समुदायमा भेटिन थाले कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामी

|

रुकुम (पूर्व) : एन्टिजेन किटको अभाव भएपछि रुकुमकोटमा पिसिआर परीक्षण स्थगित गरिएको छ। कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गर्ने एन्टिजेन किटको अभाव भएपछि तत्कालका लागि कोरोना परीक्षण स्थगित गरिएको हो।

बिहीबारदेखि रुकुमपूर्व अस्पताल रुकुमकोटमा कोरोना परीक्षण रोकिएको अस्पतालका डाक्टर गणेश चौधरीले जानकारी दिए। जिल्लामा प्राप्त भएको २ सय किट मध्ये २५-२५ वटा किट भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा पठाइएको थियो। भूमे र पुथाउत्तरगंगामा केही किट मौज्दात रहे पनि रुकुमपूर्व अस्पतालमा किट सकिएपछि बिहीबारदेखि परीक्षण स्थगित भएको डाक्टर चौधरीले बताए।

किट अभाव भएपछि कोरोना भाइरससँग मिल्दोजुल्दो भएका बिरामीको परीक्षण रोकिएको छ। समुदायस्तरमा समेत कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको स्थानीय स्वास्थ्य संस्थाले बताएका छन्। जिल्लाका विभिन्न समुदायमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी संख्या बढ्दो क्रममा रहेको छ।

रुकुमपूर्व अस्पतालमा रुकुमकोट आसपासका बिरामी मात्र दैनिक १० जनाको हाराहारीमा परीक्षण  गर्न आउँदा ४-५ जनामा कोरोना पुष्टि नै हुने गरेको थियो।

यसभन्दा अघि जिल्लामा प्राप्त भएको एन्टिजेन किट सकिएपछि अस्पतालमै आउने गरेका बिरामीको परीक्षण रोकिएकोले समुदायमा झन् त्रास भएको छ।

अहिलेसम्म जिल्लाभरि १ सय ६९ जनाको नमुना परीक्षण गर्दा ४९ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये ६ जनाको रुकुमपूर्व अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य संक्रमितहरू होम आइसोलेसनमा बसेका छन। चार जनालाई केही दिन होम आइसोलेसनमा बस्ने गरी अस्पतालबाट डिस्चार्ज गरिएको छ।

स्थानीय तहले किट मगायो

यसैबीच सिस्ने गाउँपालिकाले किट ल्याउने तयारी गरेको छ। तत्काल कोरोना परीक्षण सुचारु गर्नका लागि तीन सय एन्टिजेन किट ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्। शुक्रबार (आज) सम्ममा तीन सय किट आइपुग्ने उनको भनाइ छ। सिस्ने गाउँपालिकामा किट आइपुगेपछि रुकुमपूर्व अस्पतालमा परीक्षण पुनः सुरु हुने छ। यसैगरी ज्वरो फैलिको समुदाय पनि परीक्षण गरिने अध्यक्ष बरालले जानकारी दिइन्।

भूमे गाउँपालिकाले पनि किट ल्याउने तयारी गरेको छ। अहिले ५० किट खरिद गरेर ल्याउन लागिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए। प्रदेशमा पनि प्रयाप्त मात्रामा किट नहुँदा आपूर्ति गर्न समस्या भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.