञ्जन विष्टको निर्णायक गोलमा ललितपुर सिटीले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

त्रिपुरेश्व स्थित दशरथ रंगशालमा भएको खेलमा अञ्जनले ६२औं मिनेटमा गरेको गोल निर्णायक बन्दा ललितपुरले दोस्रो क्लालिफायरमा स्थान बनाउन सफल भएको हो। पराजित भएसँगै बुटवल लुम्बिनीको नेपाल सुपर लिगको यात्रा इलिमेनेटरमा समाप्त भएको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा  दुवै टोली सुरुआतबाट नै आक्रमक देखिएका थिए। जितले मात्र अघिल्लो चरण प्रवेशको ढोका खुल्ने अवस्थामा थियो।

सोहीअनुसार आक्रामक देखिएको ललितपुरका लागि १२औं मिनेटमा १५ यार्ड टाढाबाट डोना थापाले प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो। त्यसको सात मिनेटपछि अनमार्क रहेका बुटवलका विलियम्सको प्रहार निकै फितलो भयो।

२५औं मिनेटमा डोनाको पासमा नुर्लान जाहिदले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। ३३ औं मिनेटमा ललितपुरका अन्जन विष्टले डिबक्स बाहिरबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले पुन उत्कृष्ट बचाउ गरे। ४० औं मिनेटमा बुटवलका विलियमले वान भर्सेस वानमा गोल गर्न सकेनन्।

​त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा बुटवल लुम्बिनी आक्रामक देखियो। बारम्बार प्रयास गरे पनि गोलले पोस्टको दिशा लिन सकेन। काउन्टरकै प्रयास रहेको ललितपुरले ६२औं मिनेटमा अञ्जन विष्टको गोलबाट अग्रता पायो।

अञ्जनले डाइभ हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उक्त गोल नै टोलीलाई दोस्रो क्वालिफायरमा पुग्न पर्याप्त भयो। बाँकी सयममा पनि ललितपुर अग्रता बढाउने प्रयासमा काउन्टर गरे पनि सफल हुन सकेन। बुटवल लुम्बिनीका खेलाडीले पनि केही राम्रा अवसरलाई सदुपयोग गर्न चुके। फल स्वरुप लुम्बिनी प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

सुरुआत कमजोर भए पनि ललितपुरले लिग चरणका अन्तिम खेलमा पुनरागमन गर्दै शीर्ष चारमा स्थान बनाउन सफल भएको थियो। अनपेक्षित खेल प्रदर्शनबाट ललितपुरका प्रमुख प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्तपछि सहायक रेफ्री राजु तामाङले टोली सम्हालेका थिए।

पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भए पनि प्रतियोगिताको फम्र्याट अनुसार काठमाडौंले दोस्रो क्वालिफायरमा अब ललितपुरसँग खेल्नेछ। लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका थिए।

खेलमा ललितपुर सिटीका गोलकिपर अपर्ण कार्की सुपर प्लेयर्स अफ दि म्याच चुनिए। कार्कीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै इमर्जिङ प्लेयर्सको उपाधि ललितपुर सिटीका मिडफिल्डर मिक्चेन तामाङ चुनिएर नगद १० हजार रुपैयाँ प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.