|

काठमाडौं :  युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल टर्कीको स्तानबुलबाट पोर्चुगलको पोर्टो सरेको छ।

कोरोना महामारीका कारण युइएफएले यो निर्णय गरेको हो। पोर्टोको स्टुडियो डो ड्रगाओमा हुने खेलमा दुबै क्लबले समान ६-६ हजार दर्शकलाई मैदानमा अनुमति दिन पाउने छन्। फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन्। फाइनल ३० मे मा हुने छ।

टर्की रेड लिस्टमा 

यसअघि खेलाउने तय भएको इस्तानबुलको अतातुर्क स्टेडियम बढ्दो कोरोनाका कारण सारिएको हो। टर्कीलाई इङ्ल्याण्डले रेड जोनको लिस्टमा राखेको छ। यदि त्यहाँ खेल्न गएका खेलाडी १४ दिनको अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने थियो भने दर्शक प्रवेश पुर्ण रुपमा निषेध हुने थियो। लामो समय दर्शकविहीन बनेको प्रतियोगितामा यो पटक फाइनलमा भने केहि दर्शकको उपस्थिति युइएफएले चाहेको थियो।

पोर्चुगल इङ्ल्याण्डको ग्रिन लिस्टमा भएकाले दर्शकले समेत सहज रुपमा मैदानमा इन्ट्री पाउने भएकाले तथा पोर्चुगलले छोटो समयमा तयारी सम्पन्न गरेकाले च्याम्पियन्स लिगको फाइनल खेलाउने अवसर पाएको हो।

२४ मे देखि टिकट बिक्री

स्टेडियममा अहिलेसम्म १२ हजार समर्थकलाई अनुमति दिने भनिएपनि कति दर्शकलाई मैदान प्रवेश गराउने भन्ने तय हुन अझै बाँकी छ। यद्यपी समान ६-६ हजार समर्थकहरुले भने २४ मे बाट टीकट काट्न पाउने छन्। यो संख्या इस्तानबुलका लागि समेत तय भएकाले थप दर्शक संख्या बढ्ने अनुमान गरिएको छ।

फाइनलमा तेस्रो पटक भिड्दै इङ्लिस टिम

च्याम्पियन्स लिग फुटबलको फाइनलमा दुई इङ्लिस क्लब तेस्रो पटक फाइनलमा भिडन्त गर्दै छन्। म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्दा चेल्सीले २०१२ पछि फाइनल यात्रा तय गर्यो।

इङ्लिस क्लबहरुले यसअघि २००८ र २०१९ मा स्थान बनाएका थिए। २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेका थिए।  त्यस्तै २०१९ मा लिभरपुल र टोटनह्यामले फाइनलमा स्थान बनाउँदा त्यसपछि पुन दुई इङ्लिस क्बल भिड्न लामो प्रतिक्षा गर्नु परेन जारी सिजन सिटी र चेल्सीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्।

चेल्सी रियल म्याड्रिडलाई समग्रमा ३-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा तेस्रो पटक स्थान बनाउन सफल हुँदा म्यानचेस्टर सिटी भने फाइनल अनुभव नभएको टीम हो तर पछिल्ला वर्षहरुमा सर्वाधिक दाबेदार पनि सिटी नै हो। चेल्सी म्यानचेस्टर युनाइटेड र लिभरपुलपछि धेरै फाइनलमा पुग्ने इङ्लिस क्लब बन्यो। यसअघि पहिलो पटक २००८ र त्यसपछि २०१२ मा फाइनलमा पुगेको थियो। २०१२ मा जर्मन क्लब बार्यन म्युनिखलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै उपाधि जितेको चेल्सी पुन ९ वर्षपछि उपाधि उचाल्ने प्रयासमा हुने छ।

 चेल्सीका प्रशिक्षक थोमस टुचेल फरक क्लब समालेर लगातार फाइनल पुग्ने पहिलो प्रशिक्षक समेत बने। अघिल्लो सिजन उनले पिएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फाइनल पुग्ने फरक नवौं इङ्लिस क्लबको रुपमा रह्यो।  इङ्लिस पछि सर्वाधिक धेरै फाइनल पुग्ने क्लबहरु जर्मनी र इट्लीका रहेका छन्।

उनीहरुका समान ६ फरक क्लबले फाइनल यात्रा तय गरेका छन्।  सिटीका प्रशिक्षक पेप ग्वार्डिओला २०१०-११ को सिजन पछि फाइनलमा पुगेका हुन्। त्यसैले लामो समयपछि उपाधि जित्ने विश्वास पेपमा रहेको छ। यि दुई टिमको फाइनल भिडन्त रोमाञ्चक हुने आँकलन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.