माधव नेपाल समूहसँग इमानदार डिलको खाँचो

|

काठमाडाैं : केपी शर्मा ओलीले शुक्रबार तेस्रो पटक प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।

संसदमा विश्वासको मत लिन नसके प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीले तीन वटा इतिहास रचे। एउटा, उनी सबैभन्दा लामो कार्यकाल चलाउने कम्युनिस्ट प्रधानमन्त्री बने, अर्को सबैभन्दा धेरै पटक बन्ने कम्युनिस्ट प्रधानमन्त्री।

योसँगै ओलीले लगातार दुई पटक कम्युनिस्ट प्रधानमन्त्री बन्नेसमेत इतिहास बनाए। उनीभन्दा पहिले न कुनै कम्युनिस्ट नेता तेस्रो पटक प्रधानमन्त्री बनेको इतिहास छ भने न कुनै नेताले दुई वर्ष बढी कार्यकाल चलाएको इतिहास नै।

न त ओलीको जस्तो अरु कुनै नेता लगातार दुई पटक प्रधानमन्त्री बनेका छन्। तीन वटा इतिहास रचेर फेरि मुलुकको प्रधानमन्त्री बनेका ओलीका सामु अबको मुख्य चुनौती छ। 

पार्टी एकता र त्यसभित्रको लोकतान्त्रिक पद्धति जोगाउनु नै प्रधानमन्त्रीका लागि हितकर हुने देखिन्छ। राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाई र कृृष्ण पोखरेलसँग यसै विषयमा संक्षिप्त कुराकानीका आधारमा तयार यो सामग्री।

संसदलाई जिवन्त राख्नु पर्छः डा. खगेन्द प्रसाई

राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईंले पार्टी एकता र त्यसभित्रको लोकतान्त्रिक पद्धति जोगाउनु नै प्रधानमन्त्रीका लागि हितकर हुने टिप्पणी गरे। प्रधानमन्त्री ओलीले अब राजनीतिक स्थायित्व प्राप्त गर्ने हिसाबले संसद्, र पार्टी भित्रको लोकतन्त्रलाई सक्रिय राखे परिस्थिति थप सहज हुने बताए।

‘कम्तीमा संसद भन्ने कुरा जीवन्त लोकतन्त्र छ है! षड्यन्त्र, छलकपट, यो कुरा, त्यो कुरा, यताको गणित, उताको गणित, मान्छे यता तान्ने, उता तान्ने, प्रक्रियामै राजनीति सीमित छैन भन्ने कुरा संस्थागत रूपले स्थापित गर्दै जाने कुरा मुख्य हो।’

प्रसाईंले भने, ‘त्यो भयो भने पछि बचेको समयमा देशको सिंगो शक्ति, राजनीतिक, सरकारी, विपक्षी, र स्थानीयदेखि प्रदेशको शक्ति सबै कोरोना महामारीविरुद्ध प्रयोग गर्न सकिन्छ।’

यदि यति हु्न नसके सरकारका प्राथमिकता चाहेर वा नचाहेर पनि बिग्रेर जाने उनको बुझाइ छ। प्रसाईंले स्थिर सरकारका लागि पार्टीको समर्थन चाहिँदो रहेछ भन्ने कुरा अहिले प्रधानमन्त्रीसामु छर्लंङ्गै भएको बताए। 

त्यसकारण राजनीतिको व्यवस्थापन हुनुपर्ने र पार्टीको कन्फिडेन्स बनाइराख्ने कुरालाई निश्चित गर्नु नै पहिलो प्राथमिकता हुने उनले बताए। उनी थप्छन्, ‘अहिले पनि लोकतान्त्रिक विधि, संविधानका मूल्य, नैतिक मान्यताबाट खेल्दा प्रधानमन्त्रीलाई बहुमत जुटाउन त्यति सजिलो छैन। अहिलेकै अवस्थामा एमाले एकीकृत भए पनि बहुमत नपुग्ने र प्रधानमन्त्रीलाई सहज देखिँदैन।’

माधव समूहसँग इमानदार डिल : कृष्ण पोखरेल 

अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरेल हाललाई प्रधानमन्त्रीको पहिलो चुनौती संसदबाट विश्वासको मत लिन सक्नु बताउँछन्। त्यसपछि कोभिडसँग लड्नु र त्यसले निम्त्याएका चुनौतीलाई फेस गर्नु ठूलो चुनौती रहेको उनको बुझाइ छ।

थाहाखबरसँग कुरा गर्दै विश्लेषक पोखरेलले प्रधानमन्त्रीका अगाडि मुख्य चुनौती पार्टीको माधवकुमार नेपाल समूह रहेको बताए। ‘अहिले हेर्दा के देखिन्छ भने ओलीले महन्थ ठाकुरलाई त मधुजालमा पारिसक्नुभएको छ। त्यो समर्थन त पाउनुहुन्छ,’ उनले भने, ‘तर अब समस्या कहाँ छभन्दा माधव नेपालसँग कति इमानदारपूर्वक डिल गर्नुहुन्छ। त्यसले देखाउला।’

प्रधानमन्त्री ओलीले विस्तार गरेको मन्त्रिमण्डलमा नेपाल समूहलाई पनि समावेश गरेको भए त्यसले राम्रो संकेत गर्न सक्ने पोखरेलले उल्लेख गरे। भने, ‘अहिले नयाँ मन्त्री मण्डल विस्तार गर्दा, अर्को पक्षका मान्छे पनि समावेश गरेको भए त्यसले एउटा सन्देश दिने थियो। उनले त आफूलाई पहिले जसले साथ दिए, उनैलाई दोहोर्‍याए। पुरानो जस्ताको त्यस्तै ल्याए।’

उनले नेपाल पक्षको लचकतालाई सामान्य ठान्न नहुनेमा जोड दिए। अब माधव समूहलाई फसाइहाले भन्ने ठानेर पुरानै तौर/तरिकामा गए ओलीका सामु सरकार टिकाउने चुनौती नै रहने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.