|

दाङ : शान्तिनगर गाउँपालिका-३ का ३८ वर्षीय हुमबहादुर परियार बिहीबार १२ दिनपछि कोरोना जितेर डिस्चार्ज भएका छन्।

उनले कोरोना जित्छन् भन्ने आश न परिवारलाई थियो न आफन्तलाई। चिकित्सक र स्वास्थ्यकर्मीले पनि उनको अवस्था देखेर माया मार्न लागेका थिए। तर उनले कोरोना जितेर नयाँ जीवन पाएका छन्। अहिले परिवारमा खुसी फर्किएको छ।   

परियार दैनिकी मजदुरी गर्ने व्यक्ति हुन् परियार उनलाई सुरुमा रुघाखोकी र ज्वरो आयो। त्यसपछि उनी धेरै बिरामी भए। तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि गए। 

अस्पतालले उनलाई कोरोना शंका गरेपछि उपचार नगरी पिसिआर जाँच गर्न पठायो। त्यसपछि उनलाई एम्बुलेन्समा पिसिआर जाँचका लागि घोराही लगियो। त्यति बेला उनको अवस्था गम्भीर भइसकेको थियो।

परियारको स्वाब पिसिआर परीक्षणका लागि दिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो। त्यहाँ पनि कोरोना पुष्टि नहुँदासम्म अस्पतालमा भर्ना गरिएन। परियारका आफन्तले त्यति बेलासम्म हार खाइसकेका थिए। उनको अवस्था बिग्रिँदै गएको थियो।

‘आर्थिक अभावका कारण बाहिर लग्न पनि नसक्ने र कोरोना पुष्टि नहुँदा अस्पतालमा भर्ना नलिने भन्यो, हामीले आश मारिसकेका थियौँ,’ आफन्त प्रेम परियारले  भने, ‘उहाँ बाँच्नुहुन्छ, जस्तो लागेको थिएन। बिरामीको अवस्था निकै नाजुक थियो।’

उनले थपे, 'अब मरे पनि बाँचे पनि गाउँमै भनेर गाउँपालिकाको सम्पर्क गरेर आइसोलेसनमा लगेका थियौँ। आज १२ दिनपछि कोरोना जितेर आउँदा नयाँ जीवन पाउनुभएको छ। आज धेरै खुशी लागेको छ।'

हुमबहादुरसँगै उनकी श्रीमती पवित्रालाई पनि कोरोना पुष्टि भएको थियो। श्रीमान् बिरामी भएपछि उपचार गर्न लैजाँदा आफूलाई पनि कोरोना संक्रमणको डर लागेको उनी बताउँछिन्। तर, आज दुवैले कोरोना जितेर घर आउन पाउँदा उनलाई नयाँ जीवन पाएजस्तो लागेको छ।

‘हाम्रो आर्थिक अभाव निकै कमजोर छ। त्यसमा पनि श्रीमानलाई यस्तो रोग लाग्यो छ। उपचार गर्न लैजाँदासमेत अस्पतालले भर्ना लिएन। बाँचिएलाजस्तो लागेको थिएन। आज नयाँ जीवन पाएर आएका छौँ। हामीलाई बचाउने डाक्टर भगवान नै हुन्,' पवित्राले बताइन्। 

परियारलाई  १२ दिनसम्म आइसोलेसनमा उपचार गरेर ठिक भएपछि आफूहरुलाई पनि धेरै खुशी लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुन बताउँछन्।  उनका अनुसार परियारलाई १७ गते कोरोना पुष्टि भएको हो।

भने, ‘हुमबहादुरलाई आइसोलेसनमा ल्याउँदा बाँच्ने सम्भावना एक प्रतिशत मात्र देखेका थियौँ। अक्सिजनको मात्र ६० प्रतिशत मात्र थियो। हामीले मात्र नभई परिवारले समेत माया मारेका थिए। तर, आज १२ दिनपछि कोरोना जितेर जानुभएको छ। आज धेरै खुशी लागेको छ।’

अक्सिजन अभावका बेला पनि यस्तो बिरामीलाई बचाउन सकिन्छ भन्ने आफूहरुले कल्पनासमेत नगरेको पुन बताउँछन्।

हुमबहादुरलाई १० दिनसम्म अक्सिजन दिएर राखिएको थियो। २ दिनसम्म अक्सिजनबिना राख्दा कुनै पनि समस्या नदेखिएपछि उनलाई र श्रीमतीलाई बिहीबार डिस्चार्ज गरिएको अस्पतालले बताएको छ।

उनले आइसोलेसनमा अक्सिजन मात्र नभई अन्य स्वास्थ्य सामग्रीसमेत पर्याप्त नभएको बताए। अक्सिजन अभावले गर्दा एउटा सिलिण्डरबाट २ जना बिरामीलाई दिँदै आएका छौँ।

अहिले पनि बाहिर रिफर गर्नु पर्ने बिरामी भए पनि बेड नहुँदा आइसोलेसनमा राखेको उनले बताए। गाउँपालिकाले एक जना डाक्टरलाई करारमा ल्याएर आइसोलेसन संचालन गरिरहेको समेत उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.