|

दैलेख : गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पलामाजटिल खालका बिरामीहरूको उपचार गर्ने भन्दै आइसियु र भेन्टिलेटर कक्ष जडान गरिएको थियो। 

पाँच वटा आइसियु बेडसँगै दुई वटा भेन्टिलेटरका लागि लाखौँ रकम खर्च गरिएको भए पनि ती आइसियु र भेन्टिलेटर अहिले पनि दक्ष जनशक्ति अभावमा प्रयोगविहीन छन्।  

प्रयोगविहीन लाखौँका भेन्टिलेटर, तर बिरामीले उपचार पाएनन् शीर्षकमा २०७७ साउन २२ गते थाहाखबरमा समाचार प्रकाशनपछि तत्कालीन स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले भेन्टिलेटर र आइसियु सञ्चालन रहेको भन्दै ०७७ भदौ २२ गते पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए। 

तर करिब नौ महिनाअघि सञ्चालनमा रहेका आइसियु र भेन्टिलेटर अहिले पनि दक्ष जनशक्ति अभावमा भएकाले प्रयोगमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।

उपचारका लागि भन्दै आउने अधिकांश बिरामीहरू स्वासप्रस्वासको समस्याका हुन्छन्। हामीसँग भएको अक्सिजनको माध्यमबाट उपचार त गर्छौँ। तर बचाउन निकै समस्या भएको छ। भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नहुँदा पूजा गरी राखे जस्तै भएको कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक थिर प्रसाद रेग्मीले बताए। 

दैलेखमा विशेषज्ञ डाक्टर नहुँदा सुत्केरी गराउनसमेत सुर्खेत वा नेपालगन्ज पठाउने पर्ने बाध्यता रहेको रेग्मीको भनाइ छ।

यहाँ रहेको जनशक्तिले भेन्टिलेटर सञ्चालन गर्न सक्दैनन्। सम्बन्धित निकायमा विशेषज्ञ डाक्टरसहित भेन्टिलेटर, आइसियु सञ्चालनका लागि बारम्बार लिखित माग गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको उनले बताए। 

कोरोना सङ्क्रमणको जोखिम धेरै भएकालाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुने स्वास्थ्यकर्मी बताउँछन्। 

अहिले दैलेखमा स्वासप्रस्वास समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै छ। गम्भीर खालका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुग्ने गरेका छन्। 

दैलेखमा आज (बिहीबार) सम्म कोरोना सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ भने सक्रिय सङ्क्रमित सङ्ख्या तीन सय ८८ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।

यहाँका तीन सय ८८ सक्रिय सङ्क्रमितमध्ये ३३ जनाको आइसोलेसनमा उपचार भइरहेको र बाँकी तीन सय ५५ जना होम आइसोलेसनमा रहेको निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.