|

पर्सा : कोरोना कहरको दोस्रो लहरमा संक्रमणको 'चेनब्रेक' गर्न पर्सामा दुई हप्ताबाट निषेधाज्ञा जारी छ। कोरोना संक्रमणबाट भटाभट मानिसको मृत्यु पनि भइरहेको छ।

यो कहरबाट आम मानिसलाई बचाउन भीडभाड र एक आपसको भेटघाटबाट संक्रमण सर्न नपाओस् भनी स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ। यस्तो समयमा पनि अवैध हुण्डी कारोबारी भने सल्बलाइरहेका छन्। निषेधाज्ञाकै समयमा हुण्डी रकमसहित चार अभियुक्त पर्सामा पक्राउ परेका छन्। 

पक्राउ परेका अभियुक्तसँग ८२ लाख ५० हजार हुण्डी रकम बरामद भएको पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले भने। हुण्डीको यो रकम पर्सामा चालु आर्थिक वर्षमा एकै पटक फेला परेको सबैभन्दा ठूलो परिणाम भएको उनले बताए।  

पक्राउ परेका तीन जना भारतीय 

बुधबार दिउँसो १ बजे पर्साको वीरगन्ज महानगरपालिका पुरानो बसपार्कस्थित आदर्शनगरमा डेरा गरी बस्ने भारत बिहार मोतिहारी जिल्ला रक्सौल वडा नम्बर १८ का २७ वर्षीय विकास कुमारको डेराबाट ५७ लाख ५० हजार बरामद भयो।

त्यो रकम दुईवटा कालो ब्गाग र दुई वटा हेल्मेटमा लुकाइछिपाई राखिएको थियो। उनीसँगै उनको डेरामा बसिरहेका भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल ९ का २२ वर्षीय गुड्ड कुमार र भारत बिहार मोतिहारीकै १८ वर्षीय साहिल गुप्तालाई पनि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खनालले बताए। 

फुत्किनै लाग्दा पक्राउ परे अन्सारी 

विकास कुमारकै डेराबाट ब्याग बोकेर बाहिर निस्किएका बारा महागढीमाई नगरपालिका-४ का कलामुद्दिन अन्सारीलाई पनि प्रहरीले आदर्शनगर चोकबाट पक्राउ गरेको छ।

प्रहरीले चोकमा रोकी सोधपुछ र झोला खानतलासी गर्दा थप २५ लाख स्रोत नखुलेको रकम फेला पर्‍यो। स्रोत नखुलेपछि त्यो रकमसहित अन्सारीलाई पनि आदर्शनगर चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई निगरानी गरिरहेको प्रहरी टोली मध्ये केहीले अंसारीलाई पिछा गरी पक्राउ गरे। अरु प्रहरीले विकासको डेरामा रीतपूर्वक खानतलासी गरी हुण्डी रकम बरामद गर्न सफल भएको पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक खनालले बताए। 

दुवैतर्फबाट बरामद रकम ८२ लाख ५० हजार भएको हो। यो रकमसहित अभियुक्तहरूसँग रहेको ना८प ४८९७ नम्बरको डिस्कभर मोटर साइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

अभियुक्तहरूले स्रोत नखुलाएपछि रकम अवैध 

पक्राउ परेका अभियुक्तहरूले सो रकमको स्रोत खुलाउन सकेनन्। आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेपछि उनीहरू चारै जनालाई हुण्डी कारोबार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरूलाई बैंक तथा वित्तीय ऐन कसुर गरेको अभियोगमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

चोरी पैठारी गर्ने अर्का अभियुक्तसहति कपडा पनि पक्राउ 

त्यसै गरी बुधबार नै पर्सा प्रहरीले ना १ ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली ल्याउँदै गरेको १ लाख १३ हजार चार बराबरको कुर्तासुरुवाल, साडी तथा ब्लाउजका कपडासहित बारा जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने जियाउल हक खानलाई पनि नियन्त्रणमा लिएको खनालले बताए।

पक्राउ परेको कपडा र उनले चलाएको गाडीसहित कुल ६ लाख १३ हजार ४ सय मूल्यांकन गरी बुधबार नै थप कारबाहीका लागि वीरगन्ज भन्सार चलान गरिएको पर्सा प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.