|

इलाम : नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिएपछि भारतसँग सीमा जोडिएको इलामका २ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल संचालनमा ल्याइएको छ।

सूर्योदय नगरपालिका र माइजोगमाईले अस्थायी अस्पताल संचालनमा ल्याएका हुन्। नेपाल–भारत नाका रहेको पशुपतिनगरमा मंगलबारबाट सूर्योदय नगरपालिकाले १० बेडको कोभिड–१९ अस्थायी अस्पताल नाम दिएर सञ्चालनमा ल्याएको हो।

माइजोगमाईले आजबाट नयाँबजारमा ५ बेडको अस्पताल संचालनमा ल्याएको छ। कोभिड अस्पतालमा बेड र अक्सिजन सिलिन्डर राखेर सुविधा दिइएको छ।

अस्पतालमा हाई फ्लो अक्सिजन उपलव्ध गराउँदा पनि अक्सिजन स्याचुरेशन सामान्य नआए अन्यत्र रिफर गरिने सूर्योदय नगर प्रमुख रणबहादुर राईले जानकारी दिए।

पशुपतिनगर स्वास्थ्य केन्द्रमा स्थापना गरिएको अस्थायी अस्पतालमा भेन्टीलेटर, आईसीयु , एचडीयू जस्ता सुविधा भने उपलब्ध छैन्। हाल पशुपतिनगरमा रहेको अस्थायी अस्पतालमा ४ थान ठुलो र ४ थान सानो अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ।

त्यसैगरी माइजोगमाई गाउँपालिकामा १८ वटा अक्सिजन सिलिन्डर रहेका छन्। आज ३ थान जोगमाई हाइड्रोले ठुलो सिलिन्डर गाउँपालिका अध्यक्ष जीतबहादुर राईलाई हस्तान्तरण गरेको छ। गाउँपालिका मार्फत १५ वटा सानो सिलिन्डर खरिद गरेर तयारी अवस्थामा राखिएको स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए। ५ जना सक्रिय संक्रमित रहेको माइजोगमाईमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ। 

झापासँग सिमाना जोडिएको माई नगरपालिकामा गत वर्ष स्थापना गरिएको ५ बेडको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको छ। नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिने बित्तिकै अस्थायी अस्पताललाई पुनः संचालनमा ल्याइएको माई अस्पतालका डा. रामकृष्ण आचार्यले जानकारी दिए।

नगरपालिकाले खाली रहेको कन्काई माविको भवनलाई कोभिड अस्पतालको रूपमा संचालनमा ल्याएको हो। नगरमा स्थापना गरिएको ६५ बेडको क्वारेन्टाइन मध्ये ५ बेडलाई अस्थायी कोभिड अस्पतालको रूपमा प्रयोगमा ल्याइएको आचार्यले जानकारी दिए। उनका अनुसार हाल नगरमा २० जना कोभिड संक्रमित रहेका छन्। जसमध्ये २ जनालाई आइसोलेसनमा राखिएको छ। बाँकी रहेकाहरू होम क्वारेन्टाइनमा छन्। 

सरकारले गत वर्ष अस्पताल नरहेको नेपालमा ६४९ स्थानीय तहमा कम्तीमा ५ बेडको अस्थायी कोभिड अस्पताल बनाउन निर्देशन दिएको थियो। कम्तीमा ३ महिनाका लागि अस्थायी अस्पताल निर्माणको लागि सरकारले प्रत्येक स्थानीय तहलाई १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सरकारको निर्देशनपछि स्थानीय तहले गत वर्ष बेड र आवश्यक सामाग्री खरिद गरेर कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि काम गरेका थिए। केहि दिन अघिमात्र प्रदेश एक सरकारले कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि इलाम अस्पताललाई १० लाख रुपैयाँ बजेट पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.