|
फाइल फोटो ।

काठमाडौं : केही दिनअघि निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचार निम्ति निकै महँगा दररेट सार्वजनिक गरे। औषधोपचार बाहेक बेडकै एक दिनको शुल्क ६० हजार रुपैयाँभन्दा धेरैसम्म लाग्ने ती अस्पतालहरूले जानकारी गराएका थिए।

तर, बिरामीसँग चर्को शुल्क असुलेको भन्दै बारम्बार विवादमा आइरहने र गरीबहरूले उपचार सेवा लिनै नसक्ने सुविधासम्पन्न' निजी अस्पतालहरूको पूर्वाधार र प्राविधिक क्षमता निकै कमजोर रहेको अहिले थाहा हुँदैछ। महामारीका बेला केही सय संक्रमितलाई अक्सिजन व्यवस्थासमेत गर्न नसकेका यी अस्पतालहरूले चिकित्सकीय धर्म पूरा गर्न नसक्ने भन्दै हात उठाइरहेका छन्‌।​​

'​सुविधासम्पन्न महँगा' अस्पतालहरूले बिरामीको उपचारका लागि कुनै कसर बाँकी राख्न चाहँदैनन्‌। तर, यतिखेर तिनै सुविधासम्पन्न अस्पतालले ​अक्सिजन अभाव भएको भन्दै कोरोना संक्रमित बिरामीलाई भर्ना लिनै छाडेका छन्‌।​

कोरोनाको पछिल्ला भेरियन्ट संक्रमणपश्चात्‌ संक्रमितमा कडा लक्षणहरू देखिन्छ। सास फेर्न सकस हुनु पनि एक लक्षण हो। यस्ता संक्रमितसंख्या बढिरहेका छन्‌ र उनीहरूको श्वासप्रश्वासमा सहजता ल्याउन अक्सिजन आवश्यक पर्छ। अहिले अस्पतालहरूमा यस्तै लक्षण भएका संक्रमितहरू उपचारार्थ पुगिरहेका छन्‌।​​

यतिखेर धेरै अक्सिजन चाहिएको, तर सोही मात्रामा आपूर्ति नहुँदा अस्पतालहरूले नयाँ बिरामी लिन नमानेका हुन्‌। यस पछाडिको प्रमुख कारण चाहिँ 'सुविधासम्पन्न' दाबी गर्ने ती अस्पतालले संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै अक्सिजन प्लान्ट नराख्नु नै हो। 

अहिले धेरै कोरोना संक्रमितहरूलाई हाइ फ्लो अक्सिजन चाहिने र अक्सिजनको माग अनुसार उत्पादन कम हुँदा अभाव भएको एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापा बताउँछन्‌। अफिन निजी अस्पतालहरूको छाता संगठन हो।

उनले भने, ‘अहिले हामीकहाँ उत्पादन हुनेभन्दा धेरै अक्सिजनको माग छ, जसकारण अभाव भएको हो।’

अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट छैन। ती अस्पतालले हालसम्म सिलिन्डरकै भरमा बिरामीहरूको उपचार गर्ने गरेका थिए। अहिले अक्सिजन दिनैपर्ने संक्रमितको चाप बढेको छ।

अक्सिजन अभाव भएपछि हात उठाउँदै

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले बिहीबार विहानै फेसबुकमा स्टाटस लेखे, ‘अक्सिजनको चरम अभाव रातभर त थामियो, अब गाह्रो भो। प्लीज हेल्प!’

राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना बिरामीहरूलाई उपचारार्थ अक्सिजन सहायतामा राखिएको छ। अभाव हुनै लागेपछि रातभर निर्देशक डा. पौड्याल लगायतको टोलीले एम्बुलेन्समा अक्सिजन ओसारेको थियो। उक्त अक्सिजनले समेत बिहान ७ बजेसम्म मात्र पुग्ने हुँदा त्यसपछिको अवस्था के हुन्छ भन्न नसकिने हुँदा सहयोग गर्न आग्रह समेत गरेका थिए।

राजधानीका ग्राण्डी, मेडिसिटी, नेपाल मेडिकल कलेज, ओम, हेल्पिङ ह्याण्ड, मेडिकेयर र अल्का लगायतका अस्पतालहरूले यसअघि नै कोभिडका थप बिरामी भर्ना गर्न नसक्ने भन्दै हात उठाइसकेका छन्।

उपत्यका बाहिर भैरहवा, बुटवल, कपिलवस्तु दाङ नेपालगञ्ज, धनगढी लगायतका स्थानमा समेत अक्सिजन अभाव भएको भन्दै बिरामीलाई आफैँ जिम्मेवार हुन भनिएको छ।

केही अस्पतालहरूमा त अक्सिजन अभाव हुँदा संक्रमितको मृत्यु नै भएको खबरहरू बाहिरिएका छन्‌।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा १०० बेड सञ्चालन गरेका अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइसकेको छ।

सीसीएमसीले नै व्यवस्थापन गर्न सकेन

मन्त्रालयका एक अधिकारीले कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले नै अक्सिजन व्यवस्थापन​ गर्ने भन्ने निर्णय हुँदा पनि यो समस्या आएको बताए।

ती अधिकारीले भने, ‘हुन त अहिले जति अक्सिजनको माग छ-त्यो अनुसार उत्पादन छैन, तर मन्त्रालयले नै व्यवस्थापन गर्दासम्म अलिक सहज भएको थियो, अहिले सीसीएमसीले व्यवस्थापन गर्नै सकेन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.