|

रौतहट :  जनशक्ति अभावमा गौर अस्पतालका आइसियु र भेन्टिलेटर प्रयोगविहीन बनेका छन्।   दक्ष जनशक्ति नहुँदा गौर अस्पतालमा १० बेडको आइसियु, ४ भेन्टिलेटर तथा १५ वटा एचडियु बेड सञ्‍चालन हुन नसकेको हो। कोरोना संक्रमित बिरामी मृत्युको मुखमा पुग्दासमेत यी मेशिनहरु प्रयोगमा आउन नसक्‍नु अत्यन्तै दु:खको कुरा हो।

जनशक्तिकै अभावमा आइसियु र भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको गौर अस्पतालका मेसु डा. कृष्णा साहले स्वीकारेका छन्। दरबन्दीअनुसारको कर्मचारी नहुँदा बिरामीहरुको उपचारमा धेरै कठिनाइ भएको डा. साहको गुनासो छ।

स्रोत र साधन भएर पनि उपयोगमा ल्याउन नसक्नु दुखद भएको डा. साहले प्रतिक्रिया दिएका छन्।

गौर अस्पतालको भवनको पछाडि पश्चिमपट्टि एउटा अर्को भवनलाई अस्थायी कोभिड वार्ड बनाइएको छ। गौर अस्पतालकै चिकित्सकहरु ड्युटी मिलाएर कोभिड वार्डमा खटिएका छन्। यो अस्थायी अस्पतालमा बुधबार पनि २ जनाले ज्यान गुमाएको डा. साहले जानकारी दिएका छन्।

बुधबारसम्म गौर अस्पतालमा उपचारको क्रममा १८ जनाले ज्यान गुमाइसकेका छन्। गौरमा रहेको कोभिड अस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाउन थालेको स्थानीयको आरोप छ।

जिल्लामा जनशक्ति पठाउनका लागि सम्बन्धित निकायमा ताकेता गर्दासमेत आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध हुन नसकेको डा. साह बताउछन्। स्वाब परीक्षणको लागि पिसिआर ल्याबमा पनि जनशक्तिको चरम अभाव रहेको उनले बताए।

कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आइसियु र भेन्टीलेटर सेवा दिन नसकेको डा. साहको भनाइ रहेको छ।

गौर अस्पतालको पिसिआर ल्याबमा १४ जना कर्मचारी हुनुपर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेको डा. साहले बताए। प्रदेशसँग मेडिकल अफिसर, पारामेडिक्सलगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको उनले जानकारी दिए।

अब केही दिनभित्र एमडी जिपी, एनेस्थेसिया, पारामेडिक्स र फिजियसन तथा नर्सिङ स्टाफ भर्ना गर्ने उनले बताए। कर्मचारी अभावमा अस्पताल र कोभिड वार्ड दुवै सञ्‍चालन गर्न गाह्रो भएको उनले बताए। गत वैशाख १३ गतेयता रौतहटमा जिल्ला बाहिर र जिल्लाभित्र गरी २८ जनाले कोभिडको कारण ज्यान गुमाइसकेका छन्। बुधबार मात्रै रौतहटमा ५६ जना नया संक्रमित थपिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.