|

जुम्ला : जुम्लामा स्वास्थ्य सेवा बाहेक सबै क्षेत्र पूर्णरुपमा बन्द गरिएको छ। जेठ १ गते दिउसो १२ बजेदेखि ११ गते सम्म लागू हुनेगरी जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको हो।

कोरोना संक्रमण दर दैनिक बढ्दै गएकोले शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ १ गते दिउँसो १२ बजेदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

उनले विगतको भन्दा कडा रुपमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए। अबको १० दिन सम्म जुम्लामा अस्पताल र मेडिकल बाहेक सबै क्षेत्र पूर्णरुपमा बन्द गरिने भएको छ।

यस अघि बिहान ६ बजेदेखि ९ बजे सम्म ३ घण्टा खाद्यन्न पसल, डेरी संचालन गर्दा लापरबाही गर्दा संक्रमण दर बढ्न थालेपछि स्वास्थ्य क्षेत्र बाहेक सबै बन्द हुनेगरी निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

मेडिकल बाहेक बैंक तथा वित्तिय क्षेत्र, खाद्य किराना पसल, डेरी १० दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ। त्यस्तै अन्तर जिल्ला आगमनदेखि एक गाउँदेखि अर्को गाउँ प्रबेश गर्न  समेत रोक लगाइने र सवारी संचालनमा समेत कडाई गरिने प्रजिअ थापाको भनाई छ।

निषेधाज्ञा लागू सँगै कोभिड रोकथाम तथा नियन्त्रणका लागि ९ वटा महत्वपूर्ण निर्णय गरिएको छ। जसमा जुम्लाका आठ वटै स्थानीय तहले ५० बेडको आइसोलेसन तथा ५ बेडको कोभिड अस्पताल संचालनमा ल्याउने निर्णय गरेका छन्।

स्थानीय तहमा विज्ञ चिकित्सक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठाउने  भएको छ। कर्णाली स्वास्थ्य विज्ञान र जनस्वास्थ्य सेवा कार्यालयले समन्वय गरी सबै स्थानीय तहमा पिसिआर तथा एन्टिजेन परीक्षणको दायरा बढाउने छन्।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न चाहिने आवश्यक विद्युत आपूर्ति विद्युत प्राधिकरणले गराउने निर्णय भएको छ।

जुम्लामा निषेधाज्ञा अवधिभर संचालन हुने निजी तथा सरकारी सवारीले अनिवार्य रुपमा प्रशासनबाट पास लिएर मात्रै संचालन गर्नुपर्ने, कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रशासनबाट प्रस्तुत कार्ययोजना प्रभावकारी कार्यान्वयनमा स्थानीय तहले जिम्मेवार हुनुपर्ने निर्णय गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.