|

आफूमाथि लगाइएको ‘अयोग्य’को बिल्ला खारेज गर्नुपर्ने र सरकारले दिने भनेको दुई लाख रूपैयाँ पाउनुपर्ने मागसहित विभिन्न संघर्षका कार्यक्रममा सहभागी हुन इलामबाट काठमाडौं आएकी पूर्व लडाकु नीरा गुरुङलाई अहिले काठमाडौं र इलाम गर्दै ठिक्क छ। उनीलगायत चार हजार आठ जना अयोग्य लडाकुको नाममा केपी ओली नेतृत्वको सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ दिने घोषणा गरेको दुई वर्ष पुग्न लाग्दासमेत उनहरूले सो रकम पाउन सकेका छैनन्। 

सर्वोच्च अदालतले अहिलेलाई रकम नदिनु भनेर अन्तरिम आदेश जारी गरेको पनि वर्ष दिन भन्दा धेरै भइसकेको छ। इलामको चमैतामा घरगृहस्थी गरेर बसेका नीरा जस्ता अयोग्य लडाकुहरू पटक पटक शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न काठमाडौंमा भेला हुने गरेका छन्। सरकारले दिने भनेको रकम पाइन्छ कि भन्दै ऋण गरेरै आन्दोलनका लागि काठमाडौं जाँदा आँउदा मात्र पनि हजारौं रुपैयाँ खर्च भइसकेको उनीहरू बताउँछन्। 

यसरी पटक पटक धर्ना दिने र प्रदर्शन गर्ने गरे पनि न त अदालतले नै उनीहरूको कुरा सुनेको छ, न पार्टीका नेताहरूले नै उनीहरूको मर्म बुझेका छन्। ‘पटक पटक सिंहदरबार र पेरिसडाँडा धाउँदा पनि केही नभएपछि निराश बन्ने अवस्था छ’, नीरा भन्छिन्। 

पीडामै बित्यो बाल्यकाल

उनले सानैमा बुबा गुमाइन्। बुबाको निधनपछि घरको आर्थिक अवस्था लथालिंग भएपछि ससाना दुई भाइ र उनलाई मामाघरकी हजुरआमा र बहिनीको जिम्मा लगाएर उनकी आमा रोजगारी खोज्दै विदेश पुगिन्। बुबालाई सदाको लागि गुमाएकी नीराले बाल्यकालमा आमाको काखमा रमाउने उमेर सानिमासँगै गुजार्नुपर्‍यो। 

इलामको चमैतामा मामाघर थियो उनको। घरको आर्थिक अवस्था राम्रो नभएको र बुबाको मृत्यु भइसकेको कारण उनका सबै परिवार मामाघरमा बस्न थाले। त्यहीँ उनले आफ्नो बाल्यकाल बिताइन्। 

यसरी देखिन् परिवर्तनको सपना

कक्षा सातमा पढ्दै गर्दा नीरा देश र जनताको मुक्ति र परिवर्तन गर्ने सपना बोकेर जनयुद्धमा होमिइन्। गाउँका धेरै साथी जनयुद्धमा होमिइसकेका थिए। साथीहरूको सिको गर्दै उनी पनि जनमुक्ति सेना बन्न पुगिन्। 

त्यतिबेला माओवादी गाउँका कुनाकाप्चामा पुग्थे। जनतासँग भलाकुसारी गर्थे। जनताको काम गरिदिन्थे। जे पाकेको छ, त्यही खान्थे। उनलाई माओवादीको यही कुराले धेरै प्रभावित पार्‍यो। आफ्नो पढाइ भन्दा पनि देशको व्यवस्था फेर्नुपर्छ भनेर उनी स्कुल त्यागेर हिँडेकी थिइन्। 

देशकै प्रमुख प्रशासकीय केन्द्र काठमाडौंको सिंहदरबार नजिकै भेटिएकी नीराले आफ्ना अनुभव सुनाउँदै भनिन्– ‘त्यतिबेला धेरै कुरा थाहा त थिएन तैपनि जे गर्दै छु, ठीक गर्दै छु भन्ने लागेको थियो। त्यसैले घरमा आमा र साना भाइहरू छाडेर हिँड्दा पनि दुःख लागिरहेको थिएन।’ 

युद्ध निकै चर्किएको थियो। कतिबेला कहाँ कसलाइ के हुने हो भन्नेबारे अनिश्चित थियो। कतिबेला उनकै भाषामा ‘दुश्मन’ (तात्कालीन शाही नेपाली सेना र नेपाल प्रहरी) सँगको लडाइँमा मरिने हो भन्ने थाहा थिएन। ‘तैपनि देश र जनताको लागि मर्दै छु भन्ने भावनाले आफूलाई बलियो बनाइरहन्थेँ’, नीरा विगत सम्झिन्छन्।

केही पटक प्रत्यक्ष लडाइँमा पनि परिन् नीरा। इलाममै भएको थियो, त्यो एउटा लडाइँ, जतिबेला कानैनेरबाट गोली सुइँसुइँ गर्दै जाँदा गोली लागि पो हाल्यो कि भन्ने हुन्थ्यो। ‘तर युद्धमा शहीद भइएन। बाँचेर आफ्नै जीवनको लागि संघर्ष गर्नु जो रहेछ’, लामो सास तान्दै नीराले भनिन्। 

अयोग्य हुँदाको दुखेसो

उमेरले २७ हिँउद र वसन्त पार गरेकी नीरा पार्टीले गरेको युद्धविराम सँगसँगै क्यान्टोनमेन्टको बसाइमा पुगिन्। जनताको सेना भनेर बसेको हुनाले होला उनी जीवनभर त्यस्तै रहेर जनताको मान्छे भएरै बस्न चाहन्थिन्। उनलाई न स्वेच्छिक  अवकाशमा जाने चाहना थियो, न त समायोजनमै जाने रहर थियो। रहर थियो त सदासदा देश र समाजको परिवर्तनकारी अभियन्ता बन्ने। वर्षौंदेखि अन्धविश्वास र असमानताको वकालत गर्नेहरूको विरुद्धमा उनी उज्यालो दियो बाल्न चाहन्थिन्। 

तर भइदियो उल्टो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने भन्दै युरोपियन यु्नियन सेना समायोजनको जिम्मेवारी लिएर क्यान्टोनमेन्टमा पुगेपछि उनको सोचाइमा ब्रेक लाग्यो। नीरा जस्तै चार हजार आठ जना ‘अयोग्य’को बिल्ला भिरेर रित्तो हात क्यान्टोनमेन्टबाट बाहिरिन बाध्य पारिए। 

उनलाई सम्झना छ, सेना समायोजनको पहिलो प्रक्रियालाई सहयोग गर्नको लागि पार्टीले उनीहरूलाई अनुरोध गरेको थियो। पार्टीले नै अनुरोध गरेपछि नीरा जस्ता  अयोग्य बनाइएकाहरूले त्यतिबेला प्रतिवाद गर्न पनि सकेनन्। 

नीराहरूले एक्कासि क्यान्टोनमेन्ट छाड्नुपर्‍यो। जिन्दगीका सपनाहरू एकाएक ध्वस्त भएका थिए। त्यहीँ पीडा सहन नसकेर कत्ति साथीहरूले आत्महत्या गरे। 
बाहिर पनि पार्टी संगठन थियो। त्यहाँ गएर फेरि संगठनमा जोडिनेछु। जनताको लागि केही गर्नेछु भन्ने सोचेर उनले चित्त बुझाइन्।

गाउँमा सुरु भयो अर्को लडाइँ

अहिले फर्किएर हेर्दा हिजोको जस्तो उत्साह, उमंग केही छैन उनीभित्र। भन्छिन्, ‘जनताको सेना हुँ भन्दा जुन गर्व लाग्थ्यो, त्यो अहिले लाग्दैन।’ त्यही गर्वको कुरा उनका लागि अहिले ग्लानीमा फेरिएको छ। 

नेताहरू छताछुल्ल भए। पार्टी टुक्राटुक्रा भयो। नेताहरू शहरमुखी भए। शहीद र बेपत्ताका परिवार तथा हिजो पार्टीमा योगदान गरेका, दुःख गरेका कार्यकर्तालाई नेताहरूले फर्केर पनि नहेरेको देख्दा अत्यन्तै दुःख लाग्ने उनले सुनाइन्। 

क्यान्टोनमेन्ट अर्थात् लडाकु शिविरमा बसेका जनमुक्ति सेना एकथरि नेपाली सेनामा समायोजन भएर राष्ट्रिय सेना बन्न पुगे, अर्काथरि लाखौं रुपैयाँ लिएर स्वेच्छिक अवकाशमा ससम्मान घर फर्किए। तेस्रोथरि जीवनभरको लागि ‘अयोग्य’को बिल्ला बोकेर रित्तो हात घर फर्किए। 

सेना समायोजनको लागि आफूहरूले बलिदानी दिनुपरेको नीराको ठम्याइ छ। उनी भन्छिन्, ‘अब हामी कुनै पार्टीविशेषका मात्र रहेनौँ। यो सिंगो राष्ट्रको सरोकारको विषय हो। त्यसैले सरकार नै यसमा गम्भीरतापूर्वक लाग्न जरुरी छ।’ 

एउटै थालमा खाएका, एउटै लडाइँमा लडेका साथी ससम्मान घर फर्किँदा आफू रित्तो हात फर्किनुप¥यो। ‘समाजमा पनि यो त अयोग्य भएर आएको हो, यसले त केही गर्न जान्दिनँ, सक्दिनँ भनेर हेप्ने गरिएको छ’, उनी भन्छिन्। केही कुरामा आफ्नो धारण राख्दा पनि गाउँघरका मानिसले आफूहरूलाई विभिन्न आरोप र लाञ्छना लगाउने गरेको उनको अनुभव छ। 

कति जनासँग प्रतिवाद गर्नु? कतिपय आफन्तलाई त आफू अयोग्य भएर फर्किएको हो भनेर थाहा पनि दिएकी छैनन् उनले। उनी भन्छिन्, ‘केके सुनाउलान् भन्ने डर अनि तिनलाई आफूले के स्पष्टीकरण दिनु?’ 

केपी ओली प्रधानमन्त्री हुने बेलामा दुई लाख रुपैयाँ हरेक अयोग्य भनिएका लडाकुलाई दिने भनेर बजेटमा बोलेका थिए। अहिले त्यो पनि अदालतले नदिनू भनेर रोकिराखेको छ। अयोग्यको बिल्ला त छँदै छ। ‘कतिञ्जेल यसरी अन्यायको भागिदार भएर बसिरहनुपर्ने हो?’, उनी प्रतिप्रश्न गर्छिन्। 

कसले बुझिदिने यस्तो अप्ठेरो?

यो सबैको जिम्मेवारी सरकारले लिनुपर्ने उनको तर्क छ। घरमा बूढी हजुरआमा र आमालाई हेर्नुपर्ने जिम्मा उनैको काँधमा छ। न आर्थिक उपार्जनको केही बाटो छ, न त समाजमा सम्मान छ, न पार्टीमा नै कुनै गतिलो स्थान छ। बाँकी जीवन कसरी बिताउने भन्ने प्रश्नका चाङ छन् उनका अगाडि। 

पार्टीका नेता र पार्टी कार्यालयको दैलो चहार्न थालेको नि धेरै भइसक्यो। इलामबाट काठमाडौं र काठमाडौंबाट इलाम गर्नको लागि आफन्तसँग पैसा सरसापट मागेर हिँड्नुपर्ने अवस्थाकी नीरालाई काठमाडौंको महँगो बसाइ सहज छैन। उता  अदालतले उनीहरूसँग सम्बद्ध मुद्धामा कुनै  फैसला सुनाउन सकेको छैन। यस्तो बेलामा उनको अप्ठेरो कसले बुझिदिने? ‘अब त हरेस खाने बेला भइसक्यो’, नीरा भन्छिन्, ‘यो पनि छैन, त्यो पनि छैन, कसरी बाँच्ने?’ 

सरकारले दिने भनेको दुई लाख रूपैयाँले सधैँको लागि पुग्ने त होइन तर त्यसले केही जग बसाल्न सजिलो हुने थियो। गाँउमै सानोतिनो इलम धन्दा गरेर बस्न सजिलो हुन्थ्यो भन्ने उनलाई लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.