पूर्व राजदुत भन्छन्, 'स्थिति यस्तै रहे बाह्य शक्तिले खेल्छन्‌'

|

काठमाडौं : पछिल्लो एक वर्षयता नेपालमा राजनीतिक गतिविधि निकै अस्थिर बनिरहेको छ। सत्तारूढ दल विभाजन भएको छ र नेताहरूबीचको तिक्तता प्रदेश र स्थानीय तहसम्म फैलिएको छ। 

छिमेकी देशहरू भारत र चीन भने यही अस्थिरताको मौका छोप्दै नेपालको आन्तरिक मामिलामा कम्मर कसेर लागेका छन्। उनीहरूका गतिविधि कतै प्रत्यक्ष प्रकट भइरहेको छ भने कतै आफू अनुकूलका नेतामार्फत 'इच्छा' व्यक्त हुन थालेको छ।

नेपालको घरेलु राजनीतिक विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न सकेनन्। यसपछि पनि नेपालको राजनीति थप कठिन बन्दै गइरहेको छ। 

ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका (उपेन्द्र–बाबुराम) समूहले नयाँ सरकार गठन पहल गरिरहेका छन्। तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले यसतर्फ खासै इच्छा नदेखाएकाले नयाँ सरकार बन्न मुस्किल परिरहेको छ। 

यसअघी नेपालको राजनीति तरङ्‌गित हुँदाको स्थितिलाई आफ्नो अनुकूलतामा मोड्न दुई छिमेकी मुलुकबीच रस्साकस्सी चल्ने गरेको हो।

नेपालको आन्तरिक मामिलामा खासै दख्खल नदिने भनिएको चीनले पनि पछिल्ला केही वर्षयता भारतको सिको गरिरहेको छ। आन्तरिक मामिलामा हस्तक्षेप र सीमा अतिक्रमण लगायत कारण भारतीय संस्थापन पक्ष नेपालको जनस्तरमै आलोचित र अप्रिय छँदैछ।

तर, पछिल्लो पटकको यो विवादमा चिनियाँ पक्ष खासै खुलेको छैन। यसअघिको साविक नेकपादेखि एमालेसम्मको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएका लाग्ने गरेकी थिइन्।

भारतको नयाँ 'चाल'

नेपालको राजनीति तरल बनिरहेको बेलामा चीनले मौनता साँधिरहेका बेला भारतीय नेताहरू भने प्रधानमन्त्री ओलीकै पक्षमा बोल्न थालेका छन्।

०७२ सालको नाकाबन्दी र कालापानी, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतसँग प्रधानमन्त्री ओलीको सम्बन्ध बिग्रेको चर्चा हुने गरेको भएपनि पछिल्लो समयमा सम्बन्ध सुधारेको आंकलन गर्न थालिएको छ। 

नेकपाभित्र विवाद चलिरहेका बेला गत वर्ष कात्तिक ६ गते प्रधानमन्त्री ओली र रअ प्रमुख सामन्तकुमार गोयल बीच बालुवाटारमा गोप्य वार्ता भएको थियो।

 

​राष्ट्रियताको नारामा बलियो पकड बनाएका प्रधानमन्त्री ओलीको पक्षमा भारतीय नेताहरूले खुलैरै समर्थन गरेको देखाउन थालेका छन्। मंगलबार भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले भारतको पहिलो रोजाइ ओली सरकार नै रहेको भन्दै ट्वीट गरे।

भाजपाको वरिष्ठ नेता तथा राज्य सभा सांसद् समेत रहेको स्वामीले लेखेका छन्, ‘नेपालबारे मेरो जानकारी भएअनुसार ओली भारतको पहिलो रोजाई हो, प्रचण्ड प्रधानमन्त्री भए चीनको जित हुन्छ।’ 

नेपालको राजनीतिक मामिलामा जानकार रहेका स्वामीको ओलीलाई समर्थन गर्दै आएको ट्वीटलाई अर्थपूर्ण रूपमा लिइएको छ। त्यसो त, नेता स्वामीले यसअघि पनि नेपालको राजनीतिक विषयमा बोल्दै आएका थिए। नेता स्वामीले यसअघि प्रधानमन्त्री ओलीको विरोध गर्दै आएका थिए।

विरोधमा रहेका स्वामीले नेपालमा जनस्तरको सेन्टिमेन्टलाई भड्काउन भारतले आफूविरुद्ध कठोर अभिव्यक्ति दिने गरेका ओलीलाई 'भारतपरस्त' करार गराउन यस्तो चालाबाजी गरेको पनि अड्कल भइरहेको छ। किनभने नेपालमा भारतपरस्त राजनीतिक शक्ति भन्ने बित्तिकै विरोधको तारो बन्नसक्छ भन्ने कुरा भारतीयहरुलाई थाहा नभएको होइन।  तर, रअ प्रमुखसँगको भेट र जारी अस्थिरतामा भूमिका हेर्दा पछिल्लो समय ओली नै भारत अनुकूल बन्न थालेको आंकलन गर्न सहज भएको धारणालाई ओली पक्षले चिर्न सकेको देखिदैन।

महन्थलाई प्रधानमन्त्री बनाउने बाबुरामको इच्छा

प्रधानमन्त्री ओली सरकार फालेर नयाँ सरकार बनाउन पहल गर्ने जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि एक हुन्।

नेता भट्टराई भारत निकट मानिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने जोडबल भइरहेको बेला नेता भट्टराईले एकपटक पनि सरकारमा नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने मत व्यक्त गरेका छन्‌। आफ्नो माग पूरा नहोउञ्‍जेल तटस्थ बस्ने अडानमा रहेका जसपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने संकेत गर्दै उनले बुधबार बिहान ट्वीट गरेका हुन्। 

भाजपा नेताको बोले लगत्तै नेता भट्टराईको यस्तो ट्वीटले नेपालको राजनीतिक थप जटिल मोडमा पुग्नसक्ने चर्चा भइरहेको छ। 

उनले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौँ, १. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेकको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ, २. दलको प्रमुख र पूर्व प्रम रहेका निर्देशक समिती, ३. साझा न्युनतम कार्यकम (कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत, ४. एक वर्षभित्र चुनाव!’ 

त्यसो त पछिल्लो राजनीतिक निकासको एकमात्रै विकल्प भन्दै प्रधानमन्त्री ओली पनि निर्वाचनको पक्षमा छन्। ओली मात्रै नभएर निर्वाचनका लागि देउवा, ठाकुर राप्रपा लगायत अन्य कतिपय साना दल समेत सकारात्मक छन्। 

‘चासो राख्नु नै गलत’

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छिमेकी मुलुकले नेपालको आन्तरिक मामिलामा चासो राख्नु नै गलत भएको टिप्पणी गर्छन्। 

उनी भन्छन्, ‘विदेशी मुलुकले नेपालको आन्तरिक मामिलामा चासो राख्नु गलत हो। नेपालको राजनीतिक घटनाक्रमको आफैले निर्णय गर्ने हो, यहाँ कसैको हस्तक्षेप हुन सक्दैन।’ 

छिमेकी देशले नेपालको आन्तरिक मामिलामा बोल्नु ठीक नभएको तर्क गर्छन्। अर्काको मुलुकको आन्तरिक विषयमा बोल्नु आवश्यक नरहेको उनको भनाइ छ।

बाह्य शक्तिले खेल्न सक्छन्

नेपालको आन्तरिक विषयमा बाह्य शक्तिको हस्तक्षेप बढ्दै गए अन्य शक्तिले समेत खेल्नसक्ने भारतका लागि  नेपालको राजदूत भइसकेका डा. दुर्गेशमान सिंह बताउँछन्। 

उनी भन्छन्, ‘नेपालको आन्तरिक विषयमा भारतको जिम्मेवार नेताहरूको गैर जिम्मेवार अभिव्यक्तिले दुई देशबीचको कुरालाई सम्बन्ध बिग्रन सक्छ। यसले गर्दा पछि सम्हाल्न मुस्किल पर्नसक्छ।’ 

नेपालको आन्तरिक विषयमा भारतीय नेताहरूले बोल्न नमिल्ने उनको भनाई छ। 

‘उहाँहरूले नेपालको नेताहरूको पक्ष र विपक्ष नेताहरूलाई साथमा दिएर टिप्पणी गर्दा बाह्य शक्तिलाई तान्नसक्छ। यसले नेपाल भारत सम्बन्धमा समेत दरार ल्याउनसक्छ। भारतीय हस्तक्षेप सामान्य होइन’ उनले भने, ‘यस्तो विषयमा कूटनीतिक बाटोबाट जानुपर्छ। नेपालको आन्तरिक विषयमा हो। अहिलेको परिस्थितीमा नेताहरूले वक्तव्य दिनु ठीक होइन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.