काठमाडौं : सरकारले खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर आगामी आइतबार नेपाल ल्याउने तयारी गरेको छ।
नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका नेपालीको समन्वयमा त्यो सङ्ख्याका अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन लागेको हो।
ओमानस्थित नेपाली दूतावासले खरिद गरिएका अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिरहेको जनाएको छ। सिलिन्डर नेपाल पठाउने विषयमा दूतावासले नेपाल एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन्।
नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक डिमप्रकाश पौडेलले खाडी मुलुकमा कार्यरत नेपालीको संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले आर्थिक सहयोग गरेर सिलिन्डर खरिद गरिसकेको र आइतबारसम्म नेपाल ल्याउने तयारी भएको बताएका छन्।
पौडेलले गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान आगामी शनिबार ओमानको राजधानी मस्कट जाने प्रयास गरिरहेको जनाएका छन्।
त्यहाँबाट फर्केर सोही दिन साँझ चीनको बेइजिङमा संकलित करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी भइरहेको पौडेलले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।