|

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेको तरकारी असिना र कोरोनाले गर्दा खाल्डो खनेर पुर्नुपरेको छ।

गत वैशाख १६ गते आएको असिना पानीले तरकारीलाई असर पारेको थियो। ती तरकारीलाई कोरोना संक्रमण न्यूनीकरणको लागि लागू भएको निषेधाज्ञाले गर्दा समयमा बिक्री गर्न नपाएपछि खाल्डो खनेर पुर्नुपर्ने अवस्था आएको हो।

थाहानगरको बज्रबाराही कृषक मुक्तिनाथ उप्रेतीको अनुसार बज्रबाराहीमा अन्य तरकारीको तुलनामा काउली धेरै क्षेत्रफलमा लगाइएको छ। तर, असिना पानीले दाग लागेको काउली कोरोनाले गर्दा बेच्न नपाएपछि समस्या सिर्जना भएको  हो।

‘असिनाले हानेर  तरकारीमा दाग लागेको थियो। त्यसको १-२ दिनमै बेच्न पाएको भए केही पनि हुँदैनथ्यो तर हामीले समयमा बेच्न पाएनौँ त्यसैले खाल्डो खनेर पुर्नुपरेको छ’  उनले भने।

उप्रेतीले असिनापानी परे लगत्तै थाहानगरपालिका  , भीमफेदी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकामा भएको निषेधाज्ञाले तरकारी बिक्री गर्न नपाएको बताए। उनले यस वर्ष आफूले २३ रोपनी जग्गामा काउली मात्रै लगाएको बताए। उनले भने, ‘यो वर्ष मैले धेरै मात्रामा काउली लगाए, यही वर्ष यस्तो पर्‍यो। तरकारी लगिदेउ भनेर व्यापारीहरूलाई हारगुहार गर्दा पनि नबिकेर केही समयअघि मात्रै मैले खाल्डो खनेर पुरेँ। अहिले हामीले १० रुपैयाँ प्रतिकेजीमा मात्रै काउली बिक्री भए पनि  खुशी हुने अवस्था छ।’

६ रोपनी मात्रै आफ्नो जग्गा भएको उप्रेतीले १९ रोपनी भने भाडामा  लिएका छन्। जसको वार्षिक रुपमा ४ लाख रुपैयाँ भाडा तिर्नुपर्दछ। तर, जग्गामा लगाएको तरकारी यसरी काटेर फाल्नु परेपछि भाडा  कसरी तिर्ने भन्नेमा उनी चिन्तित छन्।

अहिले ती क्षेत्रमा काउली, मुला, बन्दा, केराउ (मटरकोसा) उत्पादनको समय हो। तरकारी उत्पादनको लागि मकवानपुरको पकेट क्षेत्रको रुपमा रहेको थाहानगरको तरकारी गाउँमै काटेर फाल्नुपर्ने अवस्था आएको छ भने हेटौंडाको बजारमा भने तरकारी महँगो मूल्यमा किनेर खानुपर्ने बाध्यता  छ।

उत्पादन भएको तरकारीको बजारीकरणको लागि स्थानीय तहले चासो नदेखाउदा कृषकहरू मारमा परेको उप्रेतीको भनाइ छ।

मुक्तिनाथ जस्तै अर्का किसान रामजीको पनि पीडा उस्तै छ। उनले पनि १० रोपनी जग्गामा काउली र २ रोपनी जग्गामा आलु लगाएका छन्। आलु फल्ने क्रममै छ भने काउली सकिन लाग्दा पनि आम्दानी सुक्को भएको छैन। गत वैशाख १६ गतेको असिनाले ७० प्रतिशत तरकारी नष्ट भएको थियो भने बाकी ३० प्रतिशत तरकारी निषेधाज्ञाले गर्दा बिक्री भएको छैन।

लकडाउनले नोक्सानी

गतवर्ष पनि यस्तै बेलामा लकडाउन भएर त्यत्रो नोक्सान व्यहोर्नु पर्यो।  यो वर्ष पनि खर्चसमेत उठ्ने भएन, उनले भने “अहिले पनि म खेतमै निस्कन लागेको हो, बजार सबै बन्द छ  व्यापारीलाई तरकारी लैजाउ हामीलाई मलजलको पैसा मात्रै दिए हुन्छ भन्दा पनि लादैनन्।

त्यसैले आज पनि ५५ सय जति बोटको काउली काटेर खाल्डोमा पुर्नुपर्ने छ।’ उनले मुस्किलले केही किलो मात्रै तरकारी ८ देखी १० रुपैयाँ किलोमा बेच्न पाएको बताए। काउलीबाट ठूलो नोक्सानी व्यहोरेका उनले आलुबाट चाहिँ केही आम्दानी हुने आशा गरेका छन्।  गत कार्तिकमा ब्याड राखेर शुरु भएको तरकारी उत्पादनको मिहिनेतले फल पाउने बेलामा यस्तो भएको भन्दै उनले दुःख व्यक्त गरे।

बन्दले बजार माग घट्यो

थाहा नगरपालिकाको मेयर लवशेर विष्टले नगरपालिकाको वडा नम्वर ६ , ९ र १० मा अहिलेको यो सिजनमा तरकारी उत्पादन भइरहेको बताए। उनले अरू मौसममा नगरको सबै वडामा तरकारी उत्पादन हुने भए पनि यो मौसममा भने ३ वटा वडामा मात्रै तरकारी उत्पादन हुने गरेको बताए। विष्टले किसानहरूले ठूलो मात्रामा तरकारी उत्पादन गरेको तर बन्दले गर्दा बजार माग घटेकोले तरकारी फाल्नुपर्ने अवस्था आएको बताए।

विष्टले भने, ‘हाम्रोमा एकदम ठूलो मात्रामा तरकारी उत्पादन हुन्छ तर अहिले बन्दले तरकारीको माग घटेको छ। किनकी यो सिजनमा विवाहजस्ता विभिन्न कार्य हुन्थ्यो भने होटलहरूले पनि प्रशस्त मात्रामा तरकारी खरिद गर्थे तर अहिले बन्दले गर्दा त्यस्तो हुन नसकेपछि तरकारीले बजार नपाएको हो।’

उनले हेटौंडा पनि सानो बजार भएकोले थाहानगरमा उत्पादन भएको प्रायः तरकारी काठमाण्डौ जाने गरेको भन्दै बन्दले काठमाण्डौं पनि तरकारी पठाउन नसकेको बताए। गतवर्षको लकडाउनमा आफ्नो स्थानीय तहमा उत्पादन भएको तरकारीको बजारिकरणका लागि पहल गरेपनि किसानलाई प्रतिफल प्राप्त नभएकोले यस वर्ष के गर्ने भन्ने निर्णय लिन नसकेको उनको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.