|

रुकुम (पूर्व) : कोरोना रोकथामको पहलमा रुकुमपूर्वका राजनीतिक दलहरू एकजुट भएर लागेका छन्। हिमाली जिल्ला रुकुमपूर्वमा पनि कोरोना संक्रमण दिनहुँ थपिरहँदा रोकथामको पहलमा जिल्लास्थित राजनीतिक दल एकजुट भएर लागेका हुन्।

जिल्लालाई कोरोना संक्रमण न्यूनीकरण गर्नका लागि जिल्लास्थित क्रियाशील राजनीतिक दलहरूको एकैस्वरमा ‘नागरिकको सुरक्षा हाम्रो प्राथमिकता’ भन्ने एजेण्डाको  उद्घोषका साथ चासो लिएर पहल कदमीमा लागेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवदी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गरी पाँच दलका कार्यकर्ता एकजुट भएर नागरिकको स्वास्थ्य सुरक्षाका लागि पहल कदमीमा अग्रसर भई लागेका हु्न्।

केही दिनअघि मात्र यी पाँच दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालयमा कोरोना रोकथामका लागि थप पहल ल्याउन हुन भनि ध्यानाकर्षण गरेका थिए।

त्यसलगत्तै बिहीबार पाँच राजनीति दलका एक-एक प्रतिनिधिको सहभागीतामा जिल्ला प्रशासन कार्यालय, रुकुमपूर्व अस्पताल रुकुमकोट र सिस्ने गाउँपालिकासँग कोरोना रोकथामका लागि परामर्श गरेका हुन्। जिल्लामा समुदायस्तरमै कोरोना भाइरस संक्रमण देखिन थालेपछि जिल्लाका क्रियाशील राजनीतिक दलले जिल्लास्थित सरोकारवालासँग परामर्श थालिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य कृष्ण रेग्मीले बताए।

परामर्शको क्रममा रुकुमपूर्व अस्पतालमा हाल कोरोना संक्रमित भएकामध्ये अक्सिजन सहितको उपचार भइरहेको बिरामीको स्वास्थ्य उपचारको अवस्थाबारे बुझिएको र समस्यालाई समाधान गर्नेतर्फ सबै एकजुट भएर लाग्नेबारे छलफल भएको रेग्मीले जानकारी दिए।

हाल कोरोना संक्रमणको जोखिमले हरेक नागरिकलाई साँझ बिहान हातमुख जोहो गर्न एकातिर समस्या झेलिरहेका छन् भने अर्कोतर्फ संक्रमित बिरामीको उपचारमा विभिन्न अभावले उत्तिकै समस्यामा बल्झी रहेको अवस्थामा पहिलो प्राथमिक्ता जिल्लाबासीलाई बचाउने विषय रहेको नेकपा एमालेका जिल्ला संयोजक टोपबहादुर ओलीले जानकारी दिए।

जसअनुसार अहिले आफूहरू विभिन्न पार्टीका प्रतिनिधि भएपछि महामारीसँग लड्न एकजुट भएर पहल कदमी लिइरहेको ओलीले बताए।

संक्रमितको सङ्ख्या थपिरहेकाले हाल अस्पतालमा सीमित स्रोतसाधन रहेकोले थप चुनौती देखिएको अस्पतालका प्रमुख गणेश चौधरीले जानकारी दिए। हाल अस्पतालमा ६ वेडको मात्र आइसोलेसन रहेकोले कोरोनाका बिरामी थपिएमा उपचारमा समस्या हुने चौधरीले बताए। कोरोना परीक्षणका लागि थप परीक्षण किट, सङ्क्रमित बिरानीलाई अक्सिजन र कोरोना बिरामीको स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिदिएमा कोरोना रोकथाम कार्यमा सहज हुने अस्पतालका प्रमुख चौधरीको भनाइ छ।

अस्पताल, जिल्ला प्रशासन र सिस्ने गाउँपालिकासँग कोरोना रोकथामका लागि राजनीति दलले परामर्श गरेपछि संयुक्त रूपमै नागरिकको स्वास्थ्य अवस्था बुझ्न खटिने निर्णय गरिएको छ। गाउँपालिकाले मगाएको एन्टिजेन कीट आइपुग्ना साथ कोरोनाको सङ्क्रमण देखिएको समुदायमा वडाध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी राजनीति दलका प्रतिनिधिको सहकार्यमा नमुनाको रूपमा परीक्षणमा लाग्ने संयुक्त निर्णय गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।

कोरोना फैलिन नदिनका लागि गाउँपालिका संवेदनशील भएर लागि रहेको अध्यक्ष बरालले बताइन्। नेकपा एमालेका जिल्ला संयोजक टोपबहदुर ओली, नेपाली काँग्रेसका प्रतिनिधि वीरेन्द्र बस्नेत, नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य कृष्ण रेग्मी, जसपाका केन्द्रीय सदस्य उपेन्द्रलाल कामी, जनमोर्चाका जिल्ला अध्यक्ष चन्द्रबिक्रम शाहीले कोरोना रोकथामका लागि सरोकारवालासँग छलफल गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.