|

सोलुखुम्बु : माप्यदूधकोशी गाउँपालिकाका एउटै टोलका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज गाउँपालिकाले ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार वडा नम्बर ३ का सोमबारे बजार क्षेत्रका मात्रै ११ जना पुरुष र १३ जना महिला संक्रमित भएका छन्। एउटै टोलमा यतिका धेरै संख्यामा संक्रमित भएपछि संक्रमण नियन्त्रणमा चुनौती थपिएको अध्यक्ष राईले बताए। उनीहरुको ट्राभल हिस्ट्रीसमेत नरहेको बताइएको छ।

गाउँपालिकालाई पूर्ण रूपमा सिल गरी ३ सय जनाको एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको भन्दै अध्यक्ष राईले कोरोना रोकथाम तथा नियन्त्रण स्थानीय सरकारको क्षमताभन्दा बाहिर रहेको बताए।

'एकै टोलका २४ जना संक्रमित भेट्नुले गाउँपालिकामा धेरै संख्यामा संक्रमित रहेको अनुमान छ,' अध्यक्ष राईले भने, 'कोरोना रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुको विकल्प छैन तर हामीसँग १५ बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल भएपनि यो पर्याप्त नहुने रहेछ।'

भोलि (बिहीबार) वडा नम्बर २ को खालि माविमा परीक्षण गरिने बताइएको छ। गाउँपालिकाले ३ सय जनाको एन्टिजेन गर्ने अध्यक्ष राईले बताए। भोलि बिहान कार्यपालिका बैठक बसेर कोभिड रोकथाम तथा नियन्त्रणसम्बन्धी थप निर्णय गरिने अध्यक्ष राईले बताए।

यस्तै आजै खुम्बुपासाङ ल्हामु गाउँपालिकाका ४ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिए। उनका अनुसार चार जनाको एन्टिजेन गरिएकोमा सबैको रिपोर्ट पोजेटिभ आएको हो।

यस्तै जिल्ला अस्पताल फाप्लुमा ११ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विश्वकर्माले जानकारी दिए। सोलुदुधकुण्ड नगरपालिका, नेचा सल्यान र थुलुङ दुधकोशी ठेगाना भएकाहरुमा कोरोना पुष्टि भएको उनको भनाइ छ।

यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ११९ पुगेको छ। ४ जनालाई थप उपचारका लागि जिल्लाबाहिर लगिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ।

जिल्लाका सबै स्थानीय तहको सेवा बन्द

जिल्लाको सबै स्थानीय तहले अतिआवश्यकबोहेक सबै सेवा बन्द गरेका छन्। थलुङ दुधकोशी गाउँपालिकाले २८ गतेबाट गाउँपालिकाबाट प्रवाह गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। कोरोनाको जोखिम उच्च रहेकाले २८ गते बिहानदेखि जेठ ५ गते सम्मको लागि सेवा बन्द गरेको भन्दै गाउँपालिकाले सार्वजानिक सूचना नै जारी गरेको छ। 

यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि त्यहाँ कार्यरत कर्मचारीमा शंकास्पद लक्षण देखिएकाले अतिआवश्यकबाहेक अन्य सबै सेवा अनिश्चितकालीन बन्द गरेको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।

यता लिखुपिके गाउँपालिकाले पनि अतिआवश्यकबाहेक सबै सेवा बन्द गरेको जनाएको छ। छिमेकी जिल्ला रामेछापको उपाकुण्ड गाउँपालिकामा कोरोना संक्रमित भेटिएकाले सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए।

वडा नम्बर २ को सल्यानका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेचासल्यान गाउँपालिकाले पनि आफ्नो सेवा बन्द गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.