|

बुटवल : लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामध्ये दाङका ६ र बाँकेका आठ छन्।
    

कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एकजनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ की ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ का ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेकी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेकी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो। 

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ का २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिकाका ४० वर्षीय पुरुषको मृत्यु भएको छ। खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२२ पुगेको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।

दाङमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन्। सोमध्ये पाँचको संस्थागत आइसोलेशन र एक होम आइसोलेशनमा बसेका संक्रमितको मृत्यु भएको छ।

उक्त उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का ६२ वर्षीय पुरुष र १२ का ६७ वर्षीय पुरुष मृत्यु भएको हो। यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर–८ की ३० वर्षीया महिलाको मृत्यु भएको छ।

यस्तै, कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई संक्रमितको मृत्यु भएको छ। वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर–१९ का ४९ वर्षीया महिलाको बिहीबार राति १ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोण वलीले जानकारी दिए।

वलीका अनुसार तुलसीपुर–९ की २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७ बजेतिर मृत्यु भएको छ। यस्तै, होम आइसोलेशनमा बसेका घोराही–९ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै वैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ पुगेको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.