|

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल समुहले राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसँग वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेललाई नेपाल निवास काेटेश्वर पठाएका छन्। 

वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा  नेपाल समुहले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने तयारी गरेको बेला यसलाई रोक्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन्। नेपाल समूहले राजीनामाको पुरै तयारी गरेको भन्ने सूचना बालुवाटार पुगेपछि नेपाल समूहसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले एकाबिहानै वार्ताका लागि पौडेललाई त्यहाँ पठाएको बुझिएको छ।

नेपाल समूहको प्रतिक्रिया बुझेपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज विहान आफ्नै सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको नेता सुवास नेम्बाङले जानकारी दिए। 

सरकार गठनका लागि निर्णायक बनेको खनाल नेपाल समूहका २० सांसदले राजीनामाको तयारी गरिरहेकाे बेला त्यसलाई रोक्न एमालेको संस्थापन पक्ष कसरत छ। उनीहरूलाई राजीनामा गराउन नेपाली कांग्रेस र माओवादी केन्द्र पनि प्रयासरत छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन सरकार बनाउन बहुमत पुग्ने गरी नेपाल खनाल समूहका सांसदले राजीनामा दिन लागेको बुझिएको छ।  आज राजीनामा दिएर उप-चुनावमा कांग्रेस र माओवादी केन्द्रले सहयोग गर्ने सहमति पछि नेपाल खनाल पक्ष राजीनामा दिन तयार भएको हो।  

ओलीको असंवैधानिक कदम रोक्न राजीनामा दिनुपर्ने पक्षमा पुगेको नेपाल खनाल समूहमै विवाद भएका कारण पटक पटक राजीनामा दिने भन्दै आएको यो समूहले राजीनामा दिन सकेको छैन्। 

वैशाख २७ गते प्रतिनिधिसभा बैठक बहिस्कार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेको नेकपा एमालेको नेपाल-खनाल समूह अब अर्को रणनीति कार्यान्वयन गर्नतिर लागेको हो। 

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमा मतदान हुने दिन नेपाल खनाल समूहका २८ जना सांसद अनुपस्थित भएका थिए, अब ती २८ जना मध्ये प्रत्यक्ष निर्वाचित २० जना सांसद राजीनामा दिने तयारीमा लागेका छन्।  उनीहरुको उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि शक्तिमा आउनुबाट रोक्नु र कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउनु हो। 

नेपाल-खनाल पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिए कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुल्नेछ।  प्रधानमन्त्री ओलीलाई विश्वास छ भन्ने पक्षमा ९३ सांसदको मात्रै मत परेको छ। र विपक्षमा पनि बहुमत छैन। विश्वासको मतका विपक्षमा १ सय २४ मत छ। जबकि नयाँ सरकार बनाउन १ सय ३६ सिट आवश्यक पर्छ। 

प्रतिनिधिसभामा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन्। यी मध्ये १५ जना ठाकुर समूहमा लागेकाले यी तीनै दल एक नभएसम्म विपक्षमा बहुमत नपुग्ने निश्चित छ।

जसपाको ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई नै साथ दिने बताएकाले अब नयाँ सरकार बन्ने नबन्ने एमालेकै नेपाल-खनाल समूहको हातमा छ। २० जना सांसदले सामूहिक राजीनामा दिए विपक्षी खेमामा बहुमत पुग्नेछ।  २० जनाको पद रिक्त हुनासाथ प्रतिनिधिसभाको कुल संख्या २ सय ५१ हुनेछ। त्यसको बहुमत १ सय २६ पुर्याउन विपक्षी दललाई सहज हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.