|

पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ पेलाबासका २२ वर्षीय शिव विश्वकर्मासँग सुनचाँदीका गरगहना बनाउने राम्रो दख्खल छ।

बझाङको सदरमुकाम चैनपुरमा विगत ५ वर्षदेखि उनले यही काम गर्दै आएका थिए। सुनका आधुनिक गरगहना बनाउँदै आएका उनले मासिक सरदर ५० हजार रुपैयाँ कमाउँछन्।

पछिल्लो समयमा दोस्रो लहरका रूपमा फैलिएको कोभिड–१९ का कारणले निषेधाज्ञा जारी भयो। उनले गर्दै आएको काम पनि रोकियो। त्यहाँ एक्लै बसेका उनी परिवारको साथ खोज्दै घर फर्किए। 

घर फर्किएपछि शिव काममा नै व्यस्त छन्। बारीमा मकै छर्ने सिजन छ। उनी अहिले पाखो बारीमा जोत्ने काम गरिरहेका छन्। घरमा पालिएका एक हल गोरुले जोतेर मकै छर्ने काम गरिरहेका छन्। शिवका भाइ कृष्णले मकै छरेका छन्।

कृष्ण रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीस्थित प्रभात माध्यमिक विद्यालयमा जेटीए अध्ययनरत छन्। उनको पढाइ पनि बन्द भएको छ।

रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका नेत्र बुढाथोकी पनि स्थानीय भैरव नवदीप माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्छन्। विद्यालयको पढाइ बन्द भएपछि उनी पनि यतिबेला बारीमा काम गरिरहेका छन्।

उनी पनि बारीमा जोतिरहेका भेटिए। उनकी एउटी बहिनीले मकैको बीउ छरिरहेकी थिइन्। आमा र अन्य साना भाइ बहिनीले डल्ला फोरिरहेका थिए। पढाइ नभएका बेला बुवा आमालाई सहयोग गरेको उनले बताए। बारी जोत्न बोलाए कम्तिमा एक हजार रुपैयाँ ज्याला दिनुपर्छ। त्यही खर्च बचाउन आफैँले जोतेको नेत्रले सुनाए। 

छोराछोरी विद्यालय गएर पढ्न पाएका छैनन्। घरमा बस्न बाध्य छोराछोरीले सहयोग गर्दा ६५ वर्षीया मानकुमारी बुढाथोकी खुशी छन्। ‘ठूलो परिवार छ, दुईछाक खानसमेत हम्मेहम्मे पर्छ,’ उनले भनिन्, ‘साना साना छोराछोरीले यसरी सहयोग गर्दा राहत मिलेको छ।’ मेहनत गरेर छरेको मकै बाँदरले खाएर सताउने मानकुमारीले बताइन्। बाँदर नियन्त्रण गर्न सरकारले सघाउनुपर्ने उनको भनाइ छ।

पाल्पामा पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न जेठ ४ गतेसम्म निषेधाज्ञा जारी छ। कडाइका साथ पालना गरिएको छ। तर, गाउँघरमा परिवार वा छिमेकी मिलेर यतिबेला बारीमा मकै छरिरहेका छन्। गएका वर्षहरूमा बाँझो छाडिएका जमिन अहिले धमाधम जोतिरहेका छन्।

शहर पसेका प्रायः युवा गाउँघर फर्किएका छन्। उनीहरूले दिन बिताउन पनि बाँझिएका जमिन खन्ने र जोत्ने गरिरहेका छन्।

आफूहरू सचेत भएर मकै छरेको रैनादेवी छहरा गाउँपालिका–३ अर्धाइँका भूपालसिंह खाम्चाले बताए। ‘बारी बाँझो राखेर भएन, मकै छर्ने सिजन हो। छिमेकी वल्तिर-पल्तिरका मिलेर काम गरिरहेका छौं,’ उनले भने, ‘बाहिरबाट आएका मानिससँग भने नजिक हुँदैनौँ।'

आवश्यक स्वास्थ्य मापदण्डको पालना गरी काम गरेको उनले बताए। पूर्व वडासचिव समेत रहेका खाम्चाले पछिल्लो समयमा यहाँका युवाले खेती गर्न थालेको बताए। सरकारले युवालाई कृषिमा टिकाइ रहन विशेष बजेट तथा कार्यक्रम ल्याउनुपर्ने उनले सुझाए। 

यस क्षेत्रमा बैशाखको पहिलो सातातिरै मकै छर्ने गरिन्छ। तर, यसपटक समयमै पानी नपरेकाले झण्डै एक महिना ढिला भएको हो।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.