|

काठमाडौं : केपी शर्मा ओलीले शुक्रबार तेस्रो पटक प्रधानमन्त्री पदको सपथग्रहण गरेका छन्। संसदमा विश्वासको मत लिन नसकेर पनि प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीले तीन वटा इतिहास रचेका छन्।

एउटा हो उनी सबैभन्दा लामो कार्यकाल चलाउने कम्युनिस्ट प्रधानमन्त्री बनेका छन् भने अर्को हो सबैभन्दा धेरै पटक बन्ने कम्युनिस्ट प्रधानमन्त्री। योसँगै ओलीले लगातार दुई पटक कम्युनिस्ट प्रधानमन्त्री बन्ने समेत इतिहास बनाएका छन्।

उनीभन्दा पहिले न कुनै कम्युनिस्ट नेता तेस्रो पटक प्रधानमन्त्री बनेको इतिहास छ भने न कुनै नेताले दुई वर्ष बढी कार्यकाल चलाएको इतिहास नै। नत ओलीको जस्तो अरु कुनै नेता लगातार दुई पटक प्रधानमन्त्री बनेका छन्।

कम्युनिस्ट पार्टीबाट छैटौं प्रधानमन्त्री बनेका ओलीले पछिल्लो पटक तीन वर्ष बढी कार्यकाल चलाएका छन्। पहिलो पटक ओली २०७२ असोज २४ देखि ०७३ साउन ९ गते सम्म प्रधानमन्त्री बनेका थिए।

पछिल्लो पटक संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेका उनी विपक्षी दलहरुले पनि राष्ट्रपति समक्ष बहुमतको दाबी पेश गर्न नसकेपछि संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका छन्।

ओलीले अब ३० दिन भित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्छ। विश्वासको मत लिन सके दुई वर्षको लागि प्रधानमन्त्री बन्ने छन् भने विश्वासको मत लिन नसके संविधानत: संसद विघटन गरी निर्वाचनकाे घाेषणा गर्न सक्नेछन्।

प्रधानमन्त्री बन्न संसदमा १३६ जना सांसदकाे आवश्यकता पर्छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्रै १३६ सांसद पुर्‍याउन सक्ने अवस्था छैन। उनीहरुलाई बहुमत पुर्‍याउन जनता समाजवादीले अथवा एमालेको माधव नेपाल समूहले साथ दिनुपर्छ। जुन कुरा अहिले सम्भव देखिँदैन। 

स्तो छ कम्युनिस्ट प्रधानमन्त्रीको इतिहास

मनमोहन अधिकारी कम्युनिस्टका पहिलो प्रधानमन्त्री हुन्। उनी २०५१ देखि ०५२ सम्म ९ महिना प्रधानमन्त्री बनेका थिए। 

दोस्रो कम्युनिस्ट प्रधानमन्त्री हुन पुष्पकमल दाहाल प्रचण्ड। उनी पहिलो पटक संविधान सभाकाे निर्वाचन पछि संसदकाे ठूलाे दलकाे नेताकाे हैसियतले २०६५ मा प्रधानमन्त्री बनेका थिए। उनकाे पहिलाे कार्यकाल ०६६ सम्म मात्र रह्याे। 

उनी दोस्रो पटक ०७३ देखि ०७४ सम्म प्रधानमन्त्री बनेका थिए। प्रचण्ड, ओली पछि बढी पटक प्रधानमन्त्री हुने कम्युनिस्ट नेता हुन्। बाँकी कम्युनिस्ट नेताहरु काेही पनि प्रधानमन्त्रीमा दाेहाेरिएकाे इतिहास छैन।

कम्युनिस्टको तेस्रो प्रधानमन्त्री हुन् माधवकुमार नेपाल। उनी २०६६ देखि ०६७ सम्म प्रधानमन्त्री बनेका थिए। नेपाल नेतृत्वकाे सरकार ढालेर एमालेकै नेता झलनाथ खनाल कम्युनिस्टका चौथो प्रधानमन्त्री हुन्। उनी ०६७ देखि ०६८ सम्म प्रधानमन्त्री बनेका थिए।

कम्युनिस्टको पाँचौ प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन्। उनी नेकपा माओवादीका तर्फबाट ०६८ देखि ०६९ सम्म प्रधानमन्त्री बनेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.