|

जनकपुरधाम  : विगत ३ वर्षदेखि जनकपुर–जयनगर रेल सेवाको संचालन मिति तोकिँदै सारिँदै आएकोमा यसपटक भनिएको वैशाखभित्र सञ्‍चालन हुने कुरा पनि प्रभावित भएको छ।

अरू बेला मिति तोके पनि आवश्यक तयारी नहुँदा सञ्चालन हुन नसकेको रेल सेवा यस पटक भने बढ्दो कोरोना महामारी दोस्रो लहरको कारण प्रभावित भएको छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको लागि तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा र नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए।

केही दिनअघि मात्रै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरिसकेका छन्।

त्यसैगरी, रेल्वे सञ्चालनको लागि व्यवस्था गरिएको नेपाली कर्मचारीलाई भारतीय कर्मचारीले १० दिनसम्म प्रशिक्षणसमेत दिएका थिए। तर, कोरोनाको बढ्दो कहर र लकडाउनको कारण ती भारतीय कर्मचारी तत्कालको लागि भारत नै फर्केको महाप्रबन्धक भट्टराईले बताए।

महाप्रबन्धक भट्टराईले भने, ‘यस पटक चाहिँ हामी रेल्वे सञ्चालनको अन्तिम तयारीमा थियौँ तर समयले धोका दियो।’ उनले लकडाउन र अवस्था सामान्य बन्दै गएपछि रेल सञ्चालन गरिने बताए।

पछिल्ला ३ वर्षदेखि जनकपुर–जयनगर रेल सञ्चालनको मिति तोकिने भए पनि सञ्चालन हुन नसकेपछि यहाँ स्थानीयले रेल संचालन नभएसम्म पत्याउनै मुस्किल भएको छ।

नेपाल सरकारले भारतबाट २०७७ असोज ७ गते नेपालमा २ वटा रेल भित्र्याएको थियो। रेल नेपाल ल्याएको दिन जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महिनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षा निगरानीमा राखिएको छ। दुवै रेललाई त्रिपालले छोपेर राखिएको छ।

नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरिद गरेको हो। नेपालको राष्ट्रिय झण्डाको रंग रातो, नीलो र सेतो रंग लगाइएको रेल इन्जिनसहित ६ वटा डब्बामा एकपटकमा १२ सयदेखि १३ सय यात्रु यात्रा गर्नसक्ने छ।

यसअघि नेपालमा कोइला इन्जिन भएको रेल चल्ने गर्थ्यो जुन विगत ७ वर्षदेखि बन्द अवस्थामा छ। अहिले ल्याइएको रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि(डिइएमयु) को रहेको छ। यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ।

रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १ सयजना कर्मचारी नियुक्त गरेको छ। अहिले पहिलो चरणमा जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले  बताए। उनले बाँकीको १७ किमी कुर्थादेखि बिजलपुरासम्म चालु आर्थिक वर्षभित्र नै सञ्चालन हुने जानकारी दिए।

भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माण गरिएको छ।

२०७६ माघ ६ गतेको मन्त्रिपरिषद्ले जयनगर–जनकपुर कुर्थाखण्डमा रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो। जसअनुसार आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिइएको हो।

रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दी आवश्यक छ। ‘औचित्य र आवश्यकताअनुसार प्रतिस्पर्धात्मक माध्यमबाट नेपाल रेल्वे कम्पनीका लागि करारमा कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषदले दिए पनि नियुक्ति प्रक्रियालाई लोकसेवा आयोगले रोकेपछि अहिले ज्यालादारीका रूपमा १ सयजना कर्मचारी नियुक्त गरिएको छ।

नेपालसँग कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको अनुभव छ र अहिले चलाउन लागिएको ‘ब्रोडगेज’ रेलबारे नेपालसँग अनुभव नभएको हुँदा भारतीय प्राविधिक कर्मचारीमार्फत सुरुमा रेल सञ्‍चालन गरिने बताइएको छ।

सन् २०१४ बाट ब्रोडगेज लिक निर्माणको काम सुरुवात भएको थियो। ३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो।

पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने सरकारको योजना छ। जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.