|

पर्सा : जिल्लाको नारायणी अस्पतालमा कोरोनाका ११ जना गम्भीर बिरामी भेन्टिलेटरमा उपचाररत छन्।

जिल्लामा बिहीबार बिहान मात्र ५ जनाले ज्यान गुमाइसकेका छन्। नारायणी अस्पतालमा कोरोनाका सक्रिय बिरामी केस १ सय २१ उपचार गराइरहेको नारायणीको भेन्टिलेटरमा मात्रै ११ बिरामीले उपचार गराइरहेका हुन्।

स्थानीय अन्य निजी अस्पतालमा थप कति जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्? भन्ने एकिन तथ्यांक भने जिल्ला प्रशासन कार्यालय पर्सासँग पनि नभएको प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए।

नारायणी अस्पतालमा भने आइसियुमा पनि ७५ जना बिरामीको उपचार भइरहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए। ७५ जना मध्ये ५७ पुरुष र १८ जना महिला छन्। त्यसैगरी, एचडीयुमा पनि ३० पुरुष र १६ महिला गरी ४६ जना रहेको डा.दासले बताए। नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा ८ गम्भीर बिरामी भर्ना भएका र ७ बिरामी निको भएर डिस्चार्ज भएको उनको भनाइ छ।

बिहबार बिहान मात्र पाँचको निधन

वीरगन्जका निजी र सरकारी अस्पतालमा गरी बिहीबार यो समाचार तयारपार्दासम्म ३ महिला र २ पुरुष गरी ५ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड पर्सन तथा प्रशासकीय अधिकृत श्रीवास्तवले बताए। 

मृतकहरुमा वीरगन्ज ५ की ५८ वर्षीया महिलाको राति १ बजेर ३० मिनेटमा, वीरगन्ज २१ का ५६ वर्षीय पुरुषको राति २ बजेर १६ मिनेटमा, वीरगन्ज २६ सुगौलीकी ४५ वर्षीया महिलाको राति साढे ३ बजे, वीरगन्ज १ का ६५ वर्षीय पुरुषको बिहान ५ बजे र पोखरिया १० की ६५ वर्षीया महिलाको बिहान ६ बजे निधन भएको उनले पुष्टि गरे।

वीरगन्ज क्षेत्रमा १०७ र पर्साका मात्र ६५ को निधन

बिहीबार बिहान मृत्यु भएकासहित पर्सामा दोस्रो लहरको कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको नेपाली सेनाको चण्डीप्रसाद गणका गणपति मदनजंग राणाले बताए। वीरगन्जका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका पनि संक्रमितमध्ये थप ४२ जनाको निधन भइसकेको छ। योसहित वीरगन्ज क्षेत्रमा मात्र दोस्रो लहरको कोरोनाका कारण १०७ जनाको निधन भएको उनको भनाइ छ।

आफन्तले पनि संक्रमित मृतकको दाहसंस्कार गर्दै

नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोले जम्मा मृतकको यकिन तथ्यांक अन्य निकायभन्दा अहिले नेपाली सेनासँग ठोस भएको पाइएको हो। प्रोटोकलअनुसार आफैँ पनि दाहसंस्कार गर्छौं भन्नेलाई सरकारले नै दिने भनेअनुसार यहाँको हकमा आफूहरुको निगरानीमा नै मृतकका आफन्तले पनि दाह संस्कार गर्दै आएको नेपाली सेनाको चण्डीप्रसाद गण वीरगन्जले जनाएको छ।

सेना एक्लैले मात्र अहिलेसम्म २० जनाको शव दाहसंस्कार गरेको गणपति राणाले बताए। अन्यको हकमा भने मृतकका आफन्तहरुले आफैँ दाहसंस्कार गर्ने भन्दा हुँदैन नभनेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.